काठमाडौं । युट्युबको ग्लोबल ट्रेन्डिङमा पुग्न सफल भएको चर्चित गीत रुकुमैकोट सुन्नु भएकै होला । अनि कुशल पोख्रेलको 'पैसा' नि ? युट्युबमै गएर यी गीत सुन्नु भएको छ भने तिनको थमनेल पनि याद गर्नु भएकै होला । जसको डिजाइनर हुन्, १९ वर्षीय विप्सन नेपाली ।
उनी अहिले कुशल पोख्रेल, द नेपाली कमेन्ट, ह्वाइ सो अफेन्डेड, प्रोजेक्ट कुरा, एलोवर्क्स प्रोडक्सन, विक्रम घिमिरे, सहत कासा, १०१ भाइन्स, ह्वाट इज इट, वाङदेन शेर्पा, विभस जेक लगायतका युट्युब च्यानलका लागि नियमित थमनेल डिजाइन गर्छन् । यस बाहेक प्रिदेभ जोशी, सिसन बानियाँ, लालपूर्जा नेपाल, द नेपाली पोडकास्ट लगायतका च्यानलको लागि पनि बेला बेलामा थमनेलको काम उनले हेर्ने गर्छन् ।
झन्डै डेढ वर्ष अगाडि सामाजिक सञ्जाल फेसबुकको एउटा पेज 'एनईबी रिजल्ट्स' मा विप्सनले एउटा पोस्ट देखे । पोस्टसँगै एक किशोरको तस्विर थियो । अहो, यो त निश्चल भाइ पो हो त ! त्यही निश्चल भाइ, जसलाई उनले केही समय अगाडि फोटो एडिट गर्न सिकाइदिन्थे । फोटोशपका अनेकन टुल र तिनको प्रयोग बारे बताइदिन्थे । सामाजिक सञ्जालबाट जोडिएका विप्सन र निश्चलले केही समय फोटो एडिटिङका आ-आफ्ना स्किल साटासाट गरे ।
केही समय पछि उनीहरू दुवै आआफ्नो बाटो लागे, निश्चल के मा लागे थाहा भएन,विप्सन भने कक्षा ११ -१२ पढ्दै थिए, दाङको घोराही स्थित डेरामा । लामो समयको अन्तरालपछि एनईबी रिजल्ट्सको त्यही पोस्ट देखेर थाहा भयो , निश्चल त स्थापित थमनेल डिजाइनर बनिसके छन् । उनले विशेषगरी भारतीय युट्युबरहरूको थमनेल डिजाइनिङको काम गर्दा रहेछन् । विप्सनले निश्चलको तस्विर मात्र याद गरेनन्, तस्विरसँगै याद गरे सँगै रहेको म्याकबुक पनि । विप्सनलाई निश्चलको म्याकबुकले गिज्जाए झैँ महसुस भयो ।
"यो मैले पनि गर्न सक्ने काम हो त, मैले किन कहिल्यै यो पाटो तिर ध्यान नै दिइन् ?" उनले आफैँलाई प्रश्न गरे र अठोट पनि लिए, “अब म पनि अब थमनेल डिजाइनिङको काम गर्छु ।” काम गर्ने हुटहुटी त जाग्यो, तर दाङको एउटा घरमा डेरा लिएर बसेको १७ वर्षको ठिटोलाई काम कसरी खोज्ने थाहा थिएन । काम पाइहाले कति पैसा माग्ने ? न त थमनेल डिजाइनिङमा कुनै अनुभव थियो । त्यति बेलासम्म उनका लागि फोटो एडिट गर्नु फगत एउटा शोख मात्र थियो । त्यो शोख जुन विप्सन ७ कक्षामा पढ्दै गर्दा बुबाले क्यामरावाला मोबाइल किनेसँगै उब्जिएको थियो ।
“म ७ कक्षामा पढ्दा बुबाले पहिलो पटक क्यामेरा वाला मोबाइल किन्नु भयो, मैले बुबाको मोबाइलबाट आफ्ना वरिपरी भएका चिजवस्तुहरूको फोटो खिच्न थालेँ, विशेषगरी फूलको फोटो खिच्थेँ त्यतिबेला । विस्तारै ती तस्विरहरूलाई अनेकन रूप रङ दिने रहर पनि जाग्न थाल्यो । त्यही रहरले मलाई 'पिक्सआर्ट' भन्ने मोबाइल एप सम्म पुर्यायो । पिक्सआर्टबाट मेरो डिजाइनिङ यात्रा सुरु भएको हो,” उनी आफ्ना सुरुवाती दिनहरू सम्झिन्छन् ।
उनले झण्डै एक वर्षसम्म पिक्सआर्टबाट अनेकन् फोटो एडिट गरे । तर पिक्सआर्टमा सीमित टुलहरू मात्र भएकाले आफूले सोचे अनुरूपको नतिजा निकाल्न नसकिएको अनुभव हुन थाल्यो । तब उनको ध्यान गयो 'पिक्सआर्ट' भन्दा अझै परिष्कृत मोबाइल एप लाइट रुममा । "लाइट रुममा पिक्सआर्ट भन्दा धेरै नै प्रोफेसनल खालको एप हो । यसमा प्रोफेसनल ग्रेड टुल्स, रअ एडिटिङ, लेन्स करेक्सन जस्ता फिचर छन्, जुन पिक्सआर्टमा थिएनन्," उनले भने ।
विप्सन आफूले एडिट गरेका तस्विरहरू फेसबुकमा अपलोड गर्थे । फेसबुकमै अरूले एडिट गरेका तस्विर पनि खोजी खोजी हेर्थे । यही क्रममा उनले किशोर खत्री नाम गरेका एक युवाले एडिट गरेका तस्विरहरू देखे । सामाजिक सञ्जालबाटै किशोरलाई सम्पर्क गरे र ‘ती तस्विरहरू कसरी एडिट गर्नु भएको हो ?’ भनेर जिज्ञासा राखे । किशोरले ' फोटोशप' को नाम लिए । किशोरको मुखबाट फोटोशप सुनेपछि उनले सम्झिए- बुबाको ल्यापटममा पनि त फोटोशप छ । अब उनी फोटोशपबाटै एडिटिङ सिक्छु भन्ने मनसायमा पुगिसकेका थिए । यसकै लागि उनले युट्युबमा फोटोशपको ट्युटोरियल हेर्न थाले । युट्युबमा फोटोशपका नयाँ भर्सनलाई लिएर डिजाइनिङ सिकाएका हुन्थे, तर बुबाको ल्यापटपमा भएको फोटोशप पुरानो भर्सनको थियो । त्यसमा ट्युटोरियलका सबै टुल उपलब्ध थिएनन् । नयाँ भर्सन धान्ने खालको ल्यापटप नै थिएन बुबाको ।
तर पनि उनको डिजाइनिङ यात्रा भने निरन्तर अगाडि बढिरह्यो । उपलब्ध सीमित स्रोत साधनमा उनले आफ्नो डिजाइनिङ सीपलाई मलजल गरिरहे । निश्चलको पोस्ट आउने बेलासम्म पनि उनी बुबाको पुरानो ल्यापटपमा पुरानै भर्सनको फोटोशपबाट आफ्नो ग्राफिक्स डिजाइनिङको रहर मेटिरहेका थिए । "ग्राफिक्स डिजाइनिङ मेरो करियर फिल्ड हो भन्ने महसुस भएको भए म डिभाइस अपग्रेडतिर लाग्थेँ होला । तर म आफैँलाई त्यस्तो लाग्दैन्थ्यो । त्यो पोस्ट देखेपछि बल्ल म पनि गर्न सक्छु भन्ने लागेको हो । "
‘शोखलाई नै पेसा व्यवसाय बनाउन सक्छु’ भन्ने लागेपछि उनले नेपालका चर्चित युट्युबर कुशल पोख्रेलको एउटा भिडिओको लागि डमी थमनेल बनाए र कुशललाई मेसेज गरे । तीन दिनसम्म कुशलले उनको मेसेज नै हेरेनन् । कुशलले मेसेज नहेरेपछि उनले कुशलसँगै अभिनय गर्ने कुशलका साथी जय खतिवडालाई मेसेज गरे । जयले भने उनलाई रिप्लाई दिए । जयकै माध्यमबाट कुशलले विप्सनलाई एउटा थमनेलको अर्डर दिए ।
उनले कुशलको लागि ट्र्याप स्टार पार्ट २ नामक भिडिओको थमनेल बनाइदिए । उक्त भिडिओमा अप्रत्याशित भ्युज आयो । खुसी भएर कुशलले उनलाई एउटा थमनेलको पारिश्रमिक स्वरूप एक हजार रुपैयाँ दिए । जस मध्येबाट पाँच सय रुपैयाँ विप्सनले बुबालाई दिए, बाँकी पाँच सयले साथीहरूलाई पार्टी । कुशलले बिस्तारै अरू काम पनि दिए । विप्सनले कुशलका लागि गरेको आफ्नो काम देखाएर कमेडियन सज्जन श्रेष्ठलाई मेसेज गरे । सज्जन पनि उनलाई काम दिन तयार भए । त्यसपछि त रिफरकै माध्यमबाट उनलाई धेरै काम आउन थाल्यो ।
थमनेल र पोस्टर डिजाइन गरेर नै आफूले हाल मासिक एक लाख भन्दा बढी आम्दानी गर्ने गरेको उनको भनाई छ । थमनेललाई युट्युब भिडिओको एक महत्त्वपूर्ण भागको रूपमा लिइन्छ । "युट्युबमा कन्टेन्टको गुणस्तरलाई सबै भन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । त्यो गुणस्तर मापन गर्ने एउटा माध्यम भनेको थमनेल हो जस्तो लाग्छ" विप्सन भन्छन् ।
विप्सनले बनाउने थमनेलमा के फरक छ त भन्ने प्रश्नमा उनी भन्छन् " म डिटेलिङमा काम गर्छु, कन्टेन्ट बुझेर मात्र डिजाइन गर्छु । सायद यसले नै मलाई अरू भन्दा फरक बनाएको होला ।"
नेपालमा हाल युवा पुस्ताहरूमा युट्युब प्रतिको आकर्षण बढ्दै गएको छ । युट्युबलाई नै फुलटाइम व्यवसाय बनाउनेहरू बढ्दै जाँदा थमनेललाई नै "निस" बनाएर काम गर्न अझै पनि धेरै स्पेस रहेको उनको बुझाई छ । हाल विप्सनले थमनेल र पोस्टर डिजाइनिङसँगै बीएससी सीएसआईटीको पनि अध्ययन गरिरहेका छन् । अध्ययनसँगै ग्राफिक्स डिजाइनिङको आफ्नो पेसालाई अटोमेटेड गराउने योजना पनि उनले बनाएका छन् । यसका लागि उनले आफ्ना दुई साथीहरूलाई पनि मेन्टरशिप दिइरहेका छन् । हाल नेपाली युट्युब जगतमा विप्सन एक अब्बल थमनेल डिजाइनरको रूपमा स्थापित भइसकेका छन् ।
तर पनि यो क्षेत्र निकै चुनौतीपूर्ण रहेको उनलाई अनुभव हुन्छ । धेरै क्लाइन्टले उनले डिजाइन गर्ने थमनेलको मूल्य २ हजारदेखि सुरु हुन्छ भन्दा जिब्रो टोक्ने गर्छन् । उनको कामलाई नभई उमेरलाई मानक बनाएर अप्रोच गर्नेहरू अनेकौँ आउँछन् । उनले एक अनुभव शेयर गर्दै भने, "हालै एउटा नाम चलेको सिरियलका कन्टेन्ट म्यानेजरले मलाई फोन गरेर थमनेल बनाउन आग्रह गरे । आफैँले पैसा अफर गरे अनि एउटा थमनेलको २ सय रुपैयाँ दिन्छु भने ।”
विप्सनले उनलाई आफ्नो पोर्टफोलियो देखाउँदै न्यूनतम पारिश्रमिक प्रति थमनेल २ हजार भएको जानकारी गराए । ती कन्टेन्ट म्यानेजरले उनलाई आधा घण्टाको कामको लागि २ हजार माग्नु जायज नभएको सुनाए । “मैले चार्ज गर्ने पैसा आधा घण्टाको लागि होइन, मैले आधा घण्टामा काम सक्नको लागि वर्षौँसम्म गरेको मेहेनतको लागि हो,” उनले जवाफ दिए ।
ग्राफिक्स डिजाइनिङको क्षेत्रमा लागेका नयाँ पुस्तालाई विप्सन एक सन्देश दिन चाहन्छन् । "मेहनत र पारिश्रमिक दुबैमा सम्झौता नगर्नुहोस् । ग्राफिक्स डिजाइनिङको क्षेत्र पनि एक उदाउँदै गरेको क्षेत्र हो । यसमा पनि हरेक दिन नयाँ - नयाँ फिचरहरू आउने गर्छन्, डिजाइनरले आफूलाई त्यसमा अभ्यस्त बनाउँदै लैजानु पर्छ ।"
उदाहरणकै लागि अहिले फोटोशपमा विभिन्न एआई टुलहरू आएका छन् । यी टुलहरूलाई समयसापेक्ष प्रयोग गर्न जान्नु जरुरी रहेको उनी बताउँछन् । थमनेल डिजाइन गर्दा युट्युबको अल्गोरिदम बुझ्नु पर्छ । सकेसम्म मिनिमल डिजाइनमा थोरै टेस्क्ट होस् भन्ने ख्याल पुर्याउनु पर्छ ।
थमनेल डिजाइनिङ मात्र नभएर हाल उनले म्युजिक भिडिओको पोस्टर डिजाइनिङको काम समेत गर्ने गर्छन । थमनेल र पोस्टर डिजाइनिङ बाहेक विप्सन सङ्गीतमा रुची राख्छन् । डेराको एक्लो बसाई , अध्ययनको जिम्मेवारी र कामको तनावलाई व्यवस्थापन गर्न सङ्गीतले ठुलो मद्दत गरेको उनी सुनाउँछन् । “कहिलेकाहीँ सानै उमेरमा धेरै ठुलो तनाव लिए जस्तो पनि लाग्छ । त्यो बेला म गीत सुन्छु, भजन गाउँछु, कभर भिडिओ बनाएर युट्युबमा पनि हाल्छु । युट्युब मेरो आयस्रोतको माध्यम पनि बनेको छ, सेफेस्ट इस्केप पनि बनेको छ,” उनी भन्छन् ।