काठमाडौं । पोखराका १८ वर्षीय कृतिन लामिछाने यस पटकको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई, त्रिभुवन विश्वविद्यालय)को प्रवेश परीक्षामा सर्वोत्कृष्ट अर्थात् टपर भए । शनिवार सार्वजनिक भएको परीक्षाफलमा उनले यो सफलता हात पारेका हुन् ।
टपर हुँदा पनि उनलाई आफूले भयङ्कर गरे जस्तो महसुस भएको छैन । मेहनतको प्रतिफल पाउँदा खुसी हुने पाटो त छँदै छ, तर भविष्यबारे थप सचेत भएको उनले बताएका छन् ।
लामिछानेको घर माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मालेपाटनमा छ । त्यतैबाट उनले विद्यालय तह सकेका हुन् । उनले नसर्रीदेखि ३ कक्षासम्म आदर्श फूलबारी, ४ देखि १० कक्षासम्म गण्डकी बोर्डिङ स्कुलमा पढे ।
उनी आफ्नो पढाइको ‘टर्निङ पोइन्ट’ ८ कक्षालाई मान्छन् । त्यसपछि विद्यार्थीको रूपमा उनको पढाइको ग्राफ उकालो लागेको थियो । ठीक त्यही समयतिर कोभिड महामारीका कारण देशभर लकडाउन भएको थियो । त्यसबेला उनको रुचि गणित र विज्ञानतर्फ मोडियो ।
भविष्यमा इन्जिनियर बन्छु भनेर पनि उनले त्यहीबेला सोचेका थिए । घरको पुरानो मोबाइल, रिमोट, हिटर जस्ता विद्युतीय सामग्री खोतलखातल गर्ने बानीले पनि उनलाई इन्जिनियरिङ पढ्न प्रेरित गरेको थियो ।
सोही अनुसार ९ कक्षापछि उनले पढाइमा थप मेहेनत गर्न थाले । गणित र विज्ञानतिरको रुचिले गर्दा पढाइ पनि राम्रो भइरहेको थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि उनले काठमाडौं आउने मन गरेनन् ।
पोखराकै कलेजहरूमा पढ्ने मन गरेर नाम चलेका केही कलेजहरूमा प्रवेश परीक्षा दिए । सबैमा नाम निस्के पनि उनले एसएस गण्डकी कलेज रोजे । त्यहाँ पनि उनको पढाइको रफ्तार कम भएन । तर अङ्ग्रेजी र नेपाली विषयमा उनी तुलनात्मक रूपमा कमजोर थिए । त्यसको ठीक उल्टो भौतिक विज्ञान, गणित र रसायन विज्ञानमा भने अब्बल । ११/१२ कक्षा उनले राम्रैसँग कटाए ।
उनको ११ कक्षामा ३.९५ र १२ कक्षामा ३.७८ जीपीए आएको थियो । १२ कक्षा उत्तीर्णपछि उनी काठमाडौं आए । कहाँ र कुन इस्टिच्युटबाट इन्जिनियरिङको प्रवेश परीक्षा तयारी गर्ने भनेर उनले पहिल्यै निर्णय लिइसकेका थिए । यसैले पीईएबाट उनले तयारी गर्न थाले ।
पोखरामा १२ कक्षामा पढ्दै गर्दा पीईएका प्रशिक्षकहरू उनी पढिरहेकै कलेज गएका थिए । त्यहाँ आफूले पीईएबारे थाहा पाएका थिए । त्यसमाथि उनकी दिदी पूर्णिमा लामिछानेले पनि पीईएबारे जानकार थिइन् ।
प्रवेश परीक्षामा राम्रो गर्न भनेर उनी पहिलो पटक होस्टल बसे । परीक्षा गत १६ देखि २२ भदौसम्म चलेको थियो । आईओईले पोखरा र काठमाडौंं गरी दुई ठाउँमा परीक्षा गराएको थियो । उनले परीक्षाकेन्द्र काठमाडौं छानेका थिए ।
उनको घरमा बुबाआमा (ढाकाराम/जयन्ती लामिछाने) र दिदी पूर्णिमा छन् । बुबा म्याक्स टिभीमा प्राविधिकको काम गर्छन् । आमा गृहिणी । घर चलाउने जिम्मा बुबाको । दिदी र उनी विद्यार्थी ।
दिदीले पहिल्यै पढेको किताब आफूले पढ्ने भएकाले अभाव महुसस नभएको उनी सुनाउँछन् । दिदी उनीभन्दा तीन वर्ष जेठी छिन् । “किताब फेरिएछ भने मात्र बुबाले मलाई नयाँ किनिदिनुहुन्थ्यो,” उनी भन्छन्, “नत्र त दिदीको पुरानो किताब नै पढ्थेँ । नयाँ किताब पढ्न मन लाग्थ्यो । तर दिदीले किताबमा लेखेकी हुन्थी । त्यसले मलाई पढ्न झनै सजिलो बनाउँथ्यो,”
बुबाले पढाइमा सजिलो होस् भनेर दिदीलाई किनिदिएको ल्यापटप समेत उनले नै पाए । ११ कक्षापछि त्यो ल्यापटप उनको भएको छ । त्यसबाट उनले कोडिङ सिक्ने गर्थे । तर अलि पुरानो भएकाले काम गर्न गाह्रो हुने उनी सुनाउँछन् । यद्यपि प्रवेश परीक्षामा प्रथम भएकाले पीईएले नयाँ ल्यापटप उपहार दिने भएको छ । नयाँ ल्यापटपलाई स्नातक तह पढ्दा प्रयोग गर्ने उनको योजना छ ।
दिदीको शैक्षिक सामग्री प्रयोग गर्ने यस्तो क्रम उनको जीवनमा १२ कक्षासम्ममा नै चलिरह्यो । पढ्न आवश्यक पर्ने अन्य खर्चहरू बुबाले दिने गर्थे । अहिले पनि दिइरहेका छन् । तर अब्बल भएकाले पढाइको नाममा धेरै खर्च लागेन । ११/१२ कक्षा उनले पूर्ण छात्रवृत्तिमा पढेका थिए । पोखरा महानगरपालिकाले उनलाई उक्त छात्रवृत्ति प्रदान गरेको थियो ।
उनकी दिदीले पनि ११/१२ मा विज्ञान विषय लिएर पढेकी थिइन् । दिदीले उनलाई पढ्न निरन्तर हौसला दिइरहन्छिन् । अहिले उनकी दिदी काठमाडौंमै नर्सिङ गर्दै छिन् ।
पोखरामा उनीहरूको स्कुल/कलेज अलि टाढा थियो । बिहान ९ बजे गएर सिधै साँझ ५ बजे फर्कनुपर्ने । त्यसले गर्दा उनले कहिल्यै ट्युसन लिएनन् । बरु ११/१२ कक्षा पढ्दै गर्दा युट्युबमा सम्बन्धित विषयको भिडिओ हेर्थे । त्यसले विशेष सहयोग गरेको उनको अनुभव छ ।
आफूभन्दा तल्लो तहका विद्यार्थीहरूलाई उनी त्यसरी पनि पढ्न सुझाउँछन् । कक्षामा नबुझेका कुराहरू बुझ्न ठूलो सहयोग हुने उनको अनुभव छ । तर कक्षामा शिक्षकले पढाए जस्तो भने नहुने पनि उनी स्पष्ट पार्छन् ।
त्यस्तै अहिलेको समयमा घोक्नेभन्दा पनि अलि सिर्जनात्मक हुन आवश्यक भएको उनी सुनाउँछन् । त्यसैगरी आईओईकै प्रवेश परीक्षा तयारी गर्ने हो भने ११/१२ कक्षामा पढाइ हुने कुराहरूको सैद्धान्तिक पक्ष सबै बुझ्न उनी सुझाव दिन्छन् ।
“कतिपय घोक्नैपर्ने हुन्छ । तर ती बाहेक यो किन भयो ? कसरी भयो ? यसको प्राक्टिकल एप्लिकेसन के हो ? कहाँ प्रयोग हुन्छ ? हामीले यो किन पढेको ? भन्ने जस्ता कुराहरू बुझेर पढ्दा भने राम्रो नतिजा निकाल्छ सकिन्छ,” उनी भन्छन्, “त्यस्तै आज १८ घण्टा पढ्ने, भोलि नपढ्ने गर्नुहुन्न । दैनिक रूपमा निरन्तर पढिरहनु पर्छ.”
आईओई इन्ट्रान्स टपर भएको दिन
आईओईको नतिजा भदौ २२ या २३ मा सार्वजनिक हुने भनिएको थियो । उनले फेसबुकतिर पनि नतिजा आउँछ रे भनेर देखिरहेका थिए । आफैं पनि आईओईको वेबसाइट हेरिरहेका थिए । तर २२ भदौ (हिजो )साँझ अबेरसम्म पनि नजिता प्रकाशन हुने कुनै सङ्केत देखिएन । उनले राति १० बजेसम्म कुरे । तर त्यसबेलासम्म पनि नजिता नआएपछि सुत्न लागे ।
सुतिरहेको बेला उनले फोन आएको चाल पाए । त्यो फोन पीईए प्रशिक्षकले गरेका थिए । त्यही फोन कलबाट उनले थाहा पाए कि उनी आईओई टपर भएछन् । त्यसपछि अघिसम्मको निद्रा गायब भएको उनी सम्झन्छन् । त्यसबेला रातको १ बज्दै थियो ।
तर पनि उनी बसेकै ठाउँमा पीईए प्रशिक्षकहरू आए । राति नै पीईए कार्यालयमा बधाईको कार्यक्रम भयो । त्यसपछि रातको ३ बजेतिर उनी कोठा फर्के । राति भएकाले त्यसबेलासम्म आफू प्रथम भएको खबर उनले घरमा सुनाएका थिएनन् । त्यो खुसी आफूमा थामिराख्न पनि सकेनन् ।
अनि बिहान ३ बजेतिर नै आमालाई फोन गरे । आमाले निद्रामा नै बधाई दिइन् । त्यसपछि बुबा, दिदी, साथीभाइहरूले बिहान मात्र बधाई र सल्लाह सुझाव दिए ।
उनी अब पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने भएका छन् । उत्कृष्ट अङ्क ल्याउने धेरैजना सोही क्याम्पसमा भर्ना हुने र नेटवर्किङ पनि राम्रो हुने पुल्चोक नै उनको रोजाइमा परेको छ । पुल्चोकबाटै कम्प्युटर इन्जिनियरिङ पढ्ने र पछि अनुसन्धानको क्षेत्रमा काम गर्ने उनको योजना छ ।