close

डिजिटल युगमा कसरी बन्ने सफल कन्टेन्ट राइटर ?

टेकपाना टेकपाना

मंसिर २१, २०८१ १९:५

डिजिटल युगमा कसरी बन्ने सफल कन्टेन्ट राइटर ?

काठमाडौं । आजको डिजिटल युगमा कन्टेन्टको माग कति छ भनिरहन पर्दैन । यो उच्च मागले नै कन्टेन्ट राइटिङमा रुचि राख्नेहरूका लागि थुप्रै अवसर पनि सिर्जना गरेको छ । आज व्यवसाय र संस्थालाई आफ्नो लक्षित दर्शकसम्म पुग्नका लागि उच्च गुणस्तरको कन्टेन्टको आवश्यकता हुन्छ । त्यसैले तिनीहरूलाई दक्ष कन्टेन्ट राइटरको पनि आवश्यकता पर्छ । 

यदि तपाईं कन्टेन्ट क्रियट गर्नमा रुचि राख्नुहुन्छ र लेखन तपाईंको प्यासनमा पर्छ भने तपाईं कन्टेन्ट राइटरको रूपमा आफ्नो भविष्य बनाउन सक्नुहुन्छ । कन्टेन्ट राटइट कसरी बन्न सकिन्छ भन्ने कुरा तपाईंले यो लेख पढ्न सक्नुहुन्छ । कन्टेन्ट राइटर भनेको को हो ? उसको भूमिका के हुन्छ ? सफल कन्टेन्ट राइटर बन्नका लागि चाहिने सीपहरू के हुन् ? र कुन उपयोगी सुझावलाई ध्यानमा राखेर काम गर्दा कन्टेन्ट क्रियटर बन्न सकिन्छ ? यी सबै विषयको चर्चा यहाँ राखिएको छ । 

सबैभन्दा पहिले कन्टेन्ट भनेको के हो र कन्टेन्ट राइटिङ भनेको के हो ? कन्टेन्ट भनेको यस्तो जानकारी हो जसले लक्षित अडियन्सलाई शिक्षित, सूचित, मनोरञ्जन, प्रेरित र विश्वास दिलाउन मद्दत गर्छ । यसैगरी मार्केटिङ, शिक्षा र मनोरञ्जन जस्ता विभिन्न उद्देश्यका लागि तयार गरिने लेखिएको सामग्रीलाई कन्टेन्ट राइटिङ भनिन्छ ।

यसको उद्देश्य पाठकलाई आकर्षित गर्नु र उनीहरूलाई मूल्यवान जानकारी तथा मनोरञ्जन प्रदान गर्नु हो । कन्टेन्ट राइटिङका विभिन्न प्रकारहरू हुन्छन् । र, प्रत्येक प्रकारका कन्टेन्टको ढाँचा फरक हुन्छ । जस्तै ब्लग पोस्टका लागि गहिरो विश्लेषण र अनुसन्धानको आवश्यकता पर्दछ ।

सोसल मिडिया पोस्टका लागि बढी क्रियटिभिटी आवश्यक हुन्छ । तर शैक्षिक कन्टेन्ट तथ्यगत र सजिलो भाषाको हुनुपर्छ । प्रडक्ट डिस्क्रिप्सन ग्राहकलाई प्रडक्ट खरिद गर्न प्रोत्साहित गर्ने खालको हुनुपर्छ । लेखन थुप्रै प्रकारको हुन्छ । र, हरेक प्रकारको लेखन शैली कन्टेन्टको माग र आवश्यकता अनुसार फरक हुन्छ । यस्तोमा सफल कन्टेन्ट राइटर त्यही व्यक्ति बन्छ जसले फर्म्याट र अनियन्स अनुसार आफ्नो लेखन शैलीलाई एडजस्ट गर्न सक्छ । 

तपाईं कन्टेन्ट राइटर बन्न चाहनु हुन्छ भने यस्तै किसिमको सीप विकास गर्नुपर्छ । 

कन्टेन्ट राइटरको भूमिका के हो र कसरी काम गर्छ ? 

कन्टेन्ट राइटर त्यस्तो पेसा हो जसले कुनै संस्थाका लागि सही अनुसन्धान गरी आकर्षक र जानकारीमूलक लेखन सामग्री तयार गर्छ । यसमा आर्टिकल, ब्लग पोस्ट, स्क्रिप्ट, सोसल मिडिया पोस्ट, वेबसाइट कपी, ईमेल र प्रडक्ट डिस्क्रिप्सनका कन्टेन्टहरू समावेश हुन्छन् । कन्टेन्ट राइटर मुख्यतः मिडिया हाउस, पीआर एजेन्सी, मार्केटिङ फर्म, कर्पोरेट र एड्भर्टाइजिङ एजेन्सी जस्ता संस्थाहरूमा काम गर्छन् ।

कन्टेन्ट राइटरका भूमिका र जिम्मेवारीहरू यसप्रकारका हुन्छन् । 

  • सूचनामूलक कन्टेन्ट बनाउनका लागि विषयको खोज तथा विश्लेषण गर्ने । 

  • विभिन्न फर्म्याटमा कन्टेन्ट लेख्ने र एडिट गर्नुे ।

  • एसईओ स्ट्राटेजी प्रयोग गरेर कन्टेन्ट तयार पार्ने । (अर्थात पाठकले कस्ता कन्टेन्ट खोज्छन् भन्ने अध्ययन गरी त्यही अनुसारका कन्टेन्ट तयार पार्ने ।)

  • लक्षित पाठकलाई ध्यानमा राखेर कन्टेन्ट तयार पार्ने ।

  • मार्केटिङ र ब्रान्डिङ स्ट्राटेजीअनुसार कन्टेन्ट लेख्ने ।

  • उद्योगमा कस्ता किसिमका ट्रेन्ड चलिरहेका छन् भन्नेमा आफूलाई अपडेट गराउने ।

  • कन्टेन्टको सटीकता र गुणस्तर सुनिश्चित गर्न प्रूफरीड र एडिट गर्ने ।

त्यसैले यी सबै कुरा ध्यानमा राखेर कन्टेन्ट तयार गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट राइटर वा यस भूमिकामा आइसकेका व्यक्तिको जिम्मेवारी धेरै हुन्छ । कन्टेन्ट राइटरले कति मेहेनत गर्छ भन्ने विषयले नै कुनै संस्थाले अनलाइनमा आफ्नो उपस्थिति बनाउन र त्यसलाई कायम राख्न सक्छ । 

यस प्रकारको गुणस्तरीय पर्फमेन्स दिनका लागि कन्टेन्ट राइटरमा विभिन्न सीप हुनु आवश्यक छ । के होलान् ती महत्त्वपूर्ण सीपहरू ?

लेखन सीप

कन्टेन्ट राइटरका लागि सबैभन्दा महत्त्वपूर्ण सीप भनेको ‘बलियो लेखन शैली’ नै हो । लेखनको राम्रो सीप हुनुले टार्गेटेड अडियन्ससम्म कन्टेन्ट पुर्‍याउन मद्दत गर्छ । साथै एडिटिङ र प्रूफरीडिङ सीप पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसले गर्दा कन्टेन्टको शुद्धता कायम राख्न सकिन्छ ।

अनुसन्धान गर्ने शैली

कन्टेन्ट तयार गर्नुअघि राम्रोसँग त्यस विषयमा अनुसन्धान गर्नु आवश्यक हुन्छ । यसमा तथ्य प्रमाणित गर्ने, पछिल्ला जानकारीका बारेमा अपडेट रहने र सही स्रोतहरूको छनोट गर्न सीप हुनुपर्छ ।

रचनात्मक क्षमता

कन्टेन्ट जुनसुकै फर्म्याटमा लेख्नुपरे पनि लेखाइमा रचनात्मक बनाउनु पर्छ । यसले कन्टेन्टलाई विशेष र फरक बनाउँछ । कन्टेन्ट राइटरमा नयाँ र आकर्षक कन्टेन्ट सिर्जना गर्ने सीप हुनु जरुरी छ । कन्टेन्ट तयार पार्दा जति रचनात्मक हुन सकियो त्यति नै राम्रो कन्टेन्ट बन्छ ।

एसईओको ज्ञान

सर्च इन्जिनमा कन्टेन्ट देखियोस् भन्ने चाहनु हुन्छ भने एसईओ फ्रेन्ड्ली कन्टेन्ट लेख्नुपर्छ । यसका लागि कन्टेन्ट राइटरलाई सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) सम्बन्धी ज्ञान हुनु आवश्यक हुन्छ । कस्ता कन्टेन्ट पाठकले खोजिरहेका छन्, कुन कीवर्ड्समा बढी ट्राफिक आइरहेको छ, अनि गुगल वा अन्य सर्च इन्जिनको शीर्ष स्थानमा कन्टेन्ट पुर्‍याउन केकस्ता रणनीति अपनाउन सकिन्छ भन्नेबारे लेखक सचेत हुनुपर्छ । यस्ता कन्टेन्टलाई एसईओ फ्रेन्ड्ली कन्टेन्ट पनि भनिन्छ ।

कसरी बन्ने योग्य कन्टेन्ट क्रियटर ?

सफल कन्टेन्ट राइटर बन्नका लागि तपाईंमा विभिन्न किसिमका सीप र ज्ञान हुन आवश्यक छ । के कस्ता ज्ञान र सीपको आवश्यकता पर्छ त ? अनि कसरी बन्ने सफल कन्टेन्ट क्रियटर ?

आफ्नो रुचि पत्ता लगाउने

सबैभन्दा पहिले तपाईंले आफूलाई कस्ता कन्टेन्ट मन पर्छन् भन्ने पहिचान गर्नुपर्ने हुन्छ । आफ्नो रुचिलाई पछ्याएर मात्र तपाईं लेखनको कुनै विशेष फर्म्याटमा विशेषज्ञता हासिल गर्न सक्नुहुन्छ । त्यसैले पहिले आफ्नो लागि उपयुक्त लेखनको क्षेत्र (निच) छान्नुहोस् । त्यो स्वास्थ्य, शिक्षा, व्यापार, प्रविधि, वित्त जस्ता केही पनि क्षेत्र हुन सक्छ । त्यसपछि उक्त निचमा रिसर्च गर्नुपर्ने हुन्छ । पछिल्ला ट्रेन्डको जानकारी लिनुपर्ने हुन्छ । 

त्यसबाट प्राप्त जानकारीका आधारमा लक्ष्यित अडियन्सका लागि प्रासङ्गिक, जानकारीमूलक र भ्यालुएबल कन्टेन्ट तयार पार्न सकिन्छ ।

लेखन सीपलाई सुधार गर्दै लैजाने

यदि तपाईं औपचारिक शिक्षा मार्फत आफ्नो लेखन सीप विकास गर्न चाहनुहुन्छ भने तपाईंका लागि थुप्रै विकल्प छन् । तपाईं साहित्य, पत्रकारिता एवम् आमसञ्चार, मेडिकल राइटिङ, बिजनेस कन्टेन्ट राइटिङ वा टेक्निकल राइटिङ सम्बन्धी कोर्स अध्ययन सक्नुहुन्छ । औपचारिक शिक्षासँग कन्टेन्ट लेखनको प्रत्यक्ष भूमिका हुँदैन । तर, औपचारिक शिक्षाकै कारण तपाईंको तलब भने बढी हुन सक्छ । त्यसैले आफ्नो शिक्षा पूरा गरिसकेपछि कन्टेन्ट राइटर बन्न विशेष कोर्स लिनु भयो भने तपाईंका लागि राम्रो हुन्छ ।

यी कोर्स बाहेक लेखन सीप सुधार गर्न तपाईंले फरक-फरक शैलीमा लेख्न सिक्नुपर्छ । आफ्नो शब्दकोश (भोक्याबुलरी) र व्याकरण सुधारमा पनि ध्यान दिनुपर्छ ।

पढ्ने बानीको विकास गर्ने

लेखक बन्न लेख्न जति महत्त्वपूर्ण छ, पढ्नु पनि त्यति नै महत्त्वपूर्ण छ । आफ्नो लेखन सुधार गर्ने सबैभन्दा सरल तरिका भनेकै उत्कृष्ट लेखकका पुस्तक, लेख र डिजिटल कन्टेन्ट पढ्ने बानी बनाउनु हो । यसले तपाईंलाई तिनीहरूको लेखन शैली बुझ्न र सिक्न मद्दत गर्छ । साथै लक्षित समूहलाई अप्रोच गर्ने उनीहरूको मुख्य विचारलाई बुझ्न र अपनाउन पनि सजिलो बनाउँछ । त्यसैले लेख्नुअघि पढ्नुहोस् ।

एसईओ सिक्नुहोस्

सर्च इन्जिन रिजल्ट पेजमा तपाईंको कन्टेन्ट कत्तिको भिजिबल हुन्छ भन्ने सुनिश्चित गर्न तपाईंले एसईओ पनि सिक्नुपर्छ । यसका लागि तपाईंले एसईओको आधारभूत पक्षबारे सिकेर सुरुवात गर्न सक्नुहुन्छ । खासगरी कस्ता किवर्ड रिसर्च, अन पेज अप्टिमाइजेसन, लिङ्क बिल्डिङ, पेज स्पिड कस्तो, रिड्याबिलिटी (पढ्न सहज छ कि छैन) कस्तो छ भन्ने विषय सिक्न सक्नुहुन्छ । त्यस्तै एसईओ ट्रेन्ड्सका बारेमा पनि तपाईं अपटुडेट हरनु पर्ने हुन्छ । यी पक्ष बुझिसकेपछि तपाईं उत्कृष्ट कन्टेन्ट लेख्न सक्नुहुन्छ ।  

आफ्नो पोर्टफोलियो तयार पार्ने

आफ्नो रुचिका आधारमा लेख्दै र आफ्ना सीपहरू सुधार्दै तपाईंले आफ्नो पोर्टफोलियो पनि तयार गर्नुपर्ने हुन्छ । यसमा तपाईंका उच्च-गुणस्तरीय कन्टेन्ट राख्नुपर्छ जसले तपाईंको लेखन शैली, विशेषज्ञता झुल्क्याओस् । य‍स्ता कन्टेन्ट सामाजिक सञ्चाल मार्फत सम्भावित अडियन्ससम्म पुर्‍याउनु सहज हुन्छ । तपाईंको लिङ्क्डइन प्रोफाइलले यसमा धेरै सहयोग गर्छ । त्यसैले लिङ्क्डइनमा आफ्नो सम्पूर्ण प्रोफाइल तयार गर्नुहोस् । र, आफ्ना सबै जानकारी राख्नुहोस् । 

नेटवर्किङ बढाउनुहोस्

पोर्टफोलियो बनाउने क्रममा सम्भावित ग्राहकसम्म पुग्न नेटवर्किङ पनि अत्यन्त जरुरी हुन्छ । त्यसैले व्यवसायिक व्यक्तिहरूसँग नेटवर्क बनाउन विभिन्न इभेन्ट र अनलाइन राइटिङङ कम्युनिटीमा सहभागी हुनुहोस् । यस्ता ठाँउमा तपाईंले आफूलाई आवश्यक पर्ने व्यक्ति वा कन्ट्याक्ट फेला पार्न सक्नुहुन्छ । 

एडिटिङ र प्रुफरिडिङ

​सुरुवातमा तपाईंलाई एडिटिङ वा प्रुफरिडिङको काम आउन सक्छ । यस्तो अवस्थामा ती काम सजिलै स्वीकार्नुहोस् । र, यसमा अनुभव हासिल गर्नुहोस् । लेखनलाई पूर्ण बनाउन एडिटिङ र प्रुफरिडिङको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले यी सीपहरू विकास गर्नुहोस् । यसबाट तपाईंले अनुभव पाउने मात्र नभई क्लाइन्ट समेत पाउन सक्नुहुन्छ । त्यसैले करियरको शुरुवात यसैबाट भए पनि अस्वीकार नगर्नुहोस् ।

कामको अनुभव हासिल गर्ने

लेखन सीप विकास गरेपछि तपाईं जागिरका लागि आवेदन दिन सक्नुहुन्छ। तर, तपाईंले चाहेको संस्थामा जागिर नपाएसम्म अनुभव बढाउने सबैभन्दा राम्रो तरिका हो- फ्रिल्यान्सिङ । 

तपाईं साना व्यवसाय, वेबसाइट र स्टार्टअपका लागि फ्रिल्यान्सरको रूपमा काम गर्न सक्नुहुन्छ । साथै डिजिटल मार्केटिङ एजेन्सीहरूमा इन्टर्नशिप गर्नु पनि राम्रो विकल्प हुन सक्छ । तपाईं अनलाइन प्रकाशनका लागि लेखनमा योगदान दिन सक्नुहुन्छ । र आफ्ना लेखन सीपहरूलाई थप धारिलो, सटीक र आकर्षक बनाउन सक्नुहुन्छ ।  

आफ्ना सीपहरू निरन्तर सुधार्दै जाने

आफ्नो सीप र ज्ञानलाई अझ परिस्कृत गर्न तपाईं विभिन्न कोर्स लिन सक्नुहुन्छ । विभिन्न वर्कशपमा सहभागी हुन र लेखक समूहमा भाग लिन सक्नुहुन्छ । यसले तपाईंलाई सीप र क्षमता मात्र विकास गर्न मद्दत गर्दैन । साथै प्रतिस्पर्धा सामना गर्न र आफ्नो लागि नयाँ करियर अवसरहरू सिर्जना गर्न पनि सहयोग गर्छ ।

सीप सुधार्नका लागि विभिन्न एआई टुल, नेपाली कन्टेन्टका लागि पेपर डट नयाँ डटकम डटएनपी र हिज्जे डटकमको प्रयोग गर्न सक्नुहुन्छ । 

साथै आफ्नो यात्रा सुरु गर्न तपाईं फाइभर (Fiverr), जरिज (Zerys), अपवर्क (Upwork), कन्स्ट्यान्ट कन्टेन्ट (Constant Content) र मिडिया शावर (Media Shower) जस्ता प्लेटफर्मको सहायता लिन सक्नुहुन्छ ।

सफल कन्टेन्ट राइटर बन्नको लागि यी सबै बुँदाहरूलाई पालन गर्दै जानुपर्ने हुन्छ । तर याद गर्नुहोस् करियरको यात्रा सुरु गर्न केही समय लाग्न सक्छ । त्यसैले निराश नभइकन फ्रिल्यान्सिङबाट सुरुवात गर्न सक्नुहुन्छ । सुरुवातमा औसत रूपमा वार्षिक साढे दुई लाख रुपैयाँको आम्दानीका साथ अनुभव बटुल्नुहोस् । अनुभव बढ्दै जाँदा यो आय वार्षिक पाँच लाख रुपैयाँभन्दा माथि पुग्न सक्छ । 

ध्यान दिनुपर्ने अर्को कुरा आम्दानी तपाईंले रोजेको नीच र लेखन शैलीसँगै तपाईं फ्रिलान्सर हुनुहुन्छ वा संस्थामा काम गर्नुहुन्छ भन्ने कुरामा पनि निर्भर हुन्छ ।

त्यसैले यदि तपाईंलाई लेखनमा रुचि छ र आफ्नो प्रतिभामा विश्वास छ भने आफ्नो प्यासनका रूपमा कन्टेन्ट राइटरको यात्रा अगाडि बढाउन सक्नुहुन्छ । लेखन क्षेत्रलाई निरन्तर अन्वेषण गर्दै लैजान सक्नुहुन्छ । र, आफ्नो प्रोफाइल बलियो बनाउन सक्नुहुन्छ । सिकाइलाई निरन्तरता दिनुभयो भने तपाईं यस क्षेत्रमा सफल हुन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८१ १९:८