close

ट्रम्पको जितसँगै मस्कको सम्पत्तिमा एकै दिन २८ खर्ब वृद्धि, नेपालको बजेटभन्दा ५२ प्रतिशत बढी !

टेकपाना टेकपाना

कात्तिक २२, २०८१ ११:४७

ट्रम्पको जितसँगै मस्कको सम्पत्तिमा एकै दिन २८ खर्ब वृद्धि, नेपालको बजेटभन्दा ५२ प्रतिशत बढी !

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जितसँगै अर्बपति उद्यमी एलन मस्कलाई ठूलो आर्थिक फाइदा पुगेको छ । ट्रम्पको जितपछि मस्कको सम्पत्ति एकै दिन २०.९ अर्ब डलर (करिब २८ खर्ब २५ अर्ब रुपैयाँ)ले वृद्धि भएको हो ।

बुधवार मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमूल्य बुधबार एकै दिन १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसको अर्थ कम्पनीको कूल भ्यालुएसनमा १२० अर्ब डलर थपिएको छ । टेस्लाको शेयर आकाशिएसँगै मस्कको सम्पत्ति २०.९ अर्ब डलरले बढेर २८५.६ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसको तुलनामा मस्कको एक दिनमै बढेको सम्पत्ति ५२.४२ प्रतिशत बढी हो ।

लामो समयदेखि मस्क विश्वका धनाढ्यको शीर्ष स्थानमै छन् । २२३.५ अर्ब डलर सम्पत्तिका साथ ईकमर्श प्लेटफर्म अमेजनका मालिक जेफ बेजस दोस्रो स्थानमा छन् । त्यस्तै ओराकलका ल्यारी इलिसन तेस्रोमा र मेटाका मार्क जुकरबर्ग चौथो स्थानमा छन् ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पक्का भइसकेपछि उनले समर्थकको नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा ट्रम्पले मस्कको खुलेर प्रशंसा पनि गरेका थिए । मस्कको स्पेस कम्पनी स्पेसएक्सले नयाँ विश्वलाई नयाँ युगमा प्रवेश गराएको समेत प्रतिक्रिया दिएका थिए । 

मस्कले अब ट्रम्पसँग स्थापित सम्बन्धको फाइदा अटो, स्पेस, स्वास्थ्य, निर्माण र एआई क्षेत्रमा कसरी उठाउँछन् हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८१ ११:५५