काठमाडौं । आगामी मंसिर १० देखि १४ गतेसम्म पोखरामा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)को दशौं संस्करण आयोजना हुने भएको छ । नेटवर्किङ तथा आईसीटी क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्ने उद्देश्यसहित कार्यशाला र सम्मेलन हुने लागेको हो ।
कार्यशालामा सम्बन्धित क्षेत्रका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुनेछ । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला गर्न लागिएको आयोजकको भनाइ छ ।
चार दिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स्ड राउटिङ सम्बन्धी विधाहरू एपनिक (APNIC) बाट र 'Introduction to Containerization' सम्बन्धी विधा एनपीनोगका प्रशिक्षकहरूबाट उपलब्ध गराइनेछ ।
यस वर्षको पाठ्यक्रम सामग्री हालको नेटवर्क तथा सिस्टम इन्जिनियरहरूको मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको आयोजकले जनाएको छ ।
चार दिने कार्यशालापछि १४ मंसिरमा एक दिवसीय सम्मेलन आयोजना गरिनेछ ।
एनपीनोगको सहआयोजकमा इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) रहेको छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का साथै विभिन्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नेछन् ।
एनपीआईएक्स, आईस्पान), एनआरईएन का सदस्यहरूलाई रजिस्ट्रेसनमा २० प्रतिशत छुट दिइएको छ । आईसीटी क्षेत्रमा समावेशिता र सहभागिता बढाउन एनपीनोगले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था समेत गरेको छ । जसअन्तर्गत महिला सहभागीलाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति सुरक्षित गरिएको छ ।
इच्छुक व्यक्तिले यहाँ क्लिक गरी अनलाइन रजिस्ट्रेसन गर्न सक्नेछन् ।