close

ह्वाट्सएपमा बिहेको कार्ड पाउनुभयो ? फोन ह्याक होला !

टेकपाना टेकपाना

कात्तिक २९, २०८१ १४:५

ह्वाट्सएपमा बिहेको कार्ड पाउनुभयो ? फोन ह्याक होला !

काठमाडौं । यसपालि मङ्सिरमा बिहेका लागि एक दिन मात्र लगन छ भनिएको छ । त्यसैलाई मध्यनजर गर्दै धेरैले आफ्नो बिहेको निमन्त्रणा कार्ड फोटो वा फाइलका रूपमा पठाइरहेका हुन्छन् । अनलाइन माध्यमबाट निमन्त्रणा कार्ड पठाउँदा एक त समय बचत हुन्छ । अर्कोतर्फ खर्च पनि कम लाग्छ । बिहेको निम्तो दिने शैली फेरिएको छ भन्दा फरक नपर्ला । यही तरिकालाई ह्याकरले आक्रमणको नयाँ शैलीका रूपमा विकास गरेका छन् । 

यस्तो घटना हाम्रो छिमेकी मुलुक भारतमा दिनानुदिन बढ्दै गइरहेको छ । ह्वाट्सएपबाट बिहेको निमन्त्रणा कार्ड पठाउने र त्यसैको सहायताले फोन वा कम्प्युटरमा आक्रमण गर्ने गरेको देखिएको छ । खासगरी मान्छेको व्यक्तिगत तथा संवेदनशील जानकारी चोरी गर्न यो शैलीको व्यापक प्रयोग भइरहेको छ । 

हिमाचल प्रदेश प्रहरीले न्युज १८ लाई दिएको जानकारी अनुसार सबैभन्दा पहिले ह्याकरले सर्वसाधारणलाई ह्वाट्सएप नम्बरमा निमन्त्रणा पठाउँछन् । त्यस्तो निमन्त्रणा उनीहरूले एपीके (.apk) फाइलका रूपमा पठाएका हुन्छन् । यस्तो कार्ड देखेपछि सर्वसाधारण फाइलमा क्लिक गरी डाउनलोड गर्छन् । त्यसरी निमन्त्रणा कार्ड डाउनलोड गर्नासाथ उनीहरूको फोनमा मालवेयर प्रवेश गर्छ । 

यो यस्तो किसिमको मालवेयर हो, जसले साइबर आक्रमणकारीलाई फोनको सबै पहुँच दिन्छ । एक पटक मालवेयर एक्टिभेट गरिसकेपछि ह्याकरले प्रयोगकर्ताको फोन आफ्नो पहुँचमा लिन्छन् अरूलाई त्यस्तै बिहेको निम्तो दिन प्रयोग गर्छन् । त्यति मात्र नभई उनीहरूले प्रयोगकर्ताको अनुमति बिनै व्यक्तिगत जानकारी र बैङ्कमा भएको खाता पनि रित्याइदिने प्रहरी अधिकारीले बताएका छन् । 

यस्तो स्क्यामले कसरी काम गर्छ ? 

सबैभन्दा पहिले एउटा नम्बरबाट विभिन्न ह्वाट्सएप नम्बरमा निमन्त्रणा कार्ड पठाइन्छ । निमन्त्रणा कार्ड फाइल अट्याचमेन्टका रूपमा पठाइएको हुन्छ । अर्थात् उक्त फाइलमा क्लिक नगरेसम्म त्यस फाइलमा केके  छ भन्ने थाहा हुँदैन । कार्डमा के विवरण छ भन्ने हेर्न मेसेज पाउने व्यक्ति फाइलमा क्लिक गरी डाउनलोड गर्छन् ।

वास्तवमा उक्त फाइल खतरनाक एपीके (.‍apk) भर्सनमा पठाइएको हुन्छ । यो फाइल डाउनलोड गर्नासाथ गोप्य रूपमा प्रयोगकर्ताको डिभाइसमा इन्स्टल हुन्छ । एक पटक डाउनलोड भइसकेपछि ह्याकरले फोन नियन्त्रणमा लिएर चाहे अनुसार डिभाइसबाट डेटा चोरी गर्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८१ १४:२९