काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुक र अन्य माध्यममा ‘वाई-फाई विवाद’को विषयलाई लिएर नातिनीहरूले हजुरबुवाको हत्या गरेको समाचार भाइरल भइरहेको छ । समाचारमा हजुरबुवाले वाई-फाई बन्द गरेपछि नातिनीहरूले कुटपिट गरी हत्या गरेको दाबी गरिएको छ । यसैलाई आधार मानेर केही फेसबुक पेजहरूले नातिनीहरूलाई दोषी देखाउँदै भ्रामक शीर्षक राखेर घटनालाई भाइरल बनाएका छन् ।
यो पर्सा जिल्ला पोखरिया नगरपालिका-८ जगतपुर भन्ने गाउँको घटना हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले समाचार माध्यम र सामाजिक सञ्जालमा आए जस्तो कुटपिट गरी नातिनीहरूले ८० वर्षीय रामजान देवानको हत्या गरेको भन्ने जानकारी भ्रामक भएको स्पष्ट पारे ।
“वाई-फाईको विषयमा साेमबार दिउँसाे सामान्य विवाद भएको रहेछ । तर कुटपिट भएकाे पाइएन । साँझ प्रेसर लो भएका कारण उहाँ ढल्नुभयो । अस्पतालमा उपचारका क्रममा निधन भएको हो,” प्रवक्ता लम्सालले भने । उनका अनुसार मृतकको शरीरमा कुनै चोटपटक थिएन ।
उक्त वडाका अध्यक्ष किशोरी साह र मृतक रामजान देवानको घर सँगै छ । “विवाद त्यस्तो धेरै ठूलो भएको होइन । माेबाइलमा इन्टरनेट नचलेपछि हजुरबुवाले राउटर बन्द गर्न नातिनीलाई लगाएका रहेछन् । त्याे क्रममा सामान्य विवाद भएकाे देखियाे,” अध्यक्ष साहले भने, “विवाद भएको दिउँसो ४ बजेतिर हो । उहाँ बिरामी भएको बेलुका साढे ७ बजेतिर हो ।”
उनका अनुसार दिउँसो वाई-फाईको विषयमा नातिनी र हजुरबुवाबीच सामान्य विवाद भएको थियो । बेलुका ७ बजे खाना खाएर सुत्ने बेला रामजान देवानको नाक र मुखबाट रगत आउन थाल्यो । त्यसपछि तत्कालै उनलाई नजिकको अस्पताल पुर्याइएको थियो ।
तर, उनीहरूसँग उपचार गर्ने पैसा थिएन । वडा अध्यक्ष साहले रकमको बन्दोबस्त गरिदिए । “मैले २० हजार रुपैयाँ दिएर उपचार गर्न लगाएँ । तर, डाक्टरले बाँच्ने सम्भावना जम्मा १० प्रतिशत मात्र छ भनेको थियो । मङ्गलबार बिहान निधन भयो,” उनले अस्पतालको रिपोर्टका आधारमा उद्धृत भने, “मृत्युको कारण हृदयघात भएको देखिएको छ ।”
साहका अनुसार रामजान देवानका ती दुई नातिनीहरू छोरीपट्टिका नातिनीहरू हुन् । रामजानले दुई बिहे गरेका थिए । दुवै श्रीमतीतर्फका छोरासँग उनको सम्बन्ध राम्रो थिएन । त्यसैलाई लिएर परिवारको कसैले रामजानको निधन हुनुमा दुई नातिनी जिम्मेवार रहेको भनेर प्रहरीलाई भनिदिएको हुनसक्ने उनले अड्कल काटे । संयोगले उक्त घटनामा नातिनीहरू जिम्मेवार देखिएको उनले सुनाए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रामजान देवानका १८ र २० वर्षीया नातिनीहरूलाई नियन्त्रणमा लिएको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले यस घटनामा अनुसन्धान भइरहेको जानकारी दिए ।