काठमाडौं । नेपाली बजारमा अवैध रूपमा आईफोन १६ सिरिज बिक्री हुन थालेको छ । गत शुक्रबार भारतसहित विश्वका ५८ देशमा उपलब्ध आईफोन १६ नेपाली बजारमा अवैध तवरमा खरिद-बिक्री भइरहेको हो ।
अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार डटकम’ र टिकटकमा आईफोन १६ को खुलेआम प्रचार गरिएको छ । हाम्रो बजारमा ‘इलेक्ट्रोनिक्स स्टोर’ नामको अकाउन्टबाट आईफोन १६ नेपालमा एक लाख ३२ हजार रुपैयाँमा उपलब्ध गराउने दाबी गरिएको छ ।
“नेपालमा अझै सार्वजनिक भइसकेको छैन, तर हामीसँग आइसक्यो,” इलेक्ट्रोनिक्स स्टोरका व्यापारीले भने, “हामीसँग स्टकमै छ । तर, भ्याट बिल भने आउँदैन ।” उनले आफ्नो पसल न्युरोड ताम्राकार कम्प्लेक्स अगाडि रहेको बताए । साथै उनले आफूसँग अहिले आईफोन १६ र १६ प्रो म्याक्स मात्र भए पनि १६ प्लस र १६ प्रो बुक गरेको खण्डमा चाँडै उपलब्ध गराइदिने प्रतिवद्धता जनाए ।
हाम्रो बजारमा ‘टेकट्रेन्ड एक्सेसरिज’ नाम भएको अकाउन्टबाट पनि सोही मूल्यमा आईफोन १६ उपलब्ध गराउने भन्दै प्रचार गरिएको छ । “आईफोन १६ का अन्य मोडेल चाहिएको छ भने मगाउन सकिन्छ,” टेक ट्रेन्ड एक्सेसोरिजका प्रतिनिधिले भने ।
यी दुई प्रतिनिधि व्यापारी हुन् । आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स तत्कालै अनलाइन र भौतिक स्टोरबाट उपलब्ध गराउने भन्दै दाबी गर्नेहरू तमाम छन् ।
सार्वजनिक हुनु अगाडि नै फोन उपलब्ध गराउने भएकाले केही महँगो पर्ने उनीहरूको भनाइ छ । फोन खरिद गर्दा भ्याट बिल नपाए भएपनि त्यसले केही फरक नपार्ने तर्क उनीहरूले दिएका छन् ।
सरकारले अवैध रूपमा नेपाल भित्रिने फोनलाई मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता गर्दैन । भ्याट बिल नहुँदा दर्ता गर्न पनि सकिँदैन । तर, फोन बिक्री गर्ने व्यापारीले भने केही फरक नपर्ने भन्दै ग्राहकलाई प्रलोभनमा पारेको देखिन्छ ।
फोन शतप्रतिशत आधिकारिक भएको, सिलप्याक अवस्थामै खरिद गर्न सकिने र एक वर्षसम्मको वारेन्टी उपलब्ध हुने आश्वासन दिइएको छ ।
नेपालका लागि एप्पलको एक मात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्टले हालसम्म आईफोन १६ भित्र्याइसकेको छैन । कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाका अनुसार दशैंअघि नेपालमा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
तर, फोन अवैध रूपमा बजारमा उपलब्ध हुन थालेपछि भिमसरियाले ग्राहकले सामना गर्नुपर्ने समस्या र सरकारले गुमाउने राजस्वबारे चिन्ता व्यक्त गरे । “यसलाई सरकारले रोक्नुपर्ने हो,” भिमसरियाले टेकपाना भने, “अवैध रूपमा फोन भित्रिंदा सरकाले करोडौं राजस्व गुमाउँछ । ग्राहकले पनि लाखौं मूल्य तिरेर अवैध फोन प्रयोग गर्दा धेरै समस्याको सामना गर्नुपर्छ ।”
खासगरी एमडीएमएसमा फोन दर्ता नहुने भएकाले जुनसुकै बेला फोनमा सिम सपोर्ट नहुने अवस्था आउने उनले सुनाए । भ्याट बिल नभएको फोन सेकेन्ड ह्यान्डमा बिक्री गर्दा पनि भने अनुसारको मूल्य नपाउने सम्भावना हुन्छ ।
भिमसरियाले अगाडि भने, “अवैध फोन बोक्ने मान्छे कुन बेला पक्राउ पर्छ भन्न सकिन्न । पक्राउपछि फोन त जान्छ नै, साथसाथै त्यति नै बराबरको बिगो पनि तिर्नुपर्छ ।”
आईफोन १६ आधिकारिक रूपमा उपलब्ध भइसकेपछि भ्याट बिल लिएर मात्र खरिद गर्न उनले सुझाव दिए ।