close

च्याटजीपीटीको नयाँ मोडेल, प्रयोग गर्न महिनाको २६ हजार बढी तिर्नुपर्ने

टेकपाना टेकपाना

मंसिर २६, २०८१ १६:५

च्याटजीपीटीको नयाँ मोडेल, प्रयोग गर्न महिनाको २६ हजार बढी तिर्नुपर्ने

काठमाडौं । ओपनएआईले च्याटजीपीटीको महँगो भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले तर्कसहित जवाफ दिन सक्ने नयाँ भर्सन ‘च्याटजीपीटी प्रो’ ल्याउन लागेको हो । 

यसका लागि मासिक २०० डलर (करिब २६ हजार रुपैयाँ) शुल्क लाग्ने बताइएको छ । यसको सब्सक्रिप्सन लिने प्रयोगकर्ताले ओपनएआई ०१, जीपीटी-फोरओ र एड्भान्स्ड भ्वाइस मोडेल प्रयोग गर्न पाउनेछन् । 

नयाँ मोडेलको शुल्क तिर्ने प्रयोगकर्ताले भने एक्सक्लुसिभ रूपमा झनै स्तरीय उत्तर दिने मोडेल प्रयोग गर्न पाउने बताइएको छ । यस मोडेलले अधिकतम कम्प्युट प्रयोग गरी बढीभन्दा बढी सटीक उत्तर दिने र जटिल प्रश्नको पनि सहजै जवाफ दिनसक्ने बताइएको छ । यस मोडेललाई ओवन (o1) प्रो मोड भनिनेछ ।

कम्पनीले मासिक २० डलर (करिब २६०० रुपैयाँ) तिर्ने प्रयोगकर्तालाई प्लस टायर मोडेलका फिचर उपलब्ध गराउनेछ । यो मोडेल प्रयोग गर्ने प्रयोगकर्ताले कम्पनीले ल्याउन लागेका फिचर अरूभन्दा अगाडि नै प्रयोग गर्न पाउनेछन् ।  

त्यस्तै ओपनएआईले गत सेप्टेम्बरमा सीमित प्रिभ्यु सेवासहितको ओवन (o1) मोडेल सार्वजनिक गरेको थियो । यसलाई 'स्ट्रबेरी' कोडनेम दिएको थियो । कम्पनीले सोही मोडेलको स्तरीय भर्सनका रूपमा नयाँ मोडेल ल्याउन लागेको छ । 

द भर्जका अनुसार उक्त नयाँ भर्सन च्याटजीपीटी प्लस र च्याटजीपीटी टिमका लागि उपलब्ध भइसकेको छ । आगामी सातादेखि भने च्याटजीपीटीका इन्टरप्राइज र एजुकेसन प्रयोगकर्ताले उक्त फिचर प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १६:१३