काठमाडौं । सूचना प्रविधि (आईटी) अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विभिन्न प्राविधिक काम गर्न आवश्यक पर्ने उपकरण हो, ल्यापटप । उदाहरणका लागि- प्रोग्रामिङ, ग्राफिक्स डिजाइन, डेटा एनालिसिस तथा अन्य कम्प्युटिङ गतिविधि आदि । यी काम प्रभावकारी रूपमा गर्न उपयुक्तल्यापटप हुनु पनि उतिकै आवश्यक छ ।
यदि मुख्य काम गर्ने ल्यापटप नै नराम्रो भए सम्पूर्ण काममा अवरोध पुग्छ । यसकारण ल्यापटप खरिद गर्दा तपाईंले आफ्नो आवश्यकतालाई पूरा गर्ने विशेषता भएको ल्यापटप लिनु पर्ने हुन्छ ।
आज हामी ल्यापटपको मोडल विशेष नभई आईटीका विद्यार्थीका लागि ल्यापटप किन्दा हुनुपर्ने आधारभूत आवश्यकता तथा विशेषताबारे चर्चा गर्ने छौं:
प्रोसेसर
आईटी विद्यार्थीले चलाउने सफ्टवेयरहरू प्रायः धेरै शक्ति र क्षमताका हुन्छन् । तिनलाई चलाउन कोर आईफाइभ (i5) वा राइजन फाइभ (ryzen 5) जस्ता मध्यस्तरीय प्रोसेसर भए काम त हुन्छ । तर जटिल खालका काम गर्न उच्च क्षमताको प्रोसेसर नै चाहिन्छ । त्यस्तोमा कोर आईसेभेन (i7) वा राइजन सेभेन (ryzen 7) भन्दा माथिल्लो पुस्ताको प्रोसेसर लिनु उपयुक्त हुन्छ ।
र्याम
कुनै पनि आईटी विद्यार्थीको ल्यापटपमा कम्तीमा १६ जीबी र्याम भएको राम्रो हुन्छ । यतिको र्याम हुँदा ग्राफिक्स डिजाइन, भिडिओ एडिटिङ लगायत एकैसाथ धेरै सफ्टवेयर चलाउने काम सहज हुन्छ । तर यदि बजेट कम छ भने ८ जीबी र्याम न्यूनतम हुनैपर्छ ।
स्टोरेज
आजकल ल्यापटपमा एसएसडी (सोलिड स्टेड ड्राइभ) अनिवार्य जस्तै भइसकेको छ । किनकि यसले ल्यापटपलाई छिटो र चुस्त बनाउँछ । यसकारण कम्तीमा ५१२ जीबी एसएसडी भएको ल्यापटप रोज्नु राम्रो हुन्छ । यदि ल्यापटपमा धेरै डेटा राख्ने हो भने एसएसडीसँगै एचडीडी (हार्ड डिक्स ड्राइभ) राख्न पनि सकिन्छ ।
ग्राफिक्स कार्ड
आईटी विद्यार्थीले प्रोग्रामिङ मात्र गर्छन् भन्ने पनि छैन । उनीहरूले ग्राफिक्स डिजाइन, थ्रीडी मोडलिङ वा गेम डेभलपमेन्ट जस्ता काम पनि गर्न सक्छन् । ती कामका लागि डेडिकेटेड जीपीयू (ग्राफिक्स प्रोसेसिङ यूनिट) आवश्यक पर्छ । सामान्यत: ४ जीबी भीर्याम भएको मिडरेन्ज जीपीयूले काम हुन्छ । तर उच्च स्तरका कामका लागि थप क्षमतायुक्त जीपीयू लिनु राम्रो हुन्छ ।
स्क्रिन रेजोलुसन र साइज
सानो र कम रेजोलुसन भएको स्क्रिनमा काम गर्न मज्जा आउँदैन । यसकारण स्क्रिनको रेजोलुसन कम्तिमा फुल एचडी (१९२०x१०८०) हुनुपर्छ । ग्राफिक्स डिजाइनका लागि भने कलर एक्युरेसी राम्रो भएका आईपीएस प्यानल सहितका स्क्रिन उपयुक्त हुन्छन् । सामान्यत: ल्यापटपको १४ देखि १५.६ इन्चको साइज राम्रो हुन्छ ।
ब्याट्री लाइफ
यी माथिका सबै विशेषता भएपनि ब्याट्री टिक्दैन भने काम गराई झ्याउ हुन्छ । त्यसमाथि प्रायः आईटी विद्यार्थीहरू लामो समयसम्म ल्यापटप प्रयोग गर्छन् । त्यसैले पनि कम्तीमा ६ घण्टाको ब्याट्री लाइफ भएको ल्यापटप लिनु उपयुक्त हुन्छ ।
कनेक्टिभिटी पोर्ट
अध्ययन अथवा कामका सिलसिलामा विद्यार्थीले विभिन्न उपकरण र एक्सेसरिजसँग ल्यापटप जोड्नुपर्ने हुन्छ । त्यसैले यूएसबी ३.०, यूएसबी सी, एचडीएमआई, इथरनेट पोर्ट लगायतका विकल्प भएका ल्यापटप लिँदा पछि काममा धेरै सहयोग हुन्छ ।
वजन र सहजता
आईटी विद्यार्थीले ल्यापटपलाई कलेजमा मात्रै नभई अन्य ठाउँमा पनि लैजानु पर्ने हुन सक्छ । त्यसैले केही हल्का र बोक्न सजिलो ल्यापटप लिँदा राम्रो हुन्छ । राम्रो भन्दैमा बोकेर हिँड्न असहज हुने ल्यापटप लिनु त्यति व्यवहारिक हुँदैन ।
यी त मुख्य कुरा भए । तर यससँगै विद्यार्थीले अन्य सहायक डिभाइसहरूको छनोटमा पनि ध्यान दिनुपर्ने हुन्छ । मूलत: त्यस्ता डिभाइसहरूमा किबोर्ड, माउस, हेडफोन/इयरफोन आदि पर्छन् ।
मूल्य
हाल नेपाली बजारमा एप्पल, डेल, एसुस, एचपी, एसर, लेनोभो, एमएसआई जस्ता ब्रान्डका ल्यापटप उपलब्ध छन् । माथि उल्लिखित स्पेसिफिकेसनका ल्यापटपहरूको मूल्य ब्रान्ड अनुसार फरक-फरक रहेको छ ।
विशेषगरी ल्यापटप सार्वजनिक भएको मिति, निर्यात गरेको देश, बिक्रेता, सेल्स आफ्टर सर्भिस आदिका कारण मूल्य भिन्न हुन्छन् । यदि आईटी विद्यार्थीका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने विभिन्न ब्रान्ड र बिक्रेताको मूल्य बुझ्न जरुरी छ ।
दराज, हुकुट, मुडिटा स्टोर, नियोस्टोर, अलाम टेक जस्ता अनलाइन प्लेटफर्ममा ती स्पेसिफिकेसन राखेर हेर्दा ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका ल्यापटप नेपाली बजारमा उपलब्ध छन् । तपाईँले आफ्नो बजेट अनुसार उपयुक्त ल्यापटप किन्न सक्नुहुन्छ ।