काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडिओ शेयरिङ एप टिकटकलाई बन्द गर्ने वा बेच्नुपर्ने विषय अमेरिकाको सर्वोच्च अदालतमा पुगेको छ । अदालतले यो मुद्दामाथि आगामी जनवरी १० मा सुनुवाइ गर्ने निर्णय गरेको हो ।
अमेरिकी सरकारले चिनियाँ सरकारसँगको सम्बन्धका कारण टिकटकलाई सुरक्षा खतरा मान्दै आएको छ । तर टिकटक र यसको मूल कम्पनी बाइटडान्सले यस्तो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।
सर्वोच्च अदालतले टिकटकमाथि तत्काल रोक लगाउने आदेश दिन अस्वीकार गर्दै जनवरी १० मा बाइटडान्सलाई आफ्ना तर्कहरू पेस गर्ने अवसर दिएको छ । यो मिति टिकटक बन्द हुने तोकिएको समयभन्दा नौ दिन अगाडि पर्छ ।
यसअघि, डिसेम्बरमा फेडेरल अपिल कोर्टले टिकटक बन्द गर्ने कानुनलाई सदर गरेको थियो । टिकटकले भने यसलाई असंवैधानिक भएको तर्क गर्दै अमेरिकामा प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने दाबी गरेको छ ।
यो मुद्दाले अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय सुरक्षाबीचको द्वन्द्वलाई थप उजागर गरेको छ । यद्यपि, कानुन विशेषज्ञहरूले सर्वोच्च अदालतले यसअघिका निर्णयहरू उल्ट्याउने र संसद तथा ह्वाइट हाउसको इच्छाविपरीत जाने सम्भावना कम रहेको बताएका छन् ।
यसैबीच, अमेरिकाका नयाँ राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको यस मुद्दामा प्रभाव पर्ने सम्भावना रहेको छ । उनले टिकटकका प्रमुख शोउ जी च्युसँग भेटवार्ता गरी जारी मुद्दामा आफ्नो विरोध जनाएका छन् । तर, ट्रम्पले आफ्नो कार्यकाल जनवरी २० बाट मात्रै सुरु गर्ने भएकाले यो समय टिकटक बन्द हुने तोकिएको मितिभन्दा एक दिन पछि पर्छ ।
कतिपय नागरिक अधिकारवादी संस्थाहरूले भने टिकटकको समर्थन गरेका छन् । उनीहरूले सर्वोच्च अदालतलाई टिकटक बन्द गर्ने निर्णय रोक्न आग्रह गर्दै टिकटकलाई लाखौं मानिसले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने र यसले अभिव्यक्ति स्वतन्त्रतालाई प्रवर्द्धन गर्ने तर्क प्रस्तुत गरेका छन् ।