close

ओपन-सोर्सको पक्षमा मार्क जुकरबर्ग, भन्छन्- ‘म आफ्नै प्लेटफर्म ल्याउन चाहन्छु’

टेकपाना टेकपाना

असोज ८, २०८१ १६:२८

ओपन-सोर्सको पक्षमा मार्क जुकरबर्ग, भन्छन्- ‘म आफ्नै प्लेटफर्म ल्याउन चाहन्छु’

काठमाडौं । सफ्टवेयरको विकास यहाँसम्म आउनुमा ओपन-सोर्सको ठूलो भूमिका छ । यसमा कुनै पनि सफ्टवेयर अथवा प्रविधिको सोर्स कोड सबैलाई उपलब्ध गराइन्छ । यसो हुँदा जोकोहीले उक्त सफ्टवेयरको सोर्स कोड हेर्न, परिवर्तन गर्न र आफू अनुकूल प्रयोग गर्न सक्छन् ।

ओपन-सोर्सको मुख्य उद्देश्य प्रविधिको विकासलाई खुला र सहयोगात्मक बनाउनु हो । यसको राम्रो उदाहरण लिनक्स हो । यो एउटा चर्चित ओपन-सोर्स अपरेटिङ सिस्टम हो, जसमा विश्वभरका धेरै डेभलपरहरूले परिमार्जन र सुधार गरेका छन् ।

मेटाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यही ओपन-सोर्स प्रविधिमा ठूलो भविष्य देखिरहेका छन् । गत हप्ता सान फ्रान्सिस्कोमा आयोजना गरिएको ‘एक्वायर्ड’ (Acquired) पडकास्टमा जुकरबर्गले अन्य प्रविधि कम्पनीहरूसँगको प्रतिस्पर्धा र प्रविधिको भविष्यबारे कुरा गरेका थिए । यसका साथै खुला र बन्द सिस्टम (ओपन र क्लोज्ड सिस्टम)हरूबारे पनि उनले चर्चा गरेका थिए ।

सोही क्रममा नै उनले ओपन-सोर्समा आफूले काम गर्न लागेको बताएका थिए । कार्यक्रममा जुकरबर्गले आगामी १० देखि १५ वर्षमा ओपन-सोर्स प्लेटफर्म बनाउन चाहेको बताए । त्यसले प्रविधि उद्योगलाई थप सुधार गर्ने उनले विश्वास व्यक्त गरे ।

“मेरो आगामी १०-१५ वर्षको लक्ष्य भनेकै अर्को पुस्ताको ओपन प्लेटफर्महरू बनाउने हो,” जुकरबर्गले भने, “तिनले प्रविधि उद्योगलाई अझ समृद्ध बनाउनेछ भन्ने मलाई लाग्छ ।”

अहिले पनि जुकरबर्गले यस क्षेत्रमा केही महत्त्वपूर्ण कदम चालिसकेका छन् । सन् २०२३ मा मेटाले ‘Llama 2’ नामक ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको थियो । मेटाको उक्त कदमलाई प्रविधि समुदायले प्रशंसा गरेको थियो ।

तर यसो गर्नु जोखिमयुक्त पनि मानिन्छ । किनकि खराब नियत भएका व्यक्तिहरूले ओपन-सोर्स मोडेलको दुरुपयोग गर्न सक्छन् । यद्यपि मेटाले पुन: गत जुलाईमा लामा ३.१ नामक एआई मोडललाई पनि ओपन-सोर्सका रूपमा उपलब्ध गरायो । जसबारे पनि प्रविधि समुदायले प्रशंसा गरेको थियो ।

सामान्यतः क्लोज्ड मोडेलमा बढी सुरक्षा पाइन्छ । किनभने सफ्टवेयरको सोर्स कोड अन्य पक्षलाई उपलब्ध गराइँदैन । तर ओपन-सोर्स मोडेलले प्रविधिको विकासलाई छिटो बनाउन सक्छ । यसबारे अपरेटिङ सिस्टमको उदाहरण जोडेर पनि जुकरबर्गले बोलेका थिए ।

“हामीले गर्ने काममा धेरै प्रतिस्पर्धीहरू छन्,” उनले भविष्यका अपरेटिङ सिस्टमहरूबारे भने, “ती एप्पलका बन्द सिस्टमहरूजस्तै हुन्छन् कि हुँदैनन् ? विभिन्न तरिकाले राम्रा चीजहरू बनाउन सकिन्छ । विगतमा विन्डोजको खुला इकोसिस्टम भएकै कारण लिडर भएको थियो ।”

पछिल्लो अध्यावधिक: असोज ८, २०८१ १६:४५