काठमाडौं । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै थिए, जुम्ल्याहा दाजुबहिनी दिपेश र दिपिका भट्टराई । पढाइमा उत्कृष्ट उनीहरूलाई विद्यालयले यस वर्ष एसईईमा ४ जीपीए ल्याउने दाबेदार विद्यार्थीका रूपमा हेरेको थियो । पढाइका अलावा उनीहरू हरेकजसो अतिरिक्त क्रियाकलापमा अब्बल थिए ।
केही समयअघि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ मा अनलाइनमार्फत उनीहरूले सहभागिता जनाएका थिए । त्यसमा पनि उत्कृष्ट भएका दाजुबहिनी देशलाई प्रतिनिधित्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड जुनियर २०२४ मा सहभागी हुन पाउने भए ।
छनोट भएपछि दिपेशले भनेका थिए, “देशलाई तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिनिधित्व गर्ने पाउने भएँ भन्ने खबर पाउनासाथै मैले आफ्नो खुसी थाम्नै सकिनँ । सम्मानित स्टेजलाई देशलाई प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो ।”
छनोट भएपछि दिपिका पनि उत्तिकै उत्साहित थिइन् । “रातहरू ताराहरूलाई कौतुहलताले हेरिरहने समयदेखि अहिले तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड-जुनियर २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएको यो यात्रा कुनै टाढाको सपना जस्तै लागेको छ,” उनले भनेकी थिइन्, “त्यो सपना अहिले पूरा भएको छ । आश्चर्यदेखि अवसरसम्मको यो यात्रा अविश्वसनीय रह्यो । र यस प्रतिष्ठित कार्यक्रममा सहभागी हुन पाउँदा म अत्यन्तै गौरवान्वित महसुस गरिरहेकी छु ।”
माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिएको थियो । उनीहरूका लागि ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने उक्त खगोल भौतिक ओलम्पियाड जुनियर २०२४ मा सहभागी हुनु ठूलो अवसर थियो । यता यति महत्त्वपूर्ण प्रतियोगितामा छनोट भएका भट्टराई दाजुबहिनीलाई विद्यालयले पनि बिदा दियो । यसपछि उनीहरू शुक्रबार बुटवलबाट काठमाडौं आउने भए ।
१८ देखि २३ असोजसम्म काठमाडौंमा ‘तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड जुनियर २०२४’ हुने तय भएको थियो । तर उनीहरू पहिल्यै काठमाडौं गएर आफन्तकहाँ बस्ने निधोमा पुगेका थिए । त्यही अनुरूप उनीहरू शुक्रबार आमा सीता भट्टराईसँगै लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा चढे । तर, उक्त माइक्रोबस धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पर्यो । र, पहिरोमा परेपछि १७ वर्षका यी जुम्ल्याहा दाजुबहिनी, उनीहरूकी आमा र त्यसमा सवार अन्य यात्रुहरू सधैंका लागि अस्ताए ।
नेपालका लागि महत्त्वपूर्ण कार्यक्रममा देशलाई प्रतिनिधित्व गर्ने दुई विद्यार्थी सधैंका लागि अस्ताएपछि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ र धादिङको धुनीबेसी नगरपालिका-९ को सीमानामा पर्ने झ्याप्ले खोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार यसमा ११ असोज बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएका थिए । त्यस्तै गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बसमा समेत क्षति पुगेको थियो ।
पहिरोमा पुरिएको विंगर जिपमा सवार आठ जना पुरुष, पाँच जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र चार जना महिला तथा बसमा सवार पाँच जना पुरुष यात्रु पहिरोमा पुरिएका थिए ।