close

ग्राफिक्स डिजाइनिङका यी सेलिब्रेटी, जसले बनाए नेपाली फन्टदेखि फ्लिमका चर्चित पोस्टरसम्म

हिक्मत आचार्य हिक्मत आचार्य

असोज २, २०८१ १२:२५

ग्राफिक्स डिजाइनिङका यी सेलिब्रेटी, जसले बनाए नेपाली फन्टदेखि फ्लिमका चर्चित पोस्टरसम्म

काठमाडौं । घरमा बुवा टाइपराइटरको काम गर्थे । छोरा आनन्द महर्जनले बुवाले गरेको काम हेर्दाहेर्दै टाइपराइटरमा नेपाली र अङ्ग्रेजी टाइप गर्न जानिसकेका थिए । फुर्सद भएको समयमा उनी बुवालाई सघाउन टाइपराइटरमा बसिहाल्थे । यो ०५९/६० सालतिरको कुरा हो । विस्तारै टाइपराइटर पुरानो हुँदै गयो । नेपालमा पनि नयाँ नयाँ प्रविधि भित्रिन थाले । 

महर्जनका बुवाले पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै घरमा कम्प्युटर ल्याए ।  ठूलोबुवाका छोराहरू अर्थात् आनन्दका दाइहरू विभिन्न किसिमका कला निर्माण गर्ने काममा गर्थे । ब्रसले विभिन्न पसल तथा व्यवसायका बोर्डहरू बनाउने र छुट्टै ग्राफिक्स डिजाइनको काम गर्ने दाइहरू भएपछि त्यतातर्फ पनि आनन्दको रुचि थियो । 

यसैबाट आनन्दलाई ग्राफिक्सतिर लाग्ने इच्छा जाग्यो । घरमा कम्प्युटर आएपछि उनी त्यसैमा काम गर्न थाले । नयाँ नयाँ ग्राफिक्स खोज्न र त्यस्ता ग्राफिक्स आफै निर्माण गर्न थाले । 

त्यतिबेला उनी बागमती इङ्गलिस हाई स्कुलमा उच्च शिक्षा अर्थात् कक्षा १२ मा पढ्थे । केही समयपछि उनले जाँच पनि दिए । जाँच दिइसकेपछि उनीसँग खाली समय भयो । समयको सदुपयोग गर्न र आफ्नो खर्च पूर्ति गर्न केही काम गर्ने उनले योजना बनाइरहेका थिए । काठमाडौं नागपोखरीमा एउटा भवन थियो । जहाँ विभिन्न किसिमका सूचना र पत्रिकाहरू टाँसिन्थे । घर छेउको सूचना पाटीमा आनन्दका आँखा परिरहेका हुन्थे । एक दिन त्यहीँ उनले फर्म्याट ग्राफिक्स स्टुडियोमा ग्राफिक्स डिजाइनरको जागिर खुलेको सूचना देखे । 

ग्राफिक्स डिजाइनिङको काम गरिरहेका आनन्दका लागि यो विशेष किसिमको मौका थियो । उनले त्यहाँ उल्लेख गरिएको ईमेल टिपे र साइबरमा गई जागिरका लागि ईमेल मार्फत आवेदन दिए । “मैले फ्रिह्यान्ड र फोटोशप चलाउन जानेको थिएँ,” सुरुवाती दिन सम्झिंदै आनन्द भन्छन्, “ईमेल टिपें । अनि साइबरमा गएर जागिरका लागि आवेदन दिएँ । पछि सरहरूले बोलाउनु भयो ।”

गजबको संयोग त के भने फर्म्याट ग्राफिक्स स्टुडियो आनन्द पढ्ने स्कुल र उनको घरको बीचमा पर्थ्यो । पायक पर्ने ठाउँमा जागिरको अवसर मिलेपछि उनले आफ्नो रुचि ग्राफिक्स डिजाइनिङमा भएको कुरा खुलेर सुनाए । त्यस क्षेत्रमा उनको रुचि देखेपछि कम्पनीका निर्देशक अनिल श्रेष्ठले उनलाई जागिर दिए । उनको सुरुवाती तलब साढे आठ हजार रुपैयाँ थियो । “इन्टर्न भन्ने थिएन त्यतिबेला । अन्तर्वार्तामा छनोट भइसकेपछि जागिरेकै रूपमा आवद्ध भइयो,” उनी सम्झिन्छन् । 

यस कम्पनीले विभिन्न गैरसरकारी संस्थाका लागि डिजाइन बनाउने काम गर्थ्यो । कम्पनीले ती संस्थाहरूका लागि छुट्टै किसिमको डिजाइन बनाउनु पर्दैनथ्यो । उनीहरूको अङ्ग्रेजी डिजाइन हुन्थ्यो । त्यसमा फन्टहरू नेपाली राखेर नेपाली बनाउनु पर्ने हुन्थ्यो । यसो त यस कम्पनीका अध्यक्ष अनिल श्रेष्ठ डिजाइनका पारखी थिए । उनीसँग डिजाइनसम्बन्धी विभिन्न पुस्तक भएको पुस्तकालय नै थियो । विदेश गएको समयमा उनी ग्राफिक्ससम्बन्धी पुस्तक बोकेर फर्किन्थे । नयाँ पुस्तालाई ग्राफिक्स डिजाइनिङ सिकाउन उनी कहिल्यै पछि पर्दैनथे । आनन्दले त्यही पुस्तकालयबाट डिजाइनको सिद्धान्त, त्यसको शैली, रचनात्मक हुने तरिका आदि सिके । पहिले फोटोशप र फ्रिह्यान्ड सिकेका आनन्दलाई पेजमेकर पनि सिक्नुपर्ने भयो । “सधैं एउटै सफ्टवेयर वा टुल प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता थिएन । त्यसैले आफूलाई अपग्रेड गर्नुपर्छ भन्ने ठान्थे । त्यहीबेला धेरै डिजाइन गर्नुपर्ने भएकाले मैले पेजमेकर पनि सिकें,” उनी थप्छन् । 

नयाँ टुल सिके पनि काम अङ्ग्रेजी डिजाइनमा फन्टहरू नेपाली राखेर मिलाउनु पर्ने हुन्थ्यो । उनी आफैं पनि साइबर क्याफेमा गएर डिजाइनका विभिन्न सामग्री इन्स्टल गरेर फ्लोपी डिस्कमा राख्थे । र, घरमा आई त्यस्तै डिजाइन अभ्यास गर्थे । नयाँ नयाँ डिजाइन अन्वेषण गर्ने उनी आफूले फेला पारेका डिजाइन र शैलीलाई आफ्नो काममा भरपुर प्रयोग गर्थे । डिजाइनमा नयाँ नयाँ शैलीहरू परीक्षण गरिरहने उनलाई सीमित नेपाली फन्टहरूले केही असहज बनाएको थियो । डिजाइनमा झट्ट आँखा फन्टले तान्ने भएकाले उनी नयाँ शैलीको फन्ट प्रयोग गर्न खोज्थे । तर, पुराना फन्टका शैली एउटै भएपछि उनी हिन्दी फन्टहरू खोज्थे । त्यसबाहेक प्रायः सबैले प्रयोग गरिरहने फन्ट प्रयोग गर्नुपर्दा उनलाई नयाँ फन्ट आवश्यक भएको महसुस हुन्थ्यो ।

“सुरुमा मलाई फन्ट परिवर्तन गर्न मन लागेको बेला उपयुक्त नेपाली फन्ट भेट्दैनथें । पब्लिकेसनमा काम गर्ने भएकाले फरक फरक फन्ट पनि चाहिरहेको हुन्थ्यो,” फन्ट डिजाइनको यात्रा स्मरण गर्दै उनी भन्छन्, “नेपाली अक्षरसँग मिल्दोजुल्दो भएकाले म हिन्दी फन्ट प्रयोग गर्थें । त्यसलाई पनि कीबोर्ड अनुसार मिलाउनु पर्थ्यो ।”

हिन्दी फन्टलाई नेपाली बनाउन सकिने भए पनि उनलाई आफ्नै फन्ट तयार पार्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यस्तो रुचिका पछाडि उनको स्कुलको बानीको हात थियो । स्कुल पढ्दा उनी हस्तलिखित अक्षरहरू फरक फरक बनाउँथे । झोला, डेस्क, बोर्ड उनका अक्षरहरूले रङ्गिएका हुन्थे । “मलाई मेरो अक्षर कुन हो भन्ने थाहा थिएन । हरेक पानामा फरक फरक अक्षर बनाउन खोज्थें । एउटा पानामा एउटा स्टाइलको अक्षर हुन्थ्यो अर्को पानामा अर्को अक्षर हुन्थ्यो,” उनी हाँस्दै भन्छन्, “सायद जाँचमा छिट्टो लेख्नुपर्दा जुन अक्षर हुन्थ्यो त्यो चाहिं मेरो वास्तविक अक्षर होला ।”

फन्टबारे बुझ्नु अगावै आनन्द आफैले फन्टको भरपुर प्रयोग गरेका थिए । त्यसरी फरक फरक अक्षर शैलीका अक्षर लेख्न सक्ने उनलाई छुट्टै फन्ट बनाउने रहर जाग्यो । त्यतिबेला फन्ट बनाउन फन्टोग्राफर सफ्टवेयरको प्रयोग गरिन्थ्यो । त्यस टुलमा उनले आफ्नै फन्ट बनाउने प्रयास गरे । “मैले सफ्टवेयर चलाउँदा चलाउँदै छुट्टै फन्ट तयार भयो,” उनी सम्झिन्छन्, “त्यसलाई मैले मेरो नाम आनन्द १ एचभी र आनन्द १ एमडी नाम दिएँ ।” 

आनन्दको पहिलो फन्ट आनन्द १ एचभी र १ एचबी
 

यसरी आफ्नै छुट्टै फन्ट बनाउनुको खुसी आनन्दसँग सीमित थियो । उनले यो फन्ट आफ्नै भएको कुरा कसैलाई सुनाएनन् । उनले बनाएको पहिलो फन्ट पब्लिकेसनमा गयो र प्रिन्ट पनि भयो । आफ्नै फन्ट प्रिन्ट भएको देख्दा उनी हर्षित बने । नयाँ नयाँ फन्ट बनाउने उनको रुचि बढ्दै गयो । “मेरो फन्ट फाइन थिएन तर पनि मेरा लागि त्यो फाइन जस्तै थियो,” फन्ट निर्माण गर्दा पाएको पहिलो सफलता सम्झिंदै आनन्द खुसी व्यक्त गर्छन् । 

यसरी उनी दिनहुँ नयाँ नयाँ फन्टहरू बनाउन थाले । रुचिले बनाएका फन्टहरू बिक्री गर्नुपर्छ भन्ने उनलाई लागेको थिएन । त्यसैले फन्ट राख्न मिल्ने प्लेटफर्ममा उनी आफ्ना फन्टहरू राखिदिन्थे । त्यसरी विभिन्न प्लेटफर्ममा फन्ट राख्दा उनका फन्टहरू धेरैले रुचाएर प्रयोग गर्थे । नेपाली फन्ट मात्र नभइ आनन्दले अङ्ग्रेजी फन्टमा पनि हात हालेका थिए । उनको त्यस प्रयासले अन्तर्राष्ट्रिय रूपमा पनि त्यसबेला चर्चा पायो । उनका फन्टहरू विभिन्न प्लेटफर्ममा फिचर्ड भए । 

आनन्द नेपटच फन्ट

“भुक्तानी पाउने वा गर्न सकिने प्लेटफर्म त्यति थिएनन् । पछि फन्ट बिक्री गर्न सकिने रहेछ भन्ने थाहा भए पनि भुक्तानीका विकल्प भएनन् । र, मैले फन्ट यत्तिकै राख्नुपर्ने भयो,” फन्ट बिक्री गर्न मिल्ने भए पनि भुक्तानीको माध्यम नभएकाले आम्दानीको अवसर गुमेको उनी स्मरण गर्छन् ।  

ग्राफिक्स डिजाइनप्रतिको दिकदारी र फेरि त्यसैको मोह  !

ग्राफिक्स डिजाइनिङको क्षेत्रमा उनले पाँच वर्ष बढी बिताइसकेका थिए । हुन त उनले आफूले चाहेको जस्तो डिजाइन बनाउन पाएकै थिए । तर, यो क्षेत्रलाई छोडेर उनी नयाँ क्षेत्र रोज्न खोजिरहेका थिए । विस्तारै प्रोग्रामिङको माहोल बढ्दै थियो । काठमाडौंमा युवाहरू प्रोग्रामिङतर्फ आकर्षित भइरहेका थिए । उनले आफ्ना केही साथीहरूलाई भेटेर कोडिङको विषयमा कुरा राखे । उनका साथीहरू पनि कोडिङ सिक्न तयार भए । 

“त्यतिबेला नयाँ नयाँ वेससाइट बनाउने ट्रेन्ड थियो । मैले सीएसएस एक्सएचटीएमएल पनि सिकें,” प्रोग्रामिङतिरको आफ्नो यात्रा स्मरण गर्दै आनन्द भन्छन्, “त्यो समय एचटीएमएल टेबलबाट वेबसाइट बनाइन्थ्यो । तर, हामीले भने नयाँ तरिका अर्थात सीएसएसबाट वेबसाइट बनायौं । सायद सीएसएसबाट वेबसाइट बनाउने हामी नै पहिलो होला ।”

यसरी कोडिङमा पनि नयाँ नयाँ शैली प्रयोग गर्न थाले । उनीहरूले एचटीएमएल र सीएसएस छुट्टाछुट्टै तयार पारेर त्यसैलाई पछि लिङ्क गरी वेबसाइट बनाउन सुरु गरे । यसरी वेबसाइट बनाउन जानेपछि उनीहरूले आफ्नै वेबसाइट पनि निर्माण गरे । वेबसाइट बनाइसकेपछि उनलाई आफ्नो रुचि प्रोग्रामिङमा रहेछ भन्ने महसुस भयो । सन् २००३ देखि २००८ सम्म फर्म्याट ग्राफिक्स स्टुडियोमा काम गरेका आनन्दले फिल्ड परिवर्तन गर्ने योजना सहित जागिर नै छोडे । 

“त्यतिबेला हामीले कर्भ्स एन्ड कलर भन्ने वेब डिजाइनिङ कम्पनीबाट प्रोग्रामिङ सिकेका थियौं । हामीले स्टाटिक वेबसाइट बनाउन सिकेका थियौं । अब डाइनामिक वेबसाइट बनाउनुपर्छ भन्ने सोचाइ आएपछि हामी त्यही सिक्न थाल्यौं,” उनी भन्छन् । 

आनन्द र उनका साथीहरू डाइनामिक वेबसाइट बनाउन पीएचपी, जाभा, माइस्कक्यूएल, एजाक्स लगायतका ल्याङ्ग्वेज सिक्न थाले । तर, आनन्द त्यतातर्फ केन्द्रीत हुन सकेनन् । भन्छन्, “साथीले सिक्यो । तर, मैले सिक्न सकेन । दिमागमा छिर्दै छिरेन । अब डाइनामिकतिर जानुपर्ने म रोकिएँ ।”

दोधारमा परे आनन्द । नयाँ क्षेत्र रोजौं त्यतातर्फ केन्द्रीत नै हुन सकेनन् । पुरानो क्षेत्र रोजौं छोडेर आइसकियो । बीचमा अडिएर चिन्तामा रुमलिनुभन्दा उनलाई पहिलेकै क्षेत्र प्यारो लाग्यो । र, उनले ग्राफिक्स डिजाइनिङकै कामका लागि अनलाइनमा विभिन्न प्लेटफर्म खोज्न थाले ।

नेदरल्यान्डको कम्पनीमा आउटसोर्सिङको काम

ग्राफिक्स डिजाइनिङ सम्बन्धी काम खोज्दै जाँदा उनले गो ग्राफी अफशोर नामको नेदरल्यान्डको कम्पनीमा जागिर खुलेको फेला पारे । जुन २००८ मा त्यस कम्पनीमा जोडिएका उनले धेरै कुरा सिक्न पाए । खासगरी ग्राफिक्स डिजाइनिङ हरेक क्षेत्रहरूमा फरक फरक किसिमको हुन्छ । अमेरिकामा जुन किसिमको ग्राफिक्स डिजाइनिङ हुन्छ अर्को देशमा त्योभन्दा फरक हुन सक्छ । “उनीहरूकै डिजाइन हुन्थ्यो त्यसमा हामीलाई जे मिलाउन भनेको छ त्यही मिलाउनुपर्थ्यो । सुरुसुरुमा अटोपाइलट जस्तो लाग्थ्यो । उनीहरूले जे काम गर भन्यो त्यही गर्नुपर्थ्यो । आफ्नो तरिकाले पनि काम गर्न पाइन्थ्यो । तर, त्यो पनि उनीहरूकै निर्देशनमा गर्नुपर्थ्यो,” उनी भन्छन् । 

काम जसरी गर्नुपर्ने भए पनि आनन्दले यस कम्पनीमा काम गर्दा डिजाइनबारे धेरै कुरा सिक्न पाए । नेदरल्यान्डको त्यस कम्पनीको डिजाइन निकै राम्रो थियो । डिजाइन गर्दा भएभरका टुल प्रयोग गर्नुपर्छ, फन्ट राख्नुपर्छ, रङ्गीचङ्गी बनाउनुपर्छ भन्ने मान्यता उनीहरूको थिएन । आनन्द भन्छन्, “त्यो युरोपियन डिजाइन थियो । हामीले अमेरिकन, नेपाली र युरोपियन डिजाइन गरिरहेका हुन्छौं । कम कलर, साधारण तर आकर्षक बनाउनुपर्छ भन्ने मान्यता युरोपियन डिजाइनको छ । यसबाट डिजाइनका धेरै पक्ष सिक्ने मौका मिल्यो ।”

उनलाई त्यस कम्पनीमा आउसोर्सिङको काम गर्दा अरू पनि फाइदा भयो । खासगरी उनीसँग त्यहाँको काम गर्ने समयको बाहेक खाली समय पनि हुन्थ्यो । त्यहाँ प्रिन्ट डिजाइन, ब्रान्डिङ, वेब डिजाइनिङ, यूआईयूएक्स डिजाइनिङ, इल्युस्ट्रेसन, भिज्युअल डिजाइनिङ, विज्ञापन डिजाइनिङ, म्यागजिन र पत्रिका तथा पोस्टर डिजाइनिङको काम गरे । 

खाली समयमा रुचि लागेका फन्ट बनाउने, पोस्टर बनाउने काममा उनी अभ्यस्त भइरहेका हुन्थे । उनी जुन कम्पनीका लागि काम गर्थे त्यसका लागि छट्याएको समयमा त्यसैका लागि काम गर्थे बाँकी समय ग्राफिक्स सम्बन्धी खोज तथा अध्ययनमै बिताउँथे । 

मौकाले जुरेको फिल्म पोस्टर डिजाइनको बाटो 

सन् २००७/८ तिर फिल्मको पोस्टहरू नयाँ नयाँ बनाउने प्रवृत्ति बढ्दै गइरहेको थियो । परम्परागत पोस्टरभन्दा नयाँ शैली वा पोस्टरमा नयाँपन ल्याउनुपर्छ भन्ने मान्यता केही फिल्म निर्देशकको थियो । पहिलो नेपाली एचडी फिल्मको परिचय बनाएको फिल्म कागबेनीका लागि फरक शैलीको पोस्टर तयार पारियो । नयाँ शैलीको पोस्टरले गर्दा फिल्म आधुनिक भएको भाव पनि दिएको थियो । यो फिल्म सन् २००८ मा प्रदर्शन भएको थियो । 

त्यही वर्ष प्रदर्शनमा आएको आलोक नेम्बाङको फिल्म सानो संसारमा पनि फरक शैलीको छुट्टै पोस्टर थियो । यसरी नयाँ शैलीका फिल्मले फरक शैलीको पोस्टर बनाउने प्रवृत्ति बढी रहेको थियो । सन् २०१३ मा सार्वजनिक हुने तयारीमा रहेको नेपाली फिल्म छड्केले पोस्टर डिजाइनका लागि प्रतियोगिता नै आयोजना गर्‍यो । 

फिल्म पोस्टर डिजाइनका लागि प्रतिस्पर्धा आयोजना भएको देखेपछि आनन्द त्यसमा सहभागी बने । उनले फिल्मका लागि चार पाँच ओटा पोस्टर तयार पारिदिएका थिए । उनको पोस्टर नै विजेता छनोट भयो । “त्यो कन्सेप्चुअल पोस्टर थियो,” आनन्द भन्छन्, “पछि त्यही शैलीको आधिकारिक पोस्टर तयार पारियो ।”

महर्जनले तयार पारेको छड्के फिल्मको पोस्टर
 

बिजेता बनेपछि उनले पुरस्कार स्वरूप ३० हजार रुपैयाँ पाए । र, आधिकारिक पोस्टर बनाउने जिम्मा पनि आनन्दले नै पाए । त्यसभन्दा केही अगाडि रिलिज भएको फिल्म लुटमा आनन्दकै फन्ट प्रयोग भएको । उक्त फिल्मको पोस्टर डिजाइन भने स्वप्निल आचार्यले गरेका थिए । 

छड्के फिल्मको पोस्टर सार्वजनिक भइसकेपछि आनन्दको चर्चा भयो । “फिल्मको पोस्टर फरक किसिमको बनेकाले मेरो बढी चर्चा भयो,” उनी सम्झिन्छन्, “फिल्मको सबै पोस्टर आइडियल डिजाइनर्सले गर्ने गर्थ्यो । छड्के फिल्म फरक तरिकाले आएपछि पोस्टरले बढी चर्चा पायो ।”

फिल्मको चर्चा पाएपछि अन्य फिल्मको पोस्टर डिजाइनको काम आनन्दले पाउन थाले ।  

आनन्दले पोस्टर बनाएका केही फिल्महरूः

आनन्दका अनुसार उनले हालसम्म ६५ भन्दा बढी फिल्मको पोस्टर बनाइसकेका छन् । अधिकांश फिल्ममा उनी नयाँ फन्ट बनाएर प्रयोग गर्छन् । त्यही नयाँपनका कारण फिल्म निर्माता तथा निर्देशकहरू उनले बनाउने पोस्टर रुचाउने गर्छन् । उनले पोस्टर बनाएका केही फिल्महरू यी हुन् । 

  • छड्के 

  • छड्के २

  • कर्कस 

  • मञ्जरी

  • प्रेम गीत १

  • कबड्डी ३/४ (फन्ट बाहेक अरू पोस्टर डिजाइन)

  • गाउँ आएको बाटो

  • मनसरा

  • म यस्तो गीत गाउँछु १/२

  • सम्हालिन्छ कहिले मन

  • लिलिबिली​

  • लभ स्टेसन

  • राम कहानी

  • टलकजङ्ग भर्सेस टुल्के

  • फाटेको जुत्ता

  • लालपुर्जा

  • डमरुको डण्डिबियो

  • फन्को

  • तान्डव​

  • महाजात्रा

  • डिग्री माइला

  • जारी

  • दिमाग खराब

  • फूलबारी

  • रङ्गेली

  • दयारानी

  • बगान

  • बर एन्ड बधु

  • सेन्टी भाइरस

  • नीरफूल

  • पूजा, सर

  • कालो पोथी

  • साम्बाला

  • चङ्गा चेट

  • बाँसुल्ली

  • इन्टु मिन्टु नन्डनमा

  • जालो 

  • झोले 

उनले केही फिल्मका लागि पोस्टर मात्र पनि बनाइदिएका छन् । चर्चित भारतीय फिल्म केदारनाथ र धडकका लागि पनि उनैले फन्ट बनाएका हुन् । अब सार्वजनिक हुन लागेको फिल्म ह्रस्वदीर्घ, रेशम फिलिली लगायतका फिल्मको अक्षर आनन्दले नै डिजाइन गरेका हुन् ।

३० हजार रुपैयाँबाट फिल्मको पोस्टर बनाउन सुरु गरेका आनन्दले ३५, ४०, ४५, ५०, ८०, एक लाख, एक लाख २० हजारदेखि डेढ लाख रुपैयाँसम्म लिएका छन् । प्याकेज अनुसार फिल्म पोस्टर डिजाइनका लागि लाग्ने शुल्क फरक फरक हुने उनी सुनाउँछन् । फिल्मको पोस्टर डिजाइन गर्न उनी फोटोशप नै प्रयोग गर्छन् । 

हाम्रो पात्रकोमा लिड ग्राफिक्स डिजाइनरदेखि क्रियटिभ हेडसम्मको यात्रा 

आनन्द सामाजिक सञ्जालका विभिन्न माध्यम, अनलाइनमा आफ्ना डिजाइन र फन्ट राखिरहेका हुन्थे । ग्राफिक्स डिजाइनरका लागि निर्माण भएका विभिन्न वेबसाइट जस्तै क्रियटिभ मार्केट, टम्बम्लर, हेलो फन्ट्स, फन्ट डटकममा आफ्ना फन्ट तथा डिजाइन राखिरहेका हुन्थे । 

सामाजिक सञ्जालमा शुभकामना दिनका लागि डिजिटल कार्ड (ईकार्ड्स) प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको थियो । उनी हरेक चाडपर्व वा दिवसको कार्ड बनाएर अनलाइनमा राख्थे । “मैले ईकार्ड्सहरू धेरै बनाउँथे,” हाम्रो पात्रोमा जोडिंदाको सुरुवाती दिन सम्झिंदै आनन्द भन्छन्, “हाम्रो पात्रोका संस्थापक दाइ शंकर उप्रेतीले मेरो डिजाइन अनलाइनमा हेरिरहनु भएको रहेछ । उहाँले मलाई सम्पर्क गरेर ईकार्ड्स ‘हाम्रो पात्रो’मा राख्ने भन्नुभयो । र, अरू डिजाइनको जिम्मा पनि मलाइ दिनुभयो ।”

त्यसपछि उनले फ्रिल्यान्सिङ रूपमा हाम्रो पात्रोमा ग्राफिक्स डिजाइनरको काम गर्न थाले । हाम्रो पात्रोको कार्यालय नेपालमा सन् २०१६ मा स्थापना भएको थियो । त्यसअघि काम गरिरहेको कम्पनीमा छोड्न केही समय लागेकाले उनी हाम्रो पात्रो स्थापना भएको केही महिनापछि औपचारिक रूपमा जोडिए । ग्राफिक्स डिजाइनरबाट उनको यात्रा सुरु भएको थियो । सन् २०१९ बाट उनले हाम्रो पात्रोमा क्रियटिभ हेडको जिम्मेवारी सम्हाले । अहिले उनकै नेतृत्वमा हाम्रो पात्रोको यूआईयूएक्स डिजाइन भएको छ । त्यसबाहेक विज्ञापन डिजाइन गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । हाम्रो पात्रोका कन्टेन्ट जस्थै ईकार्ड तथा पोस्टरहरू उनकै नेतृत्वमा डिजाइन हुन्छ । हाम्रो पात्रोमा ईकार्ड, इभेन्ट, सोसल मिडिया र विज्ञापन डिजाइनको नेतृत्व आनन्दले गरेका छन् । 

आनन्द र उनका फन्टहरूः

अहिलेसम्म आनन्दले ३० ओटाभन्दा बढी फन्ट निर्माण गरिसकेका छन् । उनले ढिलो अनलाइनमा फन्ट बिक्री गर्न सुरु गरेको भए पनि हालसम्म दुई लाख रुपैयाँ बढी त्यसैबाट आम्दानी गरेका छन् । उनले ग्यालेक्सी फोरके टेलिभिजनका लागि पनि फन्ट निर्माण गरेका थिए । कुनै एउटा संस्थाकै लागि फन्ट बनाइदिएको आनन्दको यो पहिलो अनुभव थियो । उनले ढाई लाख रुपैयाँमा ग्यालेक्सी फोरके टेलिभिजनका लागि फन्ट तयार पारेका थिए । 

आनन्दले तयार पारेको ग्यालेक्सी फोरके फन्ट

त्यसबाहेक उनका कैयौं फन्टहरू बन्ने क्रममा छन् । “ठूला ठूला ब्रान्डहरूले फन्ट बनाउनु पर्‍यो भनेर अनुरोध गरेका थिए,” उनी भन्छन्, “तर, शुल्कमा कुरै नमिल्ने भयो । फन्ट धेरै समय लाग्ने कुरा हो । तयार पारिसकेपछि त्यसको सम्पूर्ण अधिकार नै हस्तान्तरण गर्नुपर्ने हुन्छ । मेहनत हुन्छ । तर, खै मेहेनर र कलालाई नदेखेका हुन् कि ? खर्च भनेपछि साइड लाग्नुहुन्छ ।” यसले भने उनलाई दुःखित तुल्याएको छ । फन्ट एउटा अक्षर मात्र होइन । ब्रान्डिङ हो । यसले कम्पनीलाई चित्रण गरेको हुन्छ । यसको सचेतना दिन पाए राम्रो हुने उनको विश्वास छ । 

 

आनन्दले लामो समयसम्म फन्ट निःशुल्क उपलब्ध गराए । नेपालमा डिजिटल वालेटहरू सुरु भएपछि उनले फन्ट बिक्री गर्न पनि सुरु गरे । तर, धेरैले पहिले फन्ट इन्स्टल गरिसकेको हुनाले त्यसलाई निरन्तरता दिन केही गाह्रो भएको उनको भोगाइ छ । उनले नेपालमा मात्र होइन, फन्ट निर्माण गर्नका लागि भारतको एक टाइप नामको कम्पनीसँग पनि सहकार्य गरेका छन् । हालै मात्र सार्वजनिक नेपाली लिपि ‘नित्या रञ्जना’ मा आनन्दले महत्त्वपूर्ण भूमिका खेलेका छन् । आनन्द, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल र अन्य अभियान्ताको सक्रियतामा रञ्जना लिपि सुधार गर्ने काम अगाडि बढेको थियो । “रञ्जना लिपिका लागि दुई वर्ष लाग्यो,” उनी भन्छन्, “त्यसमा सबै विज्ञका रूपमा म आवद्ध भएको थिएँ ।” 

नित्या रञ्जना फन्ट
 

उनकै नेतृत्वमा निर्माण भएको रञ्जना लिपिले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार डीएन्ड एडी एल्लो पेन्सिल र टीडीसी एक्सिलेन्स अवार्ड पनि जितेको छ । भन्छन्, “संयुक्त रूपमा काम गर्दा रञ्जना लिपिबाट जेजस्ता सम्मान र पुरस्कार पाइयो त्यसबाट धेरै नै प्रेरणा मिलेको छ । यो ठूलो उपलब्धि हो ।”

आनन्द अक्षर फन्टमा सजिएको कविशिरोमणी लेखनाथ पौड्यालको कविता

 

उनका फन्टहरू 

  • आनन्द १ एचभी/ आनन्द १ एमडी 

  • आनन्द संसार

  • आनन्द  यताउति 

  • आनन्द अक्षर

  • आनन्द नमस्ते

  • आनन्द एलटी

  • आनन्द नेपटच

  • आनन्द हस्ताक्षर

  • आनन्द सुमित्रा

  • आनन्द लालीगुराँस

  • आनन्द लिपि

  • आनन्द मिरमिरे

  • बालक

  • आनन्द लहर

  • आनन्द रञ्जना

  • आनन्द देउराली

  • आनन्द चौतारी

  • आनन्द उकालीओराली

  • बौचामैचा

  • पासा रक्स

  • आनन्द थोप्ला 

  • केटीएम

  • आनन्द देवनागरी

  • आनन्द छाप

  • आनन्द राउन्ड

  • ग्यालेक्सी टिभी

प्रविधि नहुँदा गुगलबाट गुम्यो महत्त्वपूर्ण अवसर 

आनन्दले ग्राफिक्स डिजाइनिङ तथा फन्ट डेभलपमेन्टमा थुप्रै काम गरे । उनले फन्ट बिक्री गरेर केही रकम पनि कमाए । प्रविधिको अभाव हुँदा उनले एउटा ठूलो अवसर गुमाउन पुगे । उनलाई यसको पश्चताप सधैं भइरहेको छ । “गुगल फन्ट सार्वजनिक हुनुअघि त्यहाँका प्रतिनिधिले मलाई सम्पर्क गरेका थिए,” गुगलका प्रतिनिधिसँग भएको कुराकानी सम्झिंदै महर्जन भन्छन्, “मलाई देवनागरी युनिकोड बनाइदिनु पर्‍यो भन्नुभएको थियो । तर, मैले युनिकोड बनाउन सकिनँ । उनीहरूलाई युनिकोडमा चाहियो, मलाई युनिकोडमा बनाउन आएन । ठूलो अवसर गुम्यो ।”

आनन्दलाई आवश्यक सहयोग गर्ने गुगलका प्रतिनिधिले प्रतिवद्धता दिएका थिए । तर, त्यसबेला आफूले नसक्ने भएपछि उनी पछि हटे । भन्छन्, “पछि, त्यति सम्पर्क पनि भएन । त्यसपछि उनीहरू इन्डिया गए ।” अहिले गुगल फन्टमा भारतीय फन्ट डिजाइनिङ कम्पनी एक टाइप र अन्य डिजाइनरले निर्माण गरेका देवनागरी फन्टहरू छन् । “उनीहरूको प्रविधि राम्रो भयो,” प्रविधिको अभावले अवसर गुमेको पल सम्झिंदै आनन्द भन्छन्, “न फन्टबारे सिकाउने ठाउँ थियो । कहाँ कसरी सिक्ने केही थाहा थिएन । ठूलो अवसर गुम्यो ।”

प्रीति शैलीको फन्ट निर्माण गर्नका लागि २०० देखि ३०० ओटा क्याेरेक्टर मिलाउँदा हुने आनन्द सुनाउँछन् । तर, युनिकोडका लागि दुई हजारदेखि २५०० क्यारेक्टर प्रोग्रामिङबाट मिलाउनु पर्ने हुन्छ । “युनिकोडमा कोडिङ गर्नुपर्‍यो, रेन्डरिङ गर्नुपर्‍यो, सबै क्यारेक्टर मिलाउनु पर्‍यो, म्यापिङ गर्नुपर्‍यो । यो अलि जटिल छ,” उनी भन्छन् । त्यस समयमा गुगलसँग सहकार्य गर्ने अवसर नजुरे पनि पछि 'नोटो सन्स नेवा' (Noto Sans Newa) फन्टका लागि गुगलका डिजाइनर जाकरी स्कुरेनसँग उनले काम गर्ने मौका पाए । "त्यसमा म स्क्रिप्ट एक्सपर्टका रूपमा जोडिन पाँए । पछि एन्ड्रोइड नाइनमा यो फन्ट सपोर्ट हुने बनाइयो । यो फन्ट प्रयोग गर्न सकिने कीबोर्ड पनि मैले नै विकास गरेको थिएँ," उनी भन्छन् । 

आनन्दका थुप्रै फन्टहरू आउन बाँकी छन् । उनी छिट्टै आनन्द अश्लेषा, आनन्द नेपसन्स, आनन्द कल्पना, आनन्द आधुनिक, आनन्द आशा, आनन्द रञ्जना, आनन्द नेवा, आनन्द फिलिली, आनन्द केटाकेटी, आनन्द स्पन्दन, आनन्द शून्य र आनन्द यात्रा लगायतका फन्ट ल्याउने तयारीमा छन् ।

क्यालिजात्रा फाउन्डेसनमा आनन्दको यात्रा

सीपले आफ्नो संस्कृति, परम्परा, कला र साहित्य प्रवर्द्धन गर्ने अभियानमा आनन्द जुटेका छन् । शताब्दीऔं पुरानो रञ्जना लिपिलाई डिजिटल स्वरूप दिनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । क्यालिजात्रा फाउन्डेसन संस्थाका अध्यक्ष रहेका उनी नेपाली क्यालिग्राफीलाई देश विदेशमा प्रचार गर्न चाहन्छन् । उनकै नेतृत्वमा क्यालिजात्रा फाउन्डेसनले हालसम्म ७० भन्दा भढी रञ्जना क्यालिग्राफी वर्कशप सञ्चालन गरिसकेको छ ।

सन् २०१९ सम्म भौतिक रूपमा कार्यशाला सञ्चालन गरिएकोमा कोभिड पछाडिका केही वर्ष अनलाइनमा समेत गरियो । पछिल्ला दुई वर्षदेखि पुनः भौतिक रूपमा क्यालिजात्राले वर्कशप गर्दै आएको छ । “पहिले टाइपोग्राफी मात्र भइरहेको थियो । हाम्रो आफ्नै क्यालिग्राफी रहेछ । अब आफ्नै क्यालिग्राफी प्रवर्द्धन गर्ने भन्ने ठानेर सिक्ने र सिकाउने ठाउँमा रूपमा वर्कशप थाल्यौं,” उनी भन्छन् । 

नेपालको मौलिक फन्ट प्रवर्द्धन गर्न उनको टोली विदेशका ठूला ठूला फन्ट प्रदर्शनी कार्यक्रममा समेत सहभागी भएका छन् । गुगल र एडोबी जस्ता कम्पनीहरूले प्रायोजन गर्ने र विश्वभरका डिजाइनर सहभागी हुने  'एसोसियसन टाइपोग्राफिक इन्टरनेस्नल' (ATypl) कन्फेरेन्समा आनन्द र उनको टिमले देशलाई प्रतिनिधित्व गरेका छन् । भन्छन्, “नेपालको लिपि, स्क्रिप्ट र डिजाइन ठूलो कार्यक्रममा प्रदर्शन गर्ने अवसर पायौं । यो हाम्रा लागि ठूलो सफलता हो ।”

उनले पब्लिक युथ क्याम्पसबाट सन् २००५ मा बीबीएसको अध्ययन पूरा गरे । त्यसपछि शंकरदेव क्याम्पसमा उनी एमबीएस अध्ययनका लागि भर्ना भए । काम र पढाइ फरक भएको महसुस भएपछि एमबीएसको अध्ययनलाई त्यही बिट मारी उनी ललितकला फाइन आर्ट क्याम्पसमा अध्ययन गर्न गए । त्यहाँ उनले दुई वर्षको आईएफए कोर्स पूरा गरेका थिए । त्यसपछि निरन्तर काममा सक्रिय छन् । 

नयाँ पुस्तालाई आनन्दका सुझाव 

नयाँ पुस्तालाई उनी नयाँ नयाँ प्रविधिमा अभ्यस्त हुन सुझाव दिन्छन् । “सधैं एउटै टुल वा सफ्टवेयर प्रयोग गर्ने भन्दा पनि नयाँ नयाँ प्रविधि अन्वेषण गर्नुपर्छ,” ग्राफिक्स डिजाइनिङमा पाइला सार्दै गरेका युवालाई प्रेरणा दिंदै आनन्द भन्छन्, “यसमा खोज र अनुसन्धान महत्त्वपूर्ण पाटो हो । केहीगरी नयाँ सफ्टवेयर वा टुलमा अभ्यस्त भइएन वा नयाँ ट्रेन्ड थाहा भएन भने पछि परिन्छ ।”

रङ्गिचङ्गी डिजाइन बनाउनेभन्दा पनि सामान्य तर रचनात्मक डिजाइन बनाउन उनको सुझाव छ । पछिल्लो समय बजारमा रहेका इल्युस्ट्रेटर, फोटोशप र फिग्मा जस्ता सफ्टवेयर सिक्दा यस क्षेत्रमा करिअर बनाउन सकिने उनको विश्वास छ । विश्वभर ग्राफिक्स डिजाइनिङका नयाँ नयाँ अवधारणा विकास भइरहेका छन् । क्षेत्र अनुसार डिजाइनिङको दायरा पनि फराकिलो हुँदै गएको छ । “म एउटा कुरा मात्र सिक्छु भनेर हुँदैन,” भन्छन्, “ग्राफिक्स डिजाइनिङसँग सम्बन्धित हरेक क्षेत्रबारे जान्नुपर्छ । जस्तै फोटोग्राफीको ज्ञान हुनुपर्‍यो, आर्ट सिक्नुपर्‍यो, ब्लगिङ सिक्नुपर्‍यो ।”

यसरी ग्राफिक्स डिजाइनिङकै विभिन्न क्षेत्रमा अभ्यस्त हुन सके राम्रै आम्दानी गर्न सकिने उनी सुनाउँछन् । डिजाइनिङको कुन क्षेत्रमा लाग्ने भन्ने विषयले आम्दानी निर्धारण गर्छ । खासगरी यूआईयूएक्स र सोसल मिडिया मार्केटिङको डिजाइनिङमा राम्रो अवसर भएको उनको भनाइ छ । “सुरुमा रहर लाग्ने तर त्यसैमा केन्द्रित हुन नसक्ने धेरैको बानी हुन्छ । निरन्तर अभ्यास गरियो, नयाँ नयाँ ट्रेन्डबारे एक्सप्लोर गरियो, बढी रचनात्मक हुन खोजियो भने राम्रो ग्राफिक्स डिजाइनर बन्न सकिन्छ,” उनी थप्छन् । 

आफूसँग सम्बन्धित हरेक प्लेटफर्मबारे बुझ्न पनि आवश्यक छ । ती प्लेटफर्ममा आफ्नो डिजाइनहरू राखियो भने राम्रो कम्पनीबाट अफर आउन सक्छ । भन्छन्, “काम राम्रो छ भने खोजी खोजी आउँछन् । यो क्षेत्रमा कसैलाई भनसुन गर्नुपर्ने हुँदैन । राम्रो गर्नेका लागि अवसर जताततै छन् ।” 

आनन्दको वेबसाइट

फेसबुक पेज

बिहेन्स

एक्स

युट्युब

ड्रिबल

फ्लिकर

पिनट्रेस्ट

टम्ब्लर

इन्स्टाग्राम

लिङ्क्डइन

पुराना फिल्मका पोस्टरहरू

 

 

पछिल्लो अध्यावधिक: असोज ४, २०८१ १५:३७