काठमाडौं । राइड शेयरिङ एप पठाओमा आफैंले छुट कमाउने सुविधा छ । पठाओमा भएको यो फिचरको नाम हो, पठाओ पोइन्ट्स् । छुट सहित राइड शेयरिङ एप चढ्न मन पराउनेका लागि यो फिचर उत्तम हुन्छ भन्दा फरक पर्दैन । यसले तपाईंको प्रत्येक खर्चलाई लोयल्टी पोइन्ट्समा परिणत गर्छ ।
के हो पठाओ पोइन्ट्स् ?
कम्पनीका अनुसार पठाओ पोइन्ट्स् लोयल्टी प्रोग्राम हो । यसअन्तर्गत प्रयोगकर्ताले जति धेरै यात्रा (बाइक/कार), खाना, पार्सल अथवा अन्य सेवाहरूमा खर्च गर्छन्, त्यति नै धेरै पोइन्ट्स पाउँछन् । अहिलेका लागि पठाओले खर्चको १० प्रतिशत अंक दिने गरेको छ । उदाहरणका लागि, यदि तपाईंले १० रुपैयाँ एपमार्फत खर्च गर्नु भयो भने पठाओ पोइन्ट १ पाउनुहुन्छ ।
छुट कसरी पाउने ?
तपाईंले थाहा पाइहाल्नु भयो- खर्च गरे अनुसार पठाओमा पोइन्ट्स् पाइन्छ । कुनै सेवा प्रयोग गरेबापत कति पोइन्ट्स् आयो भन्ने कुरा भुक्तानी गर्दा तपाईंले तत्कालै नोटिफिकेसनमार्फत हेर्न सक्नुहुन्छ । यसरी जम्मा भएको पोइन्ट्स पठाओ एपमा प्रोफाइल छेवैमा देखिन्छ ।
अब छुटमा पाउन त्यसमा ट्याप गर्नुहोस् । अब नयाँ पेजमा तपाईंले आफ्नो पोइन्ट्स अनुसारको छुट देख्न सक्नुहुन्छ । यसमा ७५ पोइन्ट्स हुँदा बाइक राइडमा १५ रुपैयाँ छुट, १२५ पोइन्ट्स हुँदा २५ रुपैयाँ छुट पाइन्छ । २०० पोइन्ट्स हुँदा कार लाइटमा ५० रुपैयाँ छुट, २५० पोइन्ट्स हुँदा ५० रुपैयाँ छुट पाइन्छ । यसैगरी १५०० पोइन्ट्स हुँदा ३०० रुपैयाँसम्म छुट पाउन सकिन्छ ।
यदि छुटका लागि तपाईंको पोइन्ट्स पुगेको छ भने पोइन्ट्स रातो पृष्ठभूमिमा देखिन्छ । अब त्यसमा क्लिक गर्नुहोस् । अब नयाँ पेजमा तपाईंले सबैभन्दा तल दायाँ भागमा ‘रिडिम’ देख्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
यति गरेपछि तपाईंले अर्को राइड लिँदा उक्त प्रोमो कोड प्रयोग गर्न सक्नुहुन्छ । सम्झनुपर्ने कुरा के छ भने उक्त छुट निश्चित समयपछि स्वतः निष्क्रिय हुन्छ ।
त्यस्तै जति पोइन्ट्स् सङ्कलन गर्दै जानुहुन्छ त्यति नै तपाईंको लेभल समेत बढ्दै जान्छ । पठाओमा प्रयोगकर्ताको लेभल ब्रोन्जबाट सुरु भएर प्लाटिनमसम्म पुग्छ । त्यसमा पुग्न निम्न पोइन्ट्स् चाहिन्छ:
ब्रोन्ज: ०+ पोइन्ट्स्
सिल्भर: २,५००+ पोइन्ट्स्
गोल्ड: १०,०००+ पोइन्ट्स्
प्लाटिनम: २०,०००+ पोइन्ट्स्
धेरै पोइन्ट्स भएका प्रयोगकर्तालाई पठाओले छुट बाहेक अन्य विशेष अफर पनि दिने बताएको छ । यसकारण विशेष परिस्थितिमा मात्र तपाईंले यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ ।