काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । गएको २८ मङ्सिरको मन्त्रीपरिषद् बैठकले उनलाई विगत लामो समयदेखि रिक्त रहेको उक्त पदमा ढुङ्गानालाई नियुक्त गरेको हो ।
तीन महिनाभन्दा लामो समय रिक्त रहेको अवस्थामा नयाँ नियुक्त गर्नुपर्ने प्रावधान अनुरूप ढुङ्गानालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अदालतबाट दोषी ठहर भएर जेल चलान भएपछि केन्द्र नेतृत्व विहीन भएको थियो ।
केन्द्रबाट यसै वर्षदेखि हुलाक टिकेट र लालपुर्जा छपाईको कार्य सुरु भएको उल्लेख गर्दै मन्त्री गुरुङले आगामी दिनमा क्रमशः नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्त शुल्क स्टिकर, ड्राइभिङ लाइसेन्स लगायतका स्मार्ट कार्ड, राहदानी, बैंक नोट तथा सिक्का समेत छापीने बताए ।