काठमाडौं । एमोलेड स्क्रिन, ६००० एमएएच क्षमताको ब्याट्री, हेलियो जी९९ अल्टिमेट प्रोसेसर, डुअल स्पिकर अनि यस्तै यस्तै अन्य फिचरको साथमा आएको फोन हो, टेक्नो पोभा सिक्स (Tecno Pova 6) । कम्पनीले गेमिङ फोनको रूपमा बजारमा ल्याएको यो फोन कस्तो छ त, आज हामी यसैबारे चर्चा गर्ने छौं:
पहिले त तपाईंलाई यो फोनको डिजाइनले तान्छ । अब गेमिङ फोन भनिसकेपछि स्पोर्टी लुक्स छ नै, हेर्दा पनि भाइब्रेन्ट देखिन्छ । यसको ब्याक प्यानललाई कम्पनीले ‘मदरबोर्ड इन्पायर्ड’ डिजाइन भनेको छ । फोनलाई चार्जमा राख्दा ब्याक प्यानलमा एलईडी लाइट पनि बल्छ । जुन हेर्दा चित्ताकर्षक देखिन्छ ।
बिल्ट क्वालिटी ठीकै छ । ब्याक प्यानलमा दिइएको सूचनाले भने फोनलाई अलि भद्दा देखाएको महसुस हुन्छ । फोन ठूलो नै छ । किनकि यसमा ६.७८ इन्चको फुल एचडी र एमोलेड डिस्प्लेमा नै फिङ्गरप्रिन्ट दिइएको छ । सायद अलि ठूलो स्क्रिन भएर होला, एक हातले फोन चलाउन अलि गाह्रो नै हुने गर्छ ।
यसमा १२० हर्जको रिफ्रेस रेट छ भने १३०० निट्ससम्मको ब्राइटनेस दिइएको छ । यसले गर्दा फोनलाई कोठाभित्र अथवा बाहिर चलाउँदा केही समस्या हुँदैन ।
फोनको यूआई फरक लाग्न सक्छ । तर त्यसमा बानी हुन समय लाग्दैन । यो फोन एन्ड्रोइड १४ मा आधारित छ, जसमा टेक्नोको आफ्नै यूआई हाईओएस १४ प्रयोग भएको छ । फोनमा ६ नानोमिटरको मिडियाटेक हेलियो जी९९ अल्टिमेट प्रोसेसर पाउन सकिन्छ । यो सन् २०२२ मा सार्वजनिक भएको चिपसेट हो । यो गेमिङकै लागि उपयुक्त चिपसेट होइन । तर साधारण तरिकाले फोन चलाउन, साधारण गेम खेल्न, सामाजिक सञ्जाल चलाउन समस्या गराउँदैन । गेमिङ फोन भनिएको भएर प्रोसेसरको हकमा अझै राम्रो विकल्प राख्न सकिन्थ्यो ।
गेमिङ फोन भएकाले हामीले यसमा पब्जी, जेनसिन इम्प्याक्ट, आसफल्ट, कल अफ ड्युटी जस्ता गेम खेलिहेर्यौं । पब्जी खेल्दा स्मुथ नै महसुस भयो । तर गेमिङ फोन भने पनि एचडीआर ग्राफिक्स भने सपोर्ट गर्दो रहेनछ । पब्जी एचडी ग्राफिक्समा हाई फ्रेम रेटसम्म मात्र खेल्न मिल्छ । जुन सेटिङमा औसत ३० एफपीएस पाएका थियौ । त्यस्तै स्मुथ ग्राफिक्समा अल्ट्रा फ्रेम रेटमा खेल्दा औसत ४० एफपीएससम्म गेम खेल्न मिल्छ ।
फोनमा जाइरोस्कोप भएकाले गेम खेल्दा अनुभव राम्रो नै हुन्छ । जेनसिन इम्प्याक्ट भने सबैभन्दा कममा सेटिङमा मात्र राख्दा खेल्न मिल्दो रहेछ । जसमा औसत ५० एफपीएस पाउन सकिन्छ । तर ग्राफिक्सको गुणस्तर घटेको हुन्छ । कल अफ ड्युटी खेल्दा पनि राम्रै अनुभव भयो । यसमा लो ग्राफिक्स हाई फ्रेमरेट सेटिङमा औसतमा ४० एफपीएस आएको थियो ।
त्यस्तै हाम्रो अनुभवमा यो गेमिङ फोन भनिएता पनि हाई ग्राफिक्स र हाई एफपीएस भने पाउन मुस्किल नै छ । भर्खर गेम खेल्न सुरु गरेका र सबैखाले गेमको अनुभव लिन चाहनेका ‘इन्ट्री लेभल गेमर’को लागि भने यो फोन राम्रो विकल्प हुन सक्छ ।
त्यस्तै गेमिङको लागि यसमा लार्ज भीसी कुलिङ, हाई बुस्ट गेमिङ इन्जिन पनि दिइएको छ । जसको सहयोगबाट गेम खेल्दा एफपीएस हेर्ने तथा गेमिङ मोड परिवर्तन गर्न सकिन्छ । साथै स्मुथ तरिकाले गेम खेल्न सहयोगी अन्य थुप्रै सेटिङ पनि फोनमा रहेका छन् । उसैगरी फोनमा डल्बी अट्मस साउन्ड विथ स्टेरियो स्पिकर भएकाले सङ्गीत मन पराउने व्यक्तिहरूले पनि त्यसको मजा लिन सक्नुहुन्छ ।
यी त भए गेमिङको कुरा । अब कुरा गरौँ क्यामेराको ।
फोनमा डुअल क्यामेरा सेटअप पाउन सकिन्छ । जसमा मुख्य क्यामेरा १०८ मेगापिक्सेल र २ मेगापिक्सेलको डेप्थ सेन्सर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
तर १०८ मेगापिक्सेलको गुणस्तर अलि महसुस हुँदैन । फोनमा एआई क्याम छ भनिएको छ । जसले फोटोहरूलाई आफैं सम्पादन गरेर अलि भिन्न बनाइदिन्छ । फोनबाट सुपर नाइट मोडबाट पनि फोटो खिच्न सकिन्छ । यसबाहेक अन्य फोनहरूमा हुने आधारभूत फिचर नै यसमा दिइएको छ ।
भिडिओको कुरा गर्दा अरु फोनको फ्रन्ट र ब्याक क्यामेराबाट ३० एफपीएसमा टूके र ६० एफपीएसमा १०८० पिक्सेलसम्मको भिडिओ खिच्न सकिन्छ । तपाईंले अल्ट्रा स्टेजी अन गरेर भिडिओ खिच्न सक्नुहुन्छ । फोनले खिच्ने भिडिओको गुणस्तर ठीकै छ । यो फोन क्यामेरामुखी नभएकाले पनि फोनको क्यामेरालाई औसत नै मान्नु पर्ने हुन्छ ।
तपाईंले यो फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल फिचर पाउनुहुन्छ । यो फिचरको प्रयोगबाट घरमा भएका स्मार्ट टिभी, एसी, फ्यान तथा अन्य स्मार्ट डिभाइसहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ । त्यस्तै स्पेसल फङ्सन अन्तर्गत तपाईंले अर्को फिचर पनि देख्नुहुन्छ, डाइनामिक पोर्ट ।
यसलाई इनेबल गरे तपाईंले आईफोनमा हुने डाइनामिक आईल्यान्डको भाइब्स पाउन सक्नुहुन्छ । अर्को आकर्षक कुरा फोनमा 'इला' नामको च्याटजीपीटी एआई एसिस्टेन्ट पनि छ । जसलाई प्रयोग गरेर अनुच्छेदहरू सारसंक्षेप गर्ने, वाक्य गठन मिलाउने जस्ता काम गर्न सकिन्छ ।
ब्याट्रीको कुरा गर्दा फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जसलाई चार्ज गर्न ७० वाटको फास्ट चार्जर उपलब्ध गराइन्छ । एकचोटिको चार्जमा दिनभर गेम खेल्दा पनि ब्याट्रीको चिन्ता लिनु पर्दैन ।
त्यस्तै तपाईंले फोनलाई चार्जमा राख्दा लोअर टेम्प चार्ज, स्मार्ट चार्ज र हाइपर चार्ज गरी तीन ओटा विकल्प पाउनुहुन्छ । यिनका आ-आफ्नै विशेषता छन् । तपाईंले आफ्नो अनुकूलता र आवश्यकता हेरेर विकल्प छान्न सक्नुहुन्छ ।
फोनमा स्टोरेज २५६ जीबी दिइएको छ । र्याम १२ जीबी पाउन सकिन्छ । जसलाई भर्चुअल माध्यमबाट २४ जीबीसम्म बढाउन सकिन्छ । नेपालमा यो फोनको मूल्य ३४ हजार ९९० रुपैँया तोकिएको छ । यति तिरेपछि तपाईंले फोनमा १२ प्लस एक महिनाको वारेन्टी र १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी पनि पाउनुहुन्छ ।