काठमाडौं । फेसबुकको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले वेबसाइट र एपबाट उक्त प्लेटफर्ममा पहुँच पाइरहनु भएको हुनसक्छ । मोबाइल वा कम्प्युटरमा फेसबुकको छुट्टै एप इन्स्टल गरेर वा वेबमा फेसबुक डटकम ब्राउज गरेर यो सोसल साइट चलाउन सकिन्छ ।
एपका सन्दर्भमा मोबाइलका लागि फेसबुकका दुई ओटा एप छन्, एउटा फेसबुक र अर्को फेसबुक लाइट । फेसबुक लाइटमा बढी फिचर हुन्छन् भने लाइटमा कम फिचर हुन्छन् । कम स्टोरेज हुने इन्ट्री लेभलका मोबाइल डिभाइसका लागि लाइट एप डिजाइन गरिएको हो ।
अब चर्चा गरौं फेसबुकमा च्याट फिचरको । तपाईं फेसबुक लाइट प्रयोगकर्ता हो भने एपमा देखिने मेसेजको आइकनबाटै च्याटमा पहुँच पाउन सक्नुहुन्छ । यसअघि लाइटका लागि छुट्टै मेसेन्जर लाइट एप उपलब्ध गराइएको थियो । तर, पछि फेसबुकको मातृ कम्पनी मेटाले उक्त एपलाई हटाइदियो । अहिले लाइट एपबाट भिडिओ र अडियो कल गर्न सकिंदैन । बाँकी मेसेज र कम क्वालिटीका फोटो पठाउन लाइटमा भएको च्याट फिचर प्रयोग गर्न सकिन्छ ।
फोटो अपलोड गर्दा क्वालिटी घट्ने, फोटो सेभ गर्दा पनि कम क्वालिटीको डाउनलोड हुने र फिचरहरू सबै उपलब्ध नहुने भएकाले तपाईंले फेसबुकको मुख्य एप नै प्रयोग गरिरहनु भएको हुन सक्छ । यसमा च्याटका लागि छुट्टै मेसेन्जर एप इन्स्टल गर्नुपर्ने हुन्छ ।
हुन त फेसबुक सार्वजनिक रूपमा उपलब्ध भएको तीन वर्षपछि अर्थात् सन् २००८ मा फेसबुक च्याटको सुरुवात भएको थियो । त्यतिबेला फेसबुकको वेबसाइटबाट मात्र च्याट गर्न सकिन्थ्यो ।
अहिलेको जस्तो भिडिओ र अडिओ कलको सुविधा त्यतिबेला थिएन । फेसबुकमा साथी भएका व्यक्तिलाई टेक्स्ट मात्र पठाउन सकिने सुविधा थियो ।
पछि सन् २०११ मा फेसबुकले मेसेन्जर वेबसाइट र एपका रूपमा सार्वजनिक गर्यो । मेसेन्जर एपका रूपमा आइसके पनि यसलाई फेसबुक च्याटकै एउटा स्तरीय भर्सनका रूपमा प्रयोग गर्न सकिन्थ्यो । बढी फिचर आवश्यक भएको खण्डमा भने छुट्टै एप इन्स्टल गर्नुपर्ने हुन्थ्यो ।
सन् २०१४ तिर फेसबुकले अनिवार्य रूपमा एप इन्स्टल गर्नुपर्ने घोषणा गर्यो । कम्पनीले प्रयोगकर्ताको मेसेजिङ अनुभवलाई सुधार गर्नका लागि यस्तो रणनीति अपनाएको थियो ।
सन् २०१५ तिर मेसेन्जर एपमा बट प्रयोग गर्न सकिने फिचरको घोषणा गर्यो । डेभलपरले अप्रिल २०१६ मा आफ्नै बट प्रयोग गरेर एपमा इन्टिग्रेट गर्न सक्ने भए । त्यही समयमा फेसबुकले मेसेन्जरमा विज्ञापनदेखि अन्य फिचरहरू पनि सुरु गरेको थियो ।
सन् २०१७ तिर मेसेन्जरको नयाँ यूआई सार्वजनिक गरियो । त्यही समयमा फेसबुकले ‘मेसेन्जर डे’ फिचर ल्याएको थियो । सन् २०१८ तिर मेसेन्जर प्रयोगकर्ताले इन्स्टाग्रामका प्रयोगकर्तासँग पनि च्याट गर्न सकिने फिचर ल्याइयो । फेसबुक मेटामा रिब्रान्ड भइसकेपछि कम्पनीले यस्तो फिचर ल्याएको थियो ।
सन् २०२० तिर मेटाले मेसेन्जर र इन्स्टाग्राम डाइरेक्टलाई एकीकृत गर्ने घोषणा गर्यो । अर्थात् फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राम प्रयोगकर्तालाई मेसेन्जरबाटै च्याट गर्न सक्ने फिचर ल्याइयो । २०२४ को सुरुवातमा मेटाले इन्स्टाग्राम च्याट मेसेन्जरमा नदेखिने बनायो । अर्थात् इन्स्टाग्रामलाई मेसेन्जरबाट डिसइन्टिग्रेट गरियो ।
फेसबुकले च्याटका लागि मेसेन्जर अनिवार्य प्रयोग गर्नुपर्ने बनाए पनि बीचमा फेसबुक च्याट (Chat on Facebook) लाई निरन्तरता दिइएको थियो । त्यस्तोमा मेसेन्जर इन्स्टल नगरेका प्रयोगकर्ताले भने फेसबुक च्याटमा पाँच ओटा अकाउन्टको मेसेज देख्न सक्थे । बाँकी च्याटलिस्ट हेर्न एप नै इन्स्टल गर्नुपर्थ्यो ।
पछिल्लो समय भने फेसबुकले ‘च्याट अन फेसबुक’लाई नै बढी प्राथमिकता दिन थालेको छ । अहिले एन्ड्रोइड र आईओएसमा छुट्टै मेसेन्जर एप इन्स्टल गरिरहन पर्दैन । फेसबुक च्याटबाटै प्रायः सबै फिचर प्रयोग गर्न सकिन्छ ।
यो फिचर प्रयोग गर्न फेसबुकको मोबाइल एपमा माथि दायाँतर्फ रहेको मेसेन्जर आइकनमा जानुहोस् । त्यसपछि ‘च्याट अन फेसबुक’ फिचरमा गई टेक्स्ट, अडिओ तथा भिडिओ च्याट गर्न सकिन्छ ।
च्याट हेड सहित लोकेसन शेयरिङ, स्टिकर, गिफ लगायत अन्य केही प्रमुख फिचर भने ‘च्याट अन फेसबुक’ फिचरमा छैनन् । त्यसबाहेक भिडिओ कल, अडियो कल, फाइल शेयरिङका फिचरहरू यसमा पाउन सकिन्छ ।
छुट्टै एप इन्स्टल गर्ने स्टोरेज छैन वा तपाईंलाई स्टोरेज आवश्यकता परेको छ भने मेसेन्जर अनइन्स्टल गरी ‘च्याट अन फेसबुक’कै फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईं दुई वा सोभन्दा बढी फेसबुक प्रोफाइल वा पेज प्रयोग गर्नुहुन्छ भने पनि तपाईंका लागि यो एप उपयुक्त हुन्छ । पहिलेको जस्तो पेजको मेसेज मेसेन्जर वा बिजनेस साइटबाटै हेर्नुपर्छ भन्ने बाध्यता छैन । एउटै अकाउन्टबाट चार ओटासम्म प्रोफाइल बनाउन सकिने सुविधा फेसबुकले ल्याएको छ । त्यस्ता अकाउन्टका लागि पनि 'च्याट अन फेसबुक' फिचर उपयुक्त हुन सक्छ ।