close

के कीर्तिपुरको डाँडामा बसी ल्यापटप चलाएर ४-५ लाख कमाउन सकिएला ?

दीपक पौडेल दीपक पौडेल

मंसिर १५, २०८१ १७:३४

के कीर्तिपुरको डाँडामा बसी ल्यापटप चलाएर ४-५ लाख कमाउन सकिएला ?

 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हालै एक चुनावी भेलालाई सम्बोधन गर्दै नेपालमै बसेर महिनाको तीन-चार लाख रुपैयाँ कमाउन सकिने सम्भावना रहेको बताए । सूचना प्रविधिले हाल नेपालमा पनि यस किसिमको अवसर सिर्जना गरिरहेको उनको दाबी थियो ।

“कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ । जसको घरबाट निस्किएका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन् भन्ने ती तन्नेरी बनाउन सकिन्छ,” उनले भनेका थिए ।  

थापाको उक्त अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालहरू विभिन्न किसिमका टिप्पणी भइरहेका छन् । केहीले उनलाई ट्रोल बनाएका छन् भने केहीले डिजिटल युगमा प्रविधि सम्बन्धी काम गरेर लाखौं कमाउन सकिने तर्क प्रस्तुत गरेका छन् ।  

दैनिक हजारौं युवा रोजगारीकै लागि विदेश गइरहेको बेला राजनीतिक पार्टीका नेताले नेपालमै सम्भावना छ भनेर सपना देखाउनु अस्वाभाविक होइन । तर सत्ताधारी दलकै नेताले उपचुनावमा मत माग्ने क्रममा यस्तो अभिव्यक्ति दिँदा कतिपयले आक्रोश पोखिरहेका छन् । नीति बनाउने र कार्यान्वयन गर्ने तहमा रहेका नेताले भाषणभन्दा काम गरेर देखाउनुपर्ने मत आइरहेको छ ।

के नेपालका युवाहरूलाई सूचना प्रविधिसँग सम्बन्धित काममा संलग्न गराएर देशमै महिनाको तीन-चार लाख रुपैयाँ कमाउन सक्ने वातावरण सिर्जना गर्न सम्भव छ त ? के वास्तवमै कीर्तिपुरको डाँडामा हातमा ल्यापटप लिएर महिनाको तीन-चार लाख कमाउने दिन आउला ?  नेपालमा सूचना प्रविधिको वर्तमान अवस्था के छ ? यसलाई थप सुधार गर्ने सरकारी योजना, तिनको कार्यान्वयन तथा पूर्वाधार विकासको अवस्था कस्तो छ ? यससँगै हाल नेपालमै बसेर आईटी क्षेत्रमा काम गरिरहेका युवाहरूको आर्थिक उपार्जनको अवस्था के कस्तो छ ?

पछिल्लो समय नेपालमा आईटी क्षेत्र आकर्षक र उत्पादनमूलक क्षेत्रको रुपमा विकास भइरहेको यथार्थ हो । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले गरेको एक अध्ययनले सन् २०२२ मा मात्र नेपालले ५१५.४ मिलियन डलर बराबरको आईटी सेवा निर्यात गरेको देखाएको थियो । यति मात्र नभएर राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार पनि नेपालले ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात गरेको छ ।

आईटी सेवा भन्नाले कम्प्युटर सफ्टवेयर निर्माण सम्बन्धी काम मात्र बुझ्ने परिपाटी छ । इन्टरनेट प्रयोग गरेर गरिने सबै कार्य यसमा पर्छन् । यसरी हेर्दा सफ्टवेयर निर्माण, क्रिएटिभ राइटिङ, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन कक्षा आदि पनि आईटी सेवा अन्तर्गत पर्न आउँछन् ।

आईआईडीएसको पछिल्लो रिपोर्ट अनुसार नेपालमा १०६ ओटा आईटी सेवा निर्यात कम्पनी, १४ हजार ७२८ सफ्टवेयर विकास तथा प्रविधिमा आईटी फ्रिल्यान्सर र ५१ हजार ७८१ अन्य सूचना प्रविधिमा केन्द्रित सेवामा आवद्ध फ्रिल्यान्सरहरूले आईटी सेवा निर्यात गरिरहेका छन् ।

उल्लेखित रिपोर्ट सन् २०२२ को हो, हाल यो संख्यामा बढोत्तरी भएको बताइन्छ । आईटी क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राखेको वा राख्नुपर्छ भन्ने बहस पछिल्लो समय बढ्दै गएको छ । 

आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाइने महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको छ ।

यति मात्र नभएर आर्थिक वर्ष २०८१/८२ वर्षका लागि सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि लागि सात अर्ब ३५ करोड बजेट विनियोजन गर्नुलाई पनि सकारात्मक पहलको रूपमा लिन सकिन्छ ।

सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि यसका लागि व्यवहारिक र ठोस योजना अगाडि सारेको छैन । काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा निजी भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गरिने घोषणा, डिल्लीबजारमा ‘अत्याधुनिक सूचना प्रविधि हब’ का लागि बहुतले संरचना निर्माण गर्ने कुरा हालसम्म बजेट घोषणामा मात्रै सीमित छ । सरकार फेरिँदा पनि यी कार्यक्रम अगाडि नबढेको जानकारवाला बताउ‍ँछन् ।

“आईटी स्टेसन, आईटी हब लगायताका पूर्वाधार विकासका योजना महत्त्वाकाङ्क्षी योजना हुन् । यसलाई कार्यान्वयनमा लैजान सहज छैन । भवन निर्माण गरेर मात्र आईटी हब बन्दैन । जनशक्तिलाई त्यही अनुसारको माहोल दिनुपर्छ । कमाएको पैसा खर्च गर्ने पनि ठाउँ हुनुपर्छ । हामीले बुझ्दा रिङरोड भन्दा बाहिर आईटी हब निर्माण सफल हुने देखिएन । बुटवल तथा अन्य ठाउँ त कल्पना भन्दा बाहिरको कुरा हो,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागका एक अधिकारीले भने ।

नेपालमा आईटी सेवाको सुरुवात गर्न तथा हालको अवस्था सम्म विकास गर्नको लागि पनि सरकारी भन्दा निजी क्षेत्रको पहल महत्वपूर्ण देखिन्छ । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारी भने गगन थापाले हालै दिएको अभिव्यक्तिलाई सकारात्मक सपनाको संज्ञा दिन्छन् । नेपालमा आईटी सेवाको प्रचुर सम्भावना रहेको तर यसमा सरकारले नीतिगत रूपमा केही पनि ठोस कदम नचालेको अधिकारीको गुनासो छ ।

“महामन्त्रीज्युले दिएको अभिव्यक्तिलाई सकारात्मक सपनाको रूपमा लिन्छु । नेपालमा आईटीको राम्रो सम्भावना छ । तर सम्भावनालाई यथार्थमा परिणत गर्न सरकार तत्पर छैन,” उनले भने ।

सरकारले चालू आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने घोषणा गरेपनि हालसम्म यस क्षेत्रमा आबद्ध निकायहरूको समस्या, गुनासो, अपेक्षा सुन्नको लागि छलफलमा समेत नबोलाएको अधिकारीको भनाइ छ ।

सरकारले अगाडि सारेको स्टार्टअप  रणनीति अत्यन्तै झन्झटिलो र फन्डिङ नीति पार्टीका कार्यकर्ता पोस्ने माध्यम बनेको अधिकारीको आरोप छ । उनी थप्छन्, “नेपालका वाणिज्य बैंकहरूमध्ये तीन  बैंकमा मात्र नेपाली सफ्टवेयर छ । अन्यमा विदेशी सफ्टवेयर छ । नेपालीहरूले त्यो सफ्टवेयर बनाउन नसक्ने भएर होइन सरकारले नीतिगत रुपमा ‘स्ट्यान्ड’ लिन नसकेर हो । 

नीतिगत रूपमा सुधार ल्याउन सके गगन थापाले भनेजस्तै सूचना प्रविधिको माध्यमबाट युवाहरूले मासिक ३-४ लाख आम्दानी गर्न सक्ने अवस्था आउने अधिकारीले बताए । “मासिक लाखौं आम्दानी गर्न गाह्रो पर्ने क्षेत्र यो होइन । तर यसका लागि आवश्यक पहल हुनुपर्छ । आईटी लोन, सहज कर तथा स्टार्टअप नीति, नेपाली प्रोडक्टलाई प्राथमिकता, स्टार्टअप रिकभरी फन्ड जस्ता विषयमा नीतिगत सुधार गर्नुपर्छ,” उनले भने ।

उनले अगाडि भने, “हाल नेपालमै सेवा दिनका लागि स्थापना भएका आईटी कम्पनीमा औसतमा युवाहरूले मासिक ५० हजार कमाएको मेरो आँकलन छ । विदेशी कम्पनीमा फ्रिल्यान्स गरिरहेकाहरूले भने ५० देखि दुई लाखसम्म सामान्यतः: कमाएको देखेको छु । कसैको त्यो भन्दा बढी पनि होला । तर त्यो अत्यनतै न्यून मात्रामा छ ।”   

नेपालमै बसेर मलेसियास्थित 'स्पिड- होम' नामक आईटी कम्पनीमा जुनियर आर्किटेक्टको रूपमा कार्यरत विनय रिजालका अनुसार कम्तीमा चार-पाँच वर्ष आईटी क्षेत्रमै अनुभव बटुलेका कर्मचारीहरू मासिक चीन- चार लाखको हाराहारीमा आम्दानी गर्न सक्छन् । "हुन त यो समय अवधिभन्दा पनि आफूमा कस्तो स्किल छ भन्ने कुरामा भर पर्ने क्षेत्र हो । तर सामान्य रूपमा केही वर्षका अनुभवीले ३-४ लाख आम्दानी गर्न सक्छन् भन्न सकिन्छ,” उनले भने ।

विदेशी लगानीमा नेपालमै सञ्चालनमा रहेको एक आईटी कम्पनीमा प्रोजेक्ट म्यानेजरको रूपमा कार्यरत निरज सिटौलाले पनि आईटी क्षेत्रमा अवसर रहेको सुनाए । “दुई लाखसम्मको तलब स्केललाई सामान्यीकरण गर्न सकिएला । तर त्यसपछि अलिक ‘स्याचुरेसन पोइन्ट’ आउँछ । त्यसैले ३- ४ लाख कमाइको सपना बाँड्ने बेला अलिक भएको छैन कि जस्तो लाग्छ,” उनले भने ।

इन्टरनेटको सहज पहुँच, प्रविधिको बढ्दो उपयोग र विश्वव्यापी अवसरहरूको कारणले नेपालमै बसेर विभिन्न क्षेत्रमा काम गरेर आम्दानी गर्न सम्भव भएको बताउँदै उनले राज्यको उपयुक्त नीति, व्यवहारिक शैक्षिक प्रणाली र लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिए । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८१ १७:४०