close

स्मार्ट तरिकाले गुगल ड्राइभ चलाउन जान्नुहोस् यी ६ ट्रिक्स

टेकपाना टेकपाना

पुस ७, २०८१ १४:५९

स्मार्ट तरिकाले गुगल ड्राइभ चलाउन जान्नुहोस् यी ६ ट्रिक्स

काठमाडौं । गुगल ड्राइभका दुई अर्ब बढी प्रयोगकर्ता छन् । क्लाउडमा आधारित स्टोरेज सेवा दिने यो प्लेटफर्म थुप्रै प्रयोजनमा काम लाग्छ । अनलाइनमा फाइल भण्डारण गर्न र त्यसमा कसैलाई पहुँच दिन, सबै डिभाइसमा फाइल सिङ्क गर्न, फाइल शेयर गर्न, भिडिओ, प्रिजेन्टेसन, फोटो भण्डारण लगायतका लागि गुगल ड्राइभ प्रयोग गर्न सकिन्छ । 

गुगलले प्रयोगकर्तालाई निःशुल्क १५ जीबी स्टोरेज उपलब्ध गराउँछ । तर, गुगल फोटोज र जिमेलको स्टोरेज पनि त्यसैमा समेटिएको हुन्छ । गुगल वन अर्थात् पैसा तिर्ने प्रयोगकर्ताका लागि १०० जीबी र २ टीबी स्टोरेजको विकल्प छ ।

१) भ्वाइस टाइपिङ 

बोलेरै टाइप गर्न चाहनुहुन्छ भने गुगल ड्राइभमा गज्जबको फिचर छ । त्यसमा नेपाली बोलेरै टाइप गर्न सकिन्छ । गुगल ड्राइभभित्र गुगल डक्समा नेपाली टाइप गर्न तलको प्रक्रिया अपनाउनुहोस्: 

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल डक्स खोल्नुहोस् । (वा, गुगल ड्राइभमा गई फाइलको अप्सनबाट गुगल डक्स छान्नुहोस् ।)

  • त्यसपछि माथि देखिएको टुल्सको अप्सनमा जानुहोस् । 

  • र, भ्वाइस टाइपिङको अप्सन छान्नुहोस् । 

  • यति गरेपछि गुगल डक्स पेजमा भ्वाइस टाइपिङको अप्सन देखिन्छ । त्यसमा भएको ‘English’ मा ट्याप गरेर नेपाली छान्नुहोस् । 

  • यति गरेपछि माइक्रोफोनको एक्सेस दिनुहोस् । र, बोलेर सजिलै नेपाली टाइप गर्नुहोस् ।

 २) लिङ्क राख्ने 

गुगल डक्समा लिङ्क राख्नुपर्ने विभिन्न अवस्था आउँछन् । खासगरी तपाईंले कुनै पनि सामग्रीका लागि स्रोतको सहायता लिनुभयो भने त्यस्तोमा ब्याकलिङ्क गर्नुपर्ने हुन्छ । ब्याकलिङ्क गर्नका लागि सबैभन्दा पहिले गुगल डक्स खोल्नुहोस् । अनि आफूले ब्याकलिङ्क गर्नुपर्ने टेक्स्ट सेलेक्ट गर्नुहोस् । अनि ‘कन्ट्रोल प्लस के’ (ctrl+k) थिच्नुहोस् । र, लिङ्क राखेर इन्टर गर्नुहोस् । 

३) वेबमा फाइल पब्लिस गर्ने तरिका 

कहिलेकाहीं तपाईंले लामो आर्टिकल, लेख वा विचार शेयर गर्न खोज्नु भएको हुनसक्छ । हुन त त्यस्ता लेख सार्वजनिक गर्न सकिने कैयौं सामाजिक सञ्जाल र वेबसाइटहरू उपलब्ध छन् । तर, तपाईं आफ्ना लेख गुगल डक्सबाटै वेबमा पब्लिस गर्न चाहनुहुन्छ भने तलको तरिका अपनाउन सक्नुहुन्छ:

  • सबैभन्दा पहिले गुगल डक्समा जानुहोस् । अनि आफूले चाहेको टेक्स्ट टाइप गर्नुहोस् । आवश्यकता अनुसार फोटो वा भिडिओ पनि राख्न सक्नुहुन्छ । 

  • त्यसपछि माथि रहेको फाइलको अप्सनमा जानुहोस् । 

  • अनि शेयरको अप्सन छान्नुहोस् । 

  • त्यसपछि ‘पब्लिस टु वेब’ भन्ने अप्सन छान्नुहोस् ।

  • यति गरेपछि पब्लिस (Publish) को अप्सन छान्नुहोस् । र, लिङ्क कपी गर्नुहोस् ।

  • तपाईंले यो लिङ्क जसलाई पठाउनु भयो उनले तपाईंले उक्त फाइलमा के लेख्नुभएको छ वा केके सामग्री राख्नु भएको छ भन्ने हेर्न सक्नेछन् । 

४) पीडीएफबाट टेक्स्ट निकाल्ने 

गुगल ड्राइभमा ओसीआर अर्थात् अप्टिकल क्यारेक्टर रिकग्निसन (फोटोमा भएको टेक्स्ट थाहा पाउने) फिचरको फिचर उपलब्ध छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले पीडीएफ वा फोटो फाइललाई गुगल ड्राइभमा अपलोड गर्नुहोस् । 

  • त्यसपछि त्यसलाई राइट क्लिक गरी ‘ओपन विथ’ ट्याबमा जानुहोस् ।

  • र, डक्सको अप्सन छान्नुहोस् । 

  • यति गरेपछि फोटो वा पीडिएफमा भएको टेक्स्ट डक्समा आइपुग्छ । 

यदि तपाईंले छानेको टेक्स्ट नेपाली हो भने तपाईंले त्यसको स्क्रिनशट लिएर फोटोका रूपमा अपलोड गर्दा उपयुक्त हुन्छ । हामीले परीक्षण गर्ने क्रममा पीडीएफ फाइलको टेक्स्ट राम्रोसँग नउतारेको पायौं । 

५) स्टोरेज कम भयो ?

तपाईंले दिनहुँ गुगल ड्राइभ प्रयोग गरिरहनु भएको छ भने तपाईंको स्टोरेज घट्दै गएको हुन सक्छ । यस्तमा तपाईंले काम नलाग्ने र बढी स्टोरेज खपत गर्ने फाइल हटाउन सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले गुगल डक्समा जानुहोस् ।

त्यसपछि बायाँपट्टि रहेको स्टोरेजको अप्सन छान्नुहोस् । यति गरेपछि तपाईंका सबै फाइलहरू त्यहीं देखिन्छन् । आवश्यक नभएका फाइल हटाएर स्टोरेज बढाउन सक्नुहुन्छ ।

६) फाइल ट्रयाक गर्ने 

तपाईंले शेयर गरेको फाइल कसले कसले हेर्‍यो वा एडिट गर्‍यो भन्ने थाहा पाउन सकनुहुन्छ ? त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले गुगल ड्राइभमा फाइल खोल्नुहोस् ।

  • अनि छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि ‘फाइल इन्फरमेसन’को अप्सनमा जानुहोस् । 

  • र, एक्टिभिटीको अप्सनमा जानुहोस् । 

  • अनि दायाँपट्टि रहेको एक्टिभिटीको अप्सनमा जानुहोस् । त्यसमा उक्त फाइल कसले हेर्‍यो, कसले एडिट गर्‍यो भन्ने थाहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८१ १५:७