close

तपाईंले ‘एनालग’ घडी नबाँधेको कति भयो ?

सापेक्ष सापेक्ष

असोज १९, २०८१ १६:४८

तपाईंले ‘एनालग’ घडी नबाँधेको कति भयो ?

कुनै समय हातमा घडी बाँधेर हिँड्नु प्रतिष्ठाको विषय थियो । जोकोहीले लगाउने अवस्था थिएन । इतिहासमा पुरुषहरूको गहनाको रूपमा घडीलाई लिने गरेको पाइन्छ । महिलाहरूले अन्य गरगहना लगाउँदा पुरुष भने घडीमा ठाँटिन खोज्थे ।

उमेर खाएका व्यक्तिहरूलाई हेर्दा यो कुरा महसुस गर्न सकिन्छ । खासमा घडी समय हेर्ने यन्त्र मात्र थिएन ।

हुन त मानव सभ्यताको विकाससँगै समयको मापन गर्ने प्रयासमा घडीको आविष्कार भएको थियो । १६औं शताब्दीमा आधुनिक घडीको विकास भएपछि समयलाई मापन गर्न सजिलो भयो । यसले गर्दा घडी विश्वव्यापी रूपमा लोकप्रिय हुन गयो । विशेषतः १९औं र २०औं शताब्दीमा रिस्टवाच (हातमा बाँध्ने घडी) प्रतिष्ठा र शैलीको प्रतीक बन्यो ।

त्यसबेला घडी उत्पादन गर्न अहिले जसरी सजिलो थिएन । धेरैजसो घडी बनाउने काममा मान्छेको हात नै चाहिन्थ्यो । जसले गर्दा स्वतः उत्पादन समय र खर्च बढी लाग्थ्यो । 

त्यसैले गर्दा घडी लगाउनु भनेको आफ्नो हैसियत र व्यक्तित्व देखाउने माध्यम हो भन्ने सोचाइ विकास हुन गयो । किनकि जो कसैले घडी किन्ने सामर्थ्य राख्थेनन् । धनीमानी र शाही खानदानका सदस्यले महँगो ब्रान्डका घडी लगाउने गर्नाले पनि त्यो सोचलाई बल पुर्‍याएको हो ।  

हाम्रै स्थानीय समाजमा घडी कति महत्त्वपूर्ण थियो भन्ने कुरा त विवाह समारोहले पनि पुष्टि गर्छ । कतै विशेष कार्यक्रममा जाँदा लगाउनु पर्ने आवश्यकताले बुझाउँछ । 

अहिले परिस्थिति फेरिएको छ । त्यस्तो ओज भएको घडी आज विस्थापित हुने अवस्थामा छ । कारण हो, स्मार्टफोन । 

किनकि अन्य कुरासँगै समय हेर्ने सुविधा स्मार्टफोनमा छ । सायद त्यो सुविधा स्मार्टफोनमा हुँदैन थियो त घडी अहिले पनि उत्तिकै महत्त्वको वस्तु हुन्थ्यो । पङ्क्तिकारले यो भनिरहँदा अहिले घडीको महत्त्व छैन भन्ने अर्थ दिएको होइन । बस् घडीको महत्त्व स्मार्टफोनमा सरेको छ ।

तर अहिले पनि धनाढ्यहरूबीच महँगो घडी किन्ने सोख देख्न सकिन्छ । अझ भनौं, फेसनका रूपमा घडी देखिन थालेको छ । 

जेनजी पुस्ता घडीको रवाफ घटेको देख्ने साक्षी बनेका छन् । पङ्क्तिकारले पनि जेनजी पुस्ताको प्रतिनिधित्व गर्छ । यो पुस्ताका लागि महँगो घडी लगाउनुको साटो महँगो स्मार्टफोन बोक्नु बढी गर्विलो भइदिन गयो । 

हुन त प्रविधिमा आएको क्रान्तिले जेनजी मात्र होइन, हरेक पुस्तालाई प्रभाव पारेको छ । प्रौढ हुन् कि बालक, सबैलाई मोबाइल फोन चाहिन्छ । कारण यही हो, घडी र मानिसको सम्बन्धमा दरार आउनुको ।

जसरी घडी भन्नासाथ पहिले नाडी हेर्ने दृश्य सोचिन्थ्यो, त्यो अब मोबाइलमा ट्याप गर्नेमा बदलिएको छ । नतिजा एउटै हो, समयबारे जानकारी लिने । फरक छ त वस्तु । तर स्मार्टफोनसामु घडीको महत्त्व कम भइदियो ।

स्मार्टफोनबाट समयबारे जानकारी लिनेसँगै अन्य धेरै काम गर्न सम्भव भएपछि समय हेर्न मात्र घडी लगाउनु पर्ने आवश्यकता रहेन । यसअघि घडीमा जे जे थियो, सबै स्मार्टफोनमा आए । अझ ती भन्दा धेरै कुरा आए ।

यद्यपि डिजिटल अर्थात् स्मार्टवाचको आगमनले घडी लगाउने बानीलाई केही मात्रामा पुनर्जीवित गरेको छ । स्मार्टवाचहरूले घडीको परम्परागत काम गर्नुका साथै स्वास्थ्यबारे महत्त्वपूर्ण जानकारी दिने गर्छन् । अझ स्मार्टफोनसँग एकीकृत गर्न सकिने भएकाले स्मार्टवाचबाटै स्मार्टफोनका कतिपय काम गर्न सकिन्छ । 

तर यसमा एनालग घडीको भाव आउँदैन । पहिले जसरी घडीको प्रतिष्ठा स्मार्टफोनले फर्काउन सक्दैन । केवल प्रविधिप्रेमी र फिटनेसमा ध्यान दिनेहरूले स्मार्टवाच लगाउने गर्छन् । 

पङ्क्तिकार स्वयं घडी लगाउँदैन । कारण घडी लगाउने रहर र बाध्यता नहुनु हो । अनि घडी लगाउँदा अलि बोझ महसुस हुनु । उदाहरण, घडी लगाउने बानी भए यो लेख टाइप गर्न पनि असहज लाग्थ्यो । 

यी सबै कुरालाई यसरी बुझौं, छुटिसकेको प्रेम पहिलेको एनालग घडी हो भने अहिलेको वर्तमान प्रेम स्मार्टफोन । अनि अलिअलि कसैलाई मन पराउन थालेको प्रेम स्मार्टवाच । 

आखिर प्रेमको भाव त सदाबहार उही हुन्छ । जसरी एनालग घडी, स्मार्टवाच र स्मार्टफोनमा हेर्ने समय समय उही हो ।

अब जेनजी र त्यसपछि आउने भावी पुस्ताको हातमा घडीको भविष्य कस्तो हुन्छ भन्ने कुरा गइसकेको छ । तर सायद पहिले जसरी घडीको प्रतिष्ठा जनमानसमा गहिरोगरी पस्न सक्दैन । आखिर घडीको प्रतिष्ठाले सगरमाथा आरोहण गरिसकेको छ ।

आउँदा दिनमा आफूलाई अलग र विशिष्ट देखाउन कसैले घडी लगाइदिए जस्तो गर्न सक्छन् । फेसनको रूपमा क्षणिक समय लगाउन सक्छन् । यसले महँगो ब्रान्डका घडीहरूलाई अझै जीवन्त राख्न सक्ला । 

बरु स्मार्टवाचले सगरमाथा चढ्ला । अरू नयाँ विकल्प आउलान् । जे होस् घडी सधैं फेसन र सामाजिक पहिचानको प्रतीकका रूपमा बाँच्ने निश्चित छ । यसकारण यदि तपाईं घडीप्रेमी हुनुहुन्छ भने यसको भविष्यबारे चिन्ता लिनु पर्दैन ।

आखिर मानिसलाई नचाहिने चिज कालान्तरमा स्वतः हराउँदै जाने निश्चित छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ १७:४४