close

बन्ने होइन त डेटा साइन्टिस्ट ?

टेकपाना टेकपाना

मंसिर २७, २०८१ १५:४२

बन्ने होइन त डेटा साइन्टिस्ट ?

काठमाडौं । पछिल्ला केही वर्षमा डेटा साइन्स लोकप्रिय करियर बन्दै गइरहेको छ । एआईको विकास र बढ्दो तथ्याङ्कका कारण यो क्षेत्र धेरैको गन्तव्य बनेको छ ।  

यसमा स्टाटिस्टिक्स, मसिन लर्निङ र कम्प्युटर साइन्सका विभिन्न पक्ष समावेश हुन्छन् । तुलनात्मक रूपमा यो नयाँ क्षेत्र हो । तर उच्च तलब, विभिन्न अवसर र उज्जवल भविष्यले यसलाई एक आकर्षक करियर बनाइरहेको छ ।

डेटाले चलिरहेको आजको संसारमा अर्थतन्त्रको इन्धन नै डेटा बनेको अवस्था छ । यातायात, ऊर्जा, उत्पादन, वित्त, स्वास्थ्य सेवा, ई-कमर्स जस्ता धेरै क्षेत्रमा डेटालाई एक अमूल्य सम्पत्ति मानिन्छ । किनकि अहिलेका हरेकजसो सफल व्यवसायको पछाडि डेटाको भूमिका छ । 

के हो डेटा ?

सम्भवतः तपाईंले डेटाबारे थाहा पाउनु भएको हुन सक्छ । तर पुन: उल्लेख गरौं - तथ्य, जानकारी र तथ्याङ्कको संग्रह नै डेटा हो । यो अङ्क, अक्षर, ध्वनि र तस्बिरजस्ता विभिन्न रूपहरूमा हुन सक्छ ।

अहिले प्रत्येक संघ/संस्थासँग ठूलो मात्रामा यस्तो डेटा हुन्छ । तर ती मिलेका अर्थात् निश्चित ढाँचामा हुँदैनन् । त्यस्तो डेटा बुझ्न कोही विशेषज्ञको आवश्यकता पर्छ ।

दक्ष जनशक्तिले त्यस्ता डेटाबाट महत्त्वपूर्ण जानकारी निकाल्छन् । जसलाई प्रयोग गरेर संगठन/कम्पनीहरूले व्यावसायिक समस्याहरूको व्यावहारिक समाधान पाउँछन् । 

नतिजास्वरूप, ती कम्पनीहरूले छोटो समयमा वृद्धि र सफलता पाउँछन् । यही कारणले गर्दा आज हरेक कम्पनी, व्यवसाय र क्षेत्रलाई डेटा साइन्सका दक्ष जनशक्तिहरूको आवश्यकता रहेको छ । 

यस्तो माग केही वर्ष भित्रमा नै रोकिनेवाला छैन । नेपालमा समेत यस प्रकारको जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरूले औपचारिक कोर्स सुरु गरिसकेका छन् । यस क्षेत्रमा काम गर्ने कम्पनीहरू जन्मिरहेका रहेका छन् । 

अझ यसमा राम्रो गर्नेहरूले गुगल, अमेजन, आईबीएम जस्ता बहुराष्ट्रिय कम्पनीहरूमा रोजगारीको अवसर समेत पाउँछन् । यसको अर्थ आगामी वर्षहरूमा डेटा साइन्स क्षेत्रमा केवल वृद्धि मात्र छ ।

यस क्षेत्रमा ‍डेटा वैज्ञानिक, डेटा एनालिस्ट, डेटा एडमिनिस्ट्रेटर, डेटा इन्जिनियर, मार्केटिङ एनालिस्ट, क्वालिटी एनालिस्ट, प्रोडक्ट अपरेसन्स एसोसिएट, मसिन लर्निङ इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा म्यानेजर लगायतका पेशागत विकल्प समेत रहेको छ । यति कुरा लेखेपछि अब यो क्षेत्रमा कसरी प्रवेश गर्ने, त्यसबारे चर्चा गरौं:

-सम्बन्धित डिग्री लिने


 

डेटा साइन्सको क्षेत्रमा आफ्नो करियर सुरु गर्न डेटा साइन्स, स्टाटिस्टिक्स, कम्प्युटर साइन्स जस्ता विषयहरूमा स्नातक डिग्री लिन जरुरी छ । यसले तपाईंको आधार बलियो बनाउने छ ।

यसमा करियर बनाउन आईटी नै पढ्नुपर्छ भन्ने बाध्यता छैन । नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय सहित विदेशी विश्वविद्यालयका कोर्स चलाउने केही कलेजहरूमा डेटा साइन्स नै पढाइ हुने गर्छ । जहाँ अध्ययन गर्न चारदेखि १०-१२ लाख रुपैयाँसम्म लाग्न सक्छ ।

-हार्ड र सफ्ट स्किल्स 

डेटा साइन्समा पाइथन, आर, एसक्यूएल जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजको विशेष भूमिका हुन्छ । त्यसैगरी डेटा भिजुअलाइजेसन, मसिन लर्निङ, डीप लर्निङ, न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी), बिग डेटा, क्लाउड कम्प्युटिङको गहिरो ज्ञान हुन आवश्यक छ । साथै टेन्सरफ्लो, पान्डाज, गीट जस्ता डेटा साइन्स टुल्समा पनि विशेषज्ञता हासिल गर्नुपर्छ । यी त भए हार्ड स्किल्स । यीबारे तपाईंले स्वअध्ययन गरेर समेत सिक्न सक्नुहुन्छ । तपाईँसँग अतिरिक्त विभिन्न सफ्ट स्किल्स पनि हुन जरुरी छ । 

-व्यवहारिक अनुभव

यो क्षेत्रमा केवल सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन । किनभने यहाँ गरिने कामले व्यावहारिक संसारमा प्रभाव पार्छ । यसले गर्दा हरेक काम गर्दा तपाईंले सीपलाई पनि सुधार्नु पर्ने हुन्छ । यसको लागि राम्रो माध्यम इन्टर्नशिप हो । इन्टर्नशिपले तपाईंलाई काम गर्दै सिक्न ठूलो सहयोग गर्छ ।

-पोर्टफोलियो र नेटवर्किङ

 

डेटा साइन्स सम्बन्धी सीप विकास गर्ने एउटा पाटो छँदै छ । सँगै तपाईंले आफ्नो अनलाइन पोर्टफोलियो पनि बलियो देखाउनु पर्ने हुन्छ । यसको कारण भनेको रोजगारीको अवसर नै हो । 

उदाहरणका लागि, तपाईंको पोर्टफोलियो राम्रो भए विश्वस्तरीय कम्पनीहरूमा काम गर्ने मौका पाउन सक्नुहुन्छ । त्यस्तो अवसर प्रदान गर्ने पोर्टफोलियो बनाउन तपाईंले आफूले गरेका परियोजनाहरू र आफूमा भएको सीपहरू राख्नु पर्ने हुन्छ ।

त्यसैगरी डेटा साइन्सका कम्युनिटीहरूमा सामेल भएर पनि तपाईंले फाइदा लिन सक्नुहुन्छ । फेसबुक, लिङ्क्डइन जस्ता सामाजिक सञ्जालमा यस प्रकारको समूह भेट्न सकिन्छ । 

समग्रमा तपाईंले यी चरण पूरा गरेपछि डेटा साइन्सको क्षेत्रमा चाहेको काम पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८१ १४:१७