close

सबै लगानी आफैंले गर्नेगरी एलन मस्कको स्टारलिंक नेपाल आउन पाउँदैनः सञ्चारमन्त्री गुरुङ

टेकपाना टेकपाना

मंसिर ११, २०८१ १८:४

सबै लगानी आफैंले गर्नेगरी एलन मस्कको स्टारलिंक नेपाल आउन पाउँदैनः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्व धनाढ्य एलन मस्कको कम्पनी स्टारलिंकको स्याटलाइट इन्टरनेट नेपालमा त्यति सजिलै नआउने बताएका छन् । नेपालमा स्टारलिंक आउने चर्चा चुलिएको बेला मन्त्री गुरुङले एक टेलिभिजन कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । 

मन्त्री गुरुङका अनुसार मस्कको कम्पनीका उपाध्यक्ष केही समयअघि उनलाई भेट्न नेपाल आएका थिए ।  त्यस क्रममा आफूले नेपालको ऐन, कानुन अनुसार आउनुस् भनेर बताएको उनले सुनाए ।

स्टारलिङ्कले नेपालमा पहाडैपहाड रहेको र ती सबै ठाउँमा इन्टरनेट पुर्‍याउन आफ्नो प्रविधि सक्षम रहेको उल्लेख गरेको थियो । “हामी यहाँ काम गर्न चाहन्छौं भनेका थिए,” मन्त्री गुरुङले भनेका छन्, “ऊ त व्यापारी हो । व्यापारीले आफ्नो कुरा गर्ने हो । त्यो त के ठूलो कुरो भयो र ! यदि ऐन कानुनले मान्छ भने पनि दिने कि नदिने भन्ने कुरा त हाम्रै हातमा हुन्छ ।” 

उनले आफूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एलन मस्कसँग भिडिओ कलमा कुराकानी गरेको कुरा सुनेको बताए । तर कुनै कम्पनी नेपालमा आउने वा नआउने भन्ने कुरा यति धेरै चर्चा भएको विषयमा भने उनले उल्टै प्रश्न गरेका छन् ।

“प्रधानमन्त्री स्वयंले हाम्रो आफ्नै भू-उपग्रह हुने बताइरहनु भएको छ । फेरि अहिले पनि हामीले इन्टरनेट त अरू कसैबाट किनिरहेका छौं,” मन्त्री गुरुङले भनेका छन्, “आफ्नै स्याटलाइट पनि हुनुपर्छ भन्ने होला । होइन स्याटलाइट महँगो हुन्छ पनि भन्छन् । आफ्नोपनको, आफ्नो अस्तित्वको, आफ्नो सार्वभौमिकताको कुरा नगरेर व्यापारिक स्वार्थको मात्र कुरा गर्नेको यहाँ कमी छैन ।”  

नेपालको कानुन अनुसार दूरसञ्चार तथा इन्टरनेट सेवामा अधिकतम विदेशी लगानी ८० प्रतिशत र बाँकी कम्तीमा २० प्रतिशत स्थानीय हुनुपर्छ । यस्तोमा शतप्रतिशत लगानीका साथ स्टारलिंक नेपाल आउन सम्भव नै नरहेको जवाफ आफूले दिएको मन्त्री गुरुङले सुनाएका छन् । 

त्यस्तै उनले स्टारलिंकको टिमलाई एक पटक भेटेपनि आफ्नो टेबलसम्म कुरा भने नआएको बताए । “यदि ऐन कानुन अनुसार हुन्छ भने मैले प्रधानमन्त्रीलाई सोध्नुपर्छ होला, अनि र क्याबिनेटले पनि निर्णय गर्नुपर्छ । त्यसमा मैले मात्र काम गरेर हुने कुरा पनि छैन,” उनले भनेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८१ १८:९