काठमाडौं । गृहमन्त्री रमेश लेखकले आत्महत्या न्यूनीकरणमा सहयोग पुर्याउन सरकारले मोबाइल ‘एप’ बनाउने तयारी गरिरहेको बताएका छन् । सोमबार गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच आत्महत्यासम्बन्धी अध्ययन, अनुसन्धान, र नियन्त्रणका लागि भएको समझदारीका क्रममा मन्त्री लेखकले मोबाइल एप विकास गर्ने तयारीबारे जानकारी दिएका हुन् ।
“हामी अत्यन्त अठोट लिएर काम गर्छौँ, प्रतिबद्धताका साथ काम गर्छौँ, गम्भीरतापूर्वक काम गर्छौं,” गृहमन्त्री लेखकले भने, “र एक वर्ष भित्र आत्महत्याको घटनालाई राम्रोसँग नियन्त्रण गर्छौँ । निकै घटाउँछौँ, किनभने हामी मूलतः तीन चार ओटा काम गर्छौ भनेर आज हामीले यो एमओयू गरेका छौँ ।”
गृहमन्त्री लेखकका अनुसार पहिलो काम काठमाडौँ युनिभर्सिटी सेन्टर फर मेन्टल हेल्थले नेपालमा यसरी आत्महत्याका घटना बढ्नुको कारण पत्ता लगाउनेछ । र, यसको निदान गर्ने अनि यसको खोजी गर्नेछ ।
त्यस्तै दोस्रोमा आत्महत्या गर्ने जोखिममा रहेका सम्भावित व्यक्तिको पहिचान गर्ने र उनीहरूको जानकारी प्रहरीले काठमाडौँ युनिभर्सिटी सेन्टर फर मेन्टल हेल्थलाई उपलब्ध गराउनेछ । त्यसपछि टेलिमेडिसिन मार्फत काउन्सिलिङको काम अगाडि बढ्नेछ ।
त्यसैगरी काठमाडौं युनिभर्सिटी सेन्टर फर मेन्टल हेल्थले नेपाल प्रहरीलाई आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिसँग अन्तरक्रिया गर्ने विषयमा तालिम दिनेछ । र, यी सबै पक्ष जोड्ने काम मोबाइल एपले गर्नेछ ।
“भविष्यमा केही समयपछि एउटा एप डेभलप गर्छौँ,” गृहमन्त्री लेखकले भने, “यो सबै कुरालाई एपसँग हामी जोड्छौँ । नेपाल प्रहरी र काठमाडौँ युनिभर्सिटीको सेन्टर फर मेन्टल हेल्थ आपसमा जोडिन्छन् । र त्यो एपसँग हामी जोखिममा रहेका मानिसहरूलाई जोड्छौँ । आत्महत्या गर्ने कोसिस गर्दा बाँचेका मानिसहरूलाई जोड्छौँ र उनका परिवारलाई पनि जोड्छौँ ।”