काठमाडौं । सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको यस सर्भिस सेन्टरले सीजी मोटर्सले विक्री वितरण गर्दै आएको आयोन, एक्सपेङ, नेटा, रिडारा, डायुनलगायतका ईभी ब्रान्डहरूलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो काठमाडौंमा सीजी मोटर्सले सञ्चालनमा ल्याएको दोस्रो ईभी सर्भिस सेन्टर हो ।
यससँगै च्यानल पार्टनरहरूलाई समेटेर सीजी मोटर्सले काठमाडौंमा चार ओटा ईभी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार उद्घाटन गरिएको बागडोलस्थित ईभी सेन्टरको उद्घाटन सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले गरेका थिए ।
सो अवसरमा बोल्दै चौधरीले ईभी तथा अन्य गाडीहरूको सर्भिसलाई गुणस्तरीय बनाउन सीजी मोटर्स प्रतिबद्ध रहेको बताए । पछिल्लो समय सीजी मोटर्सले ईभी सेगमेन्टमा आक्रामक रूपमा बजार विस्तारको रणनीति अपनाएको छ ।
हालसम्म विभिन्न २२ स्थानबाट ईभी वितरण गर्दै आएको सीजी मोटर्सले चार्जिङ पोइन्टहरूमा समेत लगानी विस्तार गरिरहेको छ । कम्पनीले हालसम्म २०० भन्दा बढी सीसीएस-२ र जिबिटी चार्जिङ पोइन्ट जडान गरिसकेको छ भने थप १०० चार्जिङ पोइन्ट जडान गर्ने योजना रहेको जनाएको छ ।