काठमाडौं । सन् २०१० तिर भर्खर एसएलसी दिएर बसेकी अनुपमालाई कसैले सुनाइदियो, नेपालमा चार्टड अकाउन्टेड (सीए) को स्कोप राम्रो छ । त्यतिबेलासम्म देशभर जम्मा ४-५ सय मात्रै सीए थिए रे । पढाइ राम्रै भएकी अनुपमालाई त्यसपछि सीए बन्ने हुटहुटी जाग्यो । सीए बन्छु भनेर निर्णय लिनु अगाडि उनलाई लाग्थ्यो, ‘म अभिनय पनि राम्रै गर्छु’ । टिभीमा देखिएका अनेकन् पात्रहरूलाई हेर्दै उनी एकान्तमा उनीहरूको नक्कल गर्थिन् । भर्खर आएको सोनी एरिक्सन फोनमा आफ्नै अभिनय कैद गर्थिन् अनि नजिकका साथीहरूलाई देखाउँथिन् ।
आफूसमेत संस्थापक रहेको बानेश्वरस्थित ब्राइट एकेडेमीको कार्यकक्षमा बसेर उनले पुराना दिन सम्झिइन् । "मलाई क्यामेरा प्रतिको मोह सानैदेखि थियो । तर यो पनि एउटा राम्रो 'करियर' अप्सन बन्न सक्छ भन्ने परिपक्वता भने थिएन त्यो बेला । त्यसैले पहिला पढाइ सक्छु अनि मात्र यो प्यासनको फिल्ड एक्स्प्लोर गर्छु भन्ने लाग्थ्यो ।"
प्लस टु म्यानेजमेन्ट पढी सकेपछि उनको सीए यात्रा सुरु भयो । त्यतिञ्जेलसम्म फोनको क्यामेरामा आफूलाई उन्मुक्त अभिव्यक्त गरिरहेकी अनुपमाको सीएको पढाइ सुरु भएसँगै फोनसँगको दुरी बढ्न थाल्यो । फोन र सामाजिक सञ्जालसँगको सामीप्यता हट्यो । उनी भन्छिन् " सीए पढ्ने बेलासम्म त मैले फोन नै चलाइन भन्दा पनि हुन्छ । त्यसमा भिडिओ बनाउने, सोसल मिडियाका नयाँनयाँ फिचर र टुल प्रयोग गर्ने, पोस्ट गर्ने त समय नै हुँदैन थ्यो ।"
भारतीय बोर्डको सीए अध्ययन गरिरहेकी अनुपमाले नेपालमा पढाइ सकेपछि इनर्नशिप र सीएको अन्तिम वर्षको पढाइ पुरा गर्न भारत नै जानुपर्ने भयो । उनी तीन वर्षको लागि भारतको दिल्ली हानिइन् । वर्तमानलाई सहर्ष स्वीकार गर्ने र भविष्यको लागि आशावादी भइरहने स्वभावकी उनको तीन वर्षे दिल्ली बसाई अत्यन्तै व्यस्त रह्यो । ६ बजेदेखि १० बजेसम्मको क्लास, ९ देखि अफिस ( इन्ट्रनशिप) । अन्तिम कक्षा छोडेर हतार हतार अफिस । बेलुकी ९-९:३० मा घर पुग्दा त उनलाई लाग्थ्योः अहो ! आज त चाँडै घर फर्किइयो । दिल्ली बसाइको तीन वर्षका हरेक दिनको दैनिकी सम्भवतः यही नै हो, अनुपमाको ।
सीए बन्नकै लागि यति धेरै सङ्घर्ष गरिरहँदा पनि उनलाई लाग्थ्यो- पढाइ सकेपछि एक पटक त अभिनय क्षेत्रलाई एक्स्प्लोर गर्छु । उनी तीन वर्ष भारत बसेर सन् २०१८ मा नेपाल फर्किइन् ।
टिकटकमा कन्टेन्ट क्रियसन
नेपाल फर्किएपछि भने उनलाई सामाजिक सञ्जाल चलाउने फुर्सद मिल्न थाल्यो । फिल्मका डाइलग र गीतहरूमा लिप सिंक गर्न मिल्ने प्लेटफर्म टिकटक त्यतिबेला निकै चर्चामा थियो । अनुपमाले पनि फिल्मका डाइलग र गीतमा लिप सिंक गरेर भिडिओ बनाउँन थालिन् ।
भिडिओमा आफूलाई अभिव्यक्त पार्न उनलाई त्यति धेरै समय लागेन । किन कि त्यो त उनको सीए पढ्न जानु अघिको प्यासन थियो । तर ती भिडिओ सार्वजनिक गर्ने आँट भने उनमा पलाउन सकेन । उनी भन्छिन्, " मैले लिप सिंक गरेर भिडिओ बनाउन थालेँ । म आफैँलाई तीँ भिडिओ मन पनि परेका थिए । तर पब्लिश गर्ने आँट नै आएन । आँट भन्दा पनि लाज लाग्यो । मेरो यो पाटो बारे मेरै घरका सदस्यलाई पनि थाह थिएन । त्यसैले भिडिओ बनाउने अनि ड्राफ्टमा राख्ने गर्न थालेँ । "
त्यतिबेला उनी मुकुल भट्टसँग प्रेम सम्बन्धमा थिईन । मुकुल पनि पेसाले सीए नै हुन् । लाज लागेर सामाजिक सञ्जालमा पोस्ट नगरिएका ती भिडिओ उनले प्रेमी (श्रीमान्) मुकुलसँग शेयर गर्थिन् । मुकुलले उनलाई ती भिडिओ सामाजिक सञ्जालमा राख्न प्रेरित गरिरहन्थे । मुकुलकै आग्रह र प्रेरणाले उनले ड्राफ्टमा राखेका भिडिओहरू टिकटक र फेसबुकमा शेयर गर्न थालिन् ।
अनुपमाको टिकटक अकाउन्टमा गएर हेर्ने हो उनले पहिला पोस्ट गरेका भिडिओहरूमा प्रायः गीत वा फिल्मी डाइलगमा लिपसिंक गरिएको देख्न सकिन्छ । यो सन् २०२१ तिरको कुरा हो । त्यति बेलासम्म उनी टिकटक कन्टेन्ट क्रियटर बनिसकेकी थिइन् । तर इन्फ्लुयन्सरको यात्रा सुरु भइसकेको भने थिएन ।
त्यो ट्रेन्ड, जसले अनुपमालाई इन्फ्लुयन्सर बनायो
टिकटकमा अनेकन् ट्रेन्ड चलिरहन्छन् । त्यतिबेला पनि एउटा ट्रेन्ड चलेको थियोः "शो योर शेल्फ एन्ड शो योर प्रोफेसन ।”
जसमा आफ्ना व्यक्तिगत जीवनका केही तस्विर र व्यवसायिक जीवनका केही तस्विर शेयर गर्ने गरिन्थ्यो । उनले पनि त्यसै गरिन् । त्यही भिडिओको कमेन्टमा उनले एउटा सुझाव प्राप्त गरिन्ः "तपाईँको सीए यात्राबारे भिडिओ बनाउनु न, यसले म जस्ता धेरैलाई प्रेरणा दिनेछ ।"
उनले सोही सुझावलाई मध्यनजर गर्दै सीए पढ्दाको आफ्नो अनुभव समेटेर अर्को भिडिओ बनाइन् ।
विस्तारै उनीसँग पढाइसँग सम्बन्धित सुझाव माग्ने र उनको अनुभव सुन्न रुचाउनेहरू बढ्दै गए । उनले शिक्षासँग सम्बन्धित भिडिओ बनाउँदै गइन् । उनको कन्टेन्ट रुचाउनेहरूको सङ्ख्या बढ्दै गयो । उनी थाहै नपाई सोसल मिडिया इन्फ्लुयन्सर बनिन् ।
फेरिएको भूमिका लामो ब्रेक अनि कमब्याक
सामाजिक सञ्जाल टिकटकमा उनको भर्चुअल ग्रोथ राम्रै भइरहेको थियो । विशेष गरी किशोर किशोरी तथा युवा समूहका दर्शकहरूले उनका 'स्टडी टिप्स तथा ट्रिक्स ' लाई रुचाई रहेका थिए । यसैबीच अनुपमा र मुकुलले अभिभावक बन्ने निर्णय लिए । गर्भावस्थामा सामाजिक सञ्जाल तथा विद्युतीय उपकरणमा समय व्यतीत गर्नु भन्दा आफ्नो र गर्भमा रहेको शिशुको स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक थियो । अनुपमा त्यसैमा व्यस्त भइन् । यसैबीच नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो ।
निजी कारण र बाह्य परिस्थितिका कारण सामाजिक सञ्जालबाट उनी केही समय टाढा बसिन् । यद्यपि यति बेलासम्म उनी सामाजिक सञ्जाल मार्फत् समाजमा केही सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने कुरामा विश्वस्त भइसकेकी थिइन् । सामाजिक सञ्जालबाट चाहेर वा नचाहेर लिएको यो लामो ब्रेक उनका लागि आफ्नो 'निस' (कुनै विशेष क्षेत्र वा विषय) छुट्याउने अवसरमा परिणत भयो । यो ब्रेकमा अनुपमाले अन्य देशका धेरै माइक्रो कन्टेन्ट कन्ज्युम गरिन् ।
केही भारतीय क्रियटरले डुअल कन्भरसेसन अर्थात् दुई जना पात्र बनेर संवाद गरे जसरी कन्टेन्ट बनाउने शैलीबाट उनी प्रभावित भइन् । उनलाई लाग्यो, यही शैलीले वित्तीय साक्षरता र ग्राहक अधिकार सम्बन्धी विभिन्न कन्टेन्ट बनाउन सकिन्छ ।
वित्तीय साक्षरतासँग सम्बन्धित पाटो चयन गर्नुका पछाडि उनको आफ्नै कारण छ । एक त उनी आफू सीए भएकाले सो सम्बन्धी धेरै मामिलामा जानकार थिइन् । दोस्रो- कर, कानुन, उपभोक्ता अधिकारसँग सम्बन्धित अत्यावश्यक विषयमा आम मानिसहरू बेखबर छन् भन्ने पनि उनलाई थाहा थियो ।
"मेरो दिदी पढाइका हिसाबले डाक्टर हुनुहुन्छ । उहाँले कहिल्यै वित्तीय साक्षरतासँग सम्बन्धित ज्ञान प्राप्त गर्ने अवसर नै पाउनु भएन । मेरो दिदी जस्ता अन्य कयौं व्यक्ति हुनुहुन्छ भन्ने सहजै अनुमान गर्न सक्छु," उनी भन्छिन् ।
छोरा जन्मिएको केही समयदेखि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् वित्तीय साक्षरतासँग सम्बन्धित रिल्स बनाउन थालिन् । टिकटकले बनाई दिएको फेस भ्यालु र नयाँ किसिमको कन्टेन्टलाई इन्स्टाग्राममा पनि औधी रुचाउन थालियो । सुरुवाती दिनहरूमा उनले कुनै कन्टेन्ट खिचेपछि सो कन्टेन्टको एडिटिङको जिम्मा मुकुलले लिए । विस्तारै उनी आफैँ पनि भिडिओ एडिटिङ सिक्न थालिन् । अहिले अनुपमा क्रियटरसँगै भिडिओ एडिटर पनि हुन् । आजभोलि प्रिमियर प्रो मार्फत आफ्ना कन्टेन्ट आफैं एडिट गर्छिन्, अनुपमा ।
सामाजिक सञ्जालमा आएका मेसेज र कन्टेन्टले मनमा चिसो पस्छ !
अनुपमाको इन्स्टाग्राम ह्यान्डलमा हाल एक लाख ३८ हजार बढी फलोअर छन् । उनका हरेक कन्टेन्टमा हजारौँ भ्युज आउँछन् । नेपालकै एक सञ्चारमाध्यमले तयार पारेको देशभरका ४० मुनिका ४० प्रभावशाली व्यक्तिमध्ये अनुपमा पनि परेकी छन् । उनले तयार पारेका प्रायः कन्टेन्टमा उनी प्रशंसा पाइरहेकी हुन्छिन् । कमेन्ट बक्स र मेसेजमा धेरै किशोर किशोरीहरू उनीबाट प्रभावित भएको बताउँछन् ।
भर्खरका किशोर किशोरीहरूले भविष्यमा आफू पनि अनुपमा जस्तै बन्ने प्रण गरेको सुनाउँछन् । बाटोमा हिँड्दै गर्दा कुनै अपरिचित युवा आएर उनलाई देखेर नै आफू सीए पढ्न थालेको भनिदिन्छन् । यी यावत प्रशंसा सुन्दा उनलाई खुसी लाग्छ । तर खुसी भन्दा अलिक बढी मनमा चिसो पनि पस्छ । अहो ! ममाथि कति ठूलो भरोसा ! कति ठूलो विश्वास ? अनि कति ठूलो जिम्मेवारी ?
अनुपमा भन्छिन्, “जिम्मेवारी पाएपछि उत्तरदायी बन्नु पर्छ । म मेरो ब्रम्हले भ्याएसम्म मेरा अडियन्सप्रति उत्तरदायी रहन प्रयासरत छु । यही उत्तरदायित्त्व र जिम्मेवारीलाई मनन गर्दै उनले प्रण लिएकी छिन्ः ‘मेरा दर्शकहरूले देशमा प्रयाप्त अवसर देखून् । यसैलाई मनन गर्दै उनी कुनै कन्सल्टेन्सीसँग समन्वय गरे कन्टेन्ट बनाउँदिनन् । प्रायः हरेक हप्ता एउटा स्किन केयर ब्रान्डले उनलाई लोभ लाग्दो द्रव्य अफर गर्छ, उनी स्किन केयरका ब्रान्डसँग पनि समन्वय गर्दिनन् । अन्य कुनै कम्पनीसँग व्यावसायिक सम्झौता गरेर कन्टेन्ट बनाउनु पर्यो भने कम्पनीबारे अध्ययन गर्छिन् । कुनै कम्पनीले दिइरहेको सेवा वा वस्तुको लागि आम मानिसले तिर्ने पैसा जायज छ कि छैन भन्ने अध्ययन गर्छिन्, अनि मात्र सम्झौता गर्छिन् ।
दैनिक ४ घण्टा मात्रै सुतेर कन्टेन्ट क्रियसन गर्ने अनुपमाले के पाइन् ?
अनुपमाकै भाषामा भन्ने हो भने, उनी भावना र जिम्मेवारीले आमा हुन् । व्यावसायिक हिसाबले सीए हुन् । सौखले सोसल मिडिया क्रियटर हुन् । समग्रमा एक 'वर्किङ वुमन' हुन् । यी सबै जिम्मेवारी एकसाथ बहन गर्न त्यति सजिलो भने छैन । हरेक दिन बिहान ५ बज्दा नबज्दै १५ महिने छोरा ब्यूँझिसकेको हुन्छ । छोरासँगै ब्यूँझिन्छिन्, अनुपमा । छोराको हेरचाह र अफिसको तयारीमा उनको र मुकुलको बिहानी बित्छ । छोरा र एक जना सहयोगी दिदीसँगै उनी कार्यालय पुग्छिन् । दिनभर कार्यालयको काम, छोराको हेरचाह, कन्टेन्टको लागि अध्ययन, स्क्रिप्टिङ र साँझ घर पुगेपछि कन्टेन्टको सुटिङ, एडिटिङ आदि ।
हप्तामा कम्तीमा दुई ओटा कन्टेन्ट नटुटाउने अनुपमाको प्रयास रहन्छ । यी यावत काममा मुकुलले पनि उनको भरसक सहयोग गरेकै हुन्छन् । तर पनि सन्तानको लालनपालनमा कतिपय जिम्मेवारी आमाको मात्र निजात्मक भइदिन्छ । यही कारण विगत १५ महिनामा उनी दैनिक सरदर ४ घण्टा मात्र सुत्न पाएको बताउँछिन् । कन्टेन्ट क्रियसनको पाटोलाई माया मार्ने हो भने उनको दैनिकी यति व्यस्त हुने थिएन । यति धेरै मेहनत, व्यस्तता र लगानी आखिर के का लागि ? कन्टेन्ट क्रियटर बनेर अनुपमाले के कमाइन् ? अनुपमा गर्वका साथ भन्छिन्- आत्मविश्वास, सम्बन्ध र अपार स्नेह !
सामाजिक सञ्जालमा कन्टेन्ट बनाउनु अघिसम्म उनलाई सार्वजनिक सरोकारका विषयमा निर्धक्क भएर बोल्न सक्छु भन्ने एक रत्ती पनि आत्मविश्वास थिएन । अहिले त्यसो छैन । सामाजिक सञ्जाल मार्फत नै उनले धेरै मानिसलाई चिन्न थालिन्, उनलाई पनि धेरैले चिन्न थाले । यसले व्यावसायिक र निजी जीवनमा ठूलो फाइदा पुर्याएको छ । त्यससँगै उनले आफ्ना दर्शकहरूबाट पाउने अपार स्नेह त छदै छ । उनी थप्छिन् "मेरो यो कुरा सुनेर कन्टेन्ट क्रियसनलाई नै आयआर्जनको बाटो बनाउने सोचिरहेका धेरै जनालाई लाग्न सक्छः अनि आर्थिक उपार्जन ? उहाँहरूलाई म भन्न चाहन्छु कन्टेन्ट क्रियसन आयआर्जनको पनि राम्रो माध्यम बन्न सक्छ ।"
अनुपमाका अनुसार इन्स्टाग्राममा सरदर साढे १ लाख भन्दा माथि फलोअर्स भएका क्रिएटरले हप्ताका २-३ ओटा रिल्स निरन्तर हाल्छ भने ब्रान्ड कोल्याब्रेसन गरेर मासिक १ लाख सम्मको आम्दानी गर्न सक्ने बजार नेपालमा बनिसकेको छ । यसका लागि कन्टेन्टमा निरन्तरता र नयाँपन अपरिहार्य छ । यस बाहेक सामाजिक सञ्जालले व्यक्तिगत ब्रान्ड निर्माण गर्न पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । सोही ब्रान्डलाई प्रयोग गरेर अन्य व्यवसायमा पनि लाग्न सकिन्छ । यसले नयाँ व्यवसाय प्रतिको विश्वासलाई बढाउँछ। व्यवसायको प्रचार प्रसारमा लाग्ने खर्चलाई पनि घटाउँछ ।
अनुपमा ब्रान्डसँग सहकार्य गरेर भन्दा पनि सामाजिक सञ्जालबाट कमाएको विश्वास र नेटवर्कलाई आफ्नो व्यवसायमा लगानी गर्नमा तत्पर छिन् । यसर्थ उनले कन्टेन्ट बनाउँदा अन्य ब्रान्डसँगको सहकार्यलाई प्राथमिकतामा नराख्ने बताउँछिन् । "मलाई भिडिओको रिच देखाएर आम्दानी गर्ने सोच छैन । आर्थिक उपार्जनको लागि मेरो आफ्नै व्यवसाय छ । कन्टेन्ट क्रियसनको नेटवर्कले मेरो व्यवसायमा अवश्य पनि फाइदा पुगेको छ । तर ब्रान्ड कोल्याबबाट मैले त्यति कमाएकी छैन । यो मेरो प्राथमिकतामा पर्दैन ।"
वित्तीय साक्षरतासँग सम्बन्धी भिडिओ बनाउन छोड्नु पर्यो भने…
अनुपमा आफ्नो कन्टेन्ट क्रियसनको यात्रालाई निरन्तरता दिने कुरामा प्रतिवद्ध छिन् । कम्तीमा पनि हप्ताको दुई ओटा माइक्रो कन्टेन्ट बनाएर इन्स्टाग्राममा अपलोड गरिरहेकी छिन् । यस बाहेक अर्को प्लेटफर्म युट्युबमा पनि कन्टेन्ट बनाउने योजना बनाइरहेकी छिन् । अनुपमाका अनुसार इन्स्टाग्राममा उनले बनाएका रिल्सहरूले दर्शकहरूलाई सजग बनाउन सहयोग गरेको छ । यस बाहेक पनि उनी विभिन्न परिस्थितिमा कुन कानुन आकर्षित हुन्छ, उपभोक्ताले आफ्नो अधिकारका लागि के कस्तो प्रक्रिया पुरा गर्नु पर्छ लगायतका विषयमा सविस्तार भिडिओ बनाउन चाहन्छिन् ।
यसका लागि युट्युब राम्रो प्लेटफर्म हुन सक्ने उनको बुझाई छ । यद्यपि उनी युट्युब भिडिओ बनाउन हतार गर्न चाहँदिनन् । "युट्युब फरक प्लेटफर्म हो । सबिस्तार भिडिओ बनाउँदा यसको एडिटिङ पनि अलिक चुनौतीपूर्ण हुन्छ, थम्ब्नेलका कुरा आउँछन् । प्रोडक्सनको लागि पनि अलिक बढी समय खर्चिनु पर्छ । त्यसैले सबै कुराको बारे अध्ययन गरेर अब म तयार छु भने पछि मात्र म युट्युबमा आउँछु," उनी भन्छिन् ।
प्लेटफर्म जुनसुकै भएपनि वित्तीय साक्षरतालाई उनले आफ्नो कन्टेन्टको क्षेत्र बनाइसकेकी छिन् । तर कुनै दिन यसलाई छोडेर अरू कुनै कुरामा भिडिओ बनाउन पर्यो भने उनी आमा बन्नु कति अर्थपूर्ण, जिम्मेवारी र सुन्दर अनुभूतिले भरिपूर्ण हुन्छ भन्ने विषयमा भिडिओ बनाउन चाहन्छिन् ।
अनुपमालाईराष्ट्रिय कर दिवस २०८१ को अवसरमा हालै आन्तरिक राजस्व विभागले सम्मान गरेको छ ।
अनुपमा भन्छिन्, “मेरो जीवनको सबैभन्दा सुन्दर अनुभुती भनेको म आमा बन्नु हो । मलाई लाग्छ आमा बनेपछि मेरो नयाँ जीवन सुरु भयो । आफैँमा आश्रित एउटा नयाँ जीवनलाई हुर्काउनु अत्यन्तै अर्थपूर्ण जिम्मेवारीले भरिएको काम हो । तर हाम्रो समाजका धेरै मानिसहरूलाई यो कुरा थाहै छैन । व्यावसायिक रूपमा सक्रिय महिलाहरूलाई मात्र ‘वर्किङ वुमन’ भन्ने भाष्य छ । मलाई यो भाष्य तोड्ने पनि ठूलो रहर छ । भविष्यमा त्यो सँग सम्बन्धित भिडिओ पो बनाउँछु कि ! मैले भने नि म वर्तमानलाई सहर्ष स्वीकार गर्ने र भविष्यमा केही नयाँ गर्न तयार रहने आशावादी महिला हुँ । ए साँच्ची तपाईँले अघि मलाई सोध्दै हुनुहुन्थ्यो नि, आफूलाई कसरी चिनाउन चाहनुहुन्छ । मैले बल्ल सही उत्तर पाएँ ‘म फुलटाइम वर्किङ मम हुँ ।’