close

६ महिनादेखि अन्तरिक्ष स्टेसनमा अड्किएका सुनिता र बच भन्छन्: हामी बेसहारा छैनौं

टेकपाना टेकपाना

पुस २७, २०८१ २१:२

६ महिनादेखि अन्तरिक्ष स्टेसनमा अड्किएका सुनिता र बच भन्छन्: हामी बेसहारा छैनौं

काठमाडौं । सन् २०२४ को जुनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका दुई नासाका अन्तरिक्ष यात्रीले आफूलाई ‘बेसहारा नठानेको’ बताएका छन् । बच विल्मोर र सुनिता विलियम्सले सुरुवातमा आठ दिनका लागि अन्तरिक्षमा जाने योजना बनाएका थिए । तर बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि उनीहरू आईएसएसमा अड्किएका थिए । समस्या आएपछि सेप्टेम्बरमा उक्त यान उनीहरू बिना नै पृथ्वी फर्किएको थियो ।

बुधबार साँझ नासाका प्रतिनिधिसँगको लाइभ भिडियो कार्यक्रममा अन्य दुई अन्तरिक्ष यात्रीहरूसँगै उनीहरू खुसी देखिएका थिए । टम ह्याङ्क्सको फिल्म ‘कास्ट अवे’ (जसमा मुख्य पात्र एक मरुभूमिको टापुमा फसेका हुन्छन्) को सन्दर्भमा सोधिएको प्रश्नमा सुनिताले आफू र विल्मोरले आफूहरूलाई बेवारिसे नठानेको बताइन् ।

“हामी घर जान चाहन्छौं,” उनले भनिन्, “हामीले हाम्रा परिवारहरूलाई केही समयअघि छोडेका थियौं । तर यहाँ हामीले धेरै काम गर्नुपर्नेछ । र हामीले जानुअघि त्यो काम पूरा गर्नुपर्छ ।”

कुराकानीकै क्रममा अन्तरिक्ष यात्रीहरूले क्यालिफोर्नियामा फैलिएको डढेलो अन्तरिक्ष स्टेसनको झ्यालबाट नदेखेको बताए । तर, उनीहरूले आईएसएसबाट अमेरिकी राज्य पार गर्ने क्रममा त्यहाँका मानिसलाई सहयोग गर्न अन्तरिक्ष स्टेसनबाट तस्बिर लिने बताएका छन् ।

विल्मोर र सुनिता दुवै सेवानिवृत नौसेनाका कप्तान हुन् । गत महिना फेब्रुअरीमा पृथ्वी फर्किने तय भएको स्पेसएक्स रकेटमा पनि समस्या आएपछि उनीहरू पृथ्वी फर्किन अझ ढिलो भएको छ । 

अहिले नासाको अर्को टोली आईएसएसमा जानको लागि पर्खिरहेको छ । त्यसमा नासाका निक हेग र रूसका अलेक्जेन्डर गोर्बुनोभ छन् । सुनिता र विल्मोर उनीहरूसँगै पृथ्वी फर्किनेछन् ।
गत अगस्टमा बोइङले अन्तरिक्ष यात्री ‘अड्किएका’ अवस्थामा नरहेको बताएको थियो । त्यही बेला सुनिताले अन्तरिक्ष स्टेसनलाई आफ्नो ‘खुसीको स्थान’ भनेकी थिइन् । त्यसपछिको लगभग छ महिना उनीहरूले अमेरिकी निर्वाचन र क्रिसमस पनि आईएसएसमा बिताए ।

उनीहरू दुवैले अमेरिकी चुनावमा मतदान गर्न पाएका थिए । विल्मोरले आफ्नो छोरीको हाईस्कुलको अन्तिम वर्ष गुमाए पनि अन्तरिक्ष यात्रीहरू बुधबार पृथ्वीमा गरेको भिडियो कलमा खुसी देखिन्थे ।लामो समय अन्तरिक्षमा बिताए पनि उनीहरू खतरामा भने छैनन् ।

अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा सुनिता र विल्मोरभन्दा धेरै लामो समय बिताएका छन् । जसमा रूसी भ्यालेरी पोल्याकोभको नाममा सबैभन्दा बढी समय अन्तरिक्षमा बिताएको रेकर्ड छ । उनले सन् १९९० को दशकको मध्यमा ४३७ दिन पृथ्वीबाट बाहिर बिताएका थिए । सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियो ३७१ दिनको यात्राबाट फर्किएर अमेरिकीद्वारा अन्तरिक्षमा बिताएको सबैभन्दा लामो समयको रेकर्ड तोडेका थिए ।

नासाका अनुसार आईएसएसमा रहेका अन्तरिक्ष यात्रीले हालै दुई ओटा कार्गो डेलिभरी पनि प्राप्त गरेका थिए । त्यसमा लुगा, खाना, पानी र अक्सिजन थियो । विल्मोर र सुनिता आईएसएसको नियमित चालक दलको हिस्सा बनेका छन् । र उनीहरूले प्लम्बिङ र स्पेस स्टेसनको मर्मतजस्ता काम गरिरहेका छन् ।

अर्को हप्ता सुनिताले अन्तरिक्ष स्टेसनको बाहिरी भागमा रहेको एक उपकरणको टुक्रा बदल्नको लागि अर्को चालक दलका सदस्यसँग स्पेसवाकमा भाग लिने कार्यक्रम छ । उनीहरूले टेलिस्कोप र रिफ्लेक्टरका साथै अन्य वस्तुहरू पनि ठीक गर्ने बताइएको छ । सुनिताका लागि यो नासा करियरको आठौं ठूलो स्पेसवाक हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८१ २१:२