close

यस्तो छ हुन्डाईको क्रेटा ईभी, कहिलेसम्म आइपुग्छ नेपाल ?

टेकपाना टेकपाना

माघ ६, २०८१ १४:४४

यस्तो छ हुन्डाईको क्रेटा ईभी, कहिलेसम्म आइपुग्छ नेपाल ?

काठमाडौं । आयोनिक फाइभ र कोना ईभीपछि हुन्डाईले नयाँ क्रेटा ईभी बजारमा उतारेको छ । दक्षिण कोरियाली कम्पनीले ल्याएका अहिलेसम्मका तीन ईभी मोडेल मध्ये क्रेटालाई नै पहिलो 'किफायती' मूल्यको ईभी मान्न सकिन्छ । करिब एक दशकदेखि भारत र नेपालको बेस्ट सेलिङ एसयूभीको रूपमा स्थापित क्रेटा विद्युतीय भर्सनमा आउनुले ईभीको प्रतिस्पर्धामा यसले कम्पनीको उपस्थिति दरिलो बनाउने अपेक्षा राख्न सकिन्छ । कम्पनीका अनुसार अहिलेसम्म पेट्रोल तथा डिजेलबाट चल्ने क्रेटा एसयूभी भारतमा ११ लाख र नेपालमा १० हजार युनिट बिक्री भइसकेको  छ । 

शुक्रबार औपचारिक रूपमा भारतीय बजारमा सार्वजनिक भएको यो ईभीको सुरुवाती मूल्य १८ लाख भारु छ । आउँदो फेब्रुअरीसम्म नेपाली बजारमा आइपुग्ने अपेक्षा राखिएको क्रेटा ईभीको मूल्य ५५ लाख रुपैयाँ आसपास हुन सक्ने अनुमान छ । ब्याट्री तथा मोटर क्षमताका हिसाबले तत्काल एउटा मात्र मोडेल नेपाल आउने भए पनि ग्राहकले एक्जिक्युटिभ, स्मार्ट र प्रिमियम गरी तीन ओटा भेरियन्ट अप्सन खरिद गर्न पाउने छन् । 

कोरियाली कम्पनी भए पनि क्रेटा भारतमै निर्मित गाडी हो, जुन कोरियामा भने उत्पादन हुँदैन । आईसीईसँगै क्रेटाको ईभी मोडेल पनि भारतमै उत्पादन गरिएको हो । भारतीय शेयर बजारमा समेत सूचीकृत यो ब्रान्ड नेपाली बजारमा पनि राम्रोसँग स्थापित छ । क्रेटा ईभीमा प्रयोग गरिएको ब्याट्री फेर्दा कम्तीमा त्यसको ५० प्रतिशत भ्यालु ग्यारेन्टी गर्ने दिशामा समेत लक्ष्मी हुन्डाईले काम भइरहेको बताएको छ । चिनियाँ ब्रान्डका ईभीको बाढी आई रहँदा हुन्डाई कम्पनी प्रतिको ग्राहकको विश्वसनीयता र स्पेयर पार्ट्सको उपलब्धताले नेपाली उपभोक्तालाई ईभीतर्फ शिफ्ट हुने कुरामा विश्वस्त पार्न सक्छ ।  

ब्याट्री र रेन्ज

हुन्डाईको क्रेटा ईभी मूलतः दुई ओटा ब्याट्री प्याक अप्सनमा आएको छ - ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर । जसमा क्रमशः १२६ किलोवाट र ९९ किलोवाटको मोटर जडित छ । तर नेपालमा भने यो ईभी सुरुवाति चरणमा ४२ किलोवाट आवर ब्याट्री तथा ९९ किलोवाट मोटर पावर अप्सनमा मात्रै आउने लक्ष्मी हुन्डाईले जनाएको छ । 

क्रेटा ईभीमा एनएमसी ब्याट्री राखिएको छ । जुन आईपी ६७ वाटरप्रपुफ तथा डस्ट प्रुफ हो । गाडीलाई ४२० एमएम गहिराईको पानीमा १२० सेकेन्डसम्म डुबाएर परीक्षण गरिएको थियो भने ड्रप टेस्टका क्रममा १६ फिट माथिबाट खसाल्दा यो ब्याट्री सुरक्षित नै पाइएको थियो । यसमा समावेश ब्याट्री हिटर प्रविधिले गर्दा -३५ डिग्री सेल्सियससम्मको चिसो मौसममा पनि गाडीले राम्रो पर्फर्मेन्स दिने उल्लेख छ । 

 हुन्डाईको दाबी अनुसार ५१.४ किलोवाट आवर ब्याट्रीमा क्रेटा ईभीले ४७३ किमि र ४२ किलोवाट आवर ब्याट्रीमा ३९० किमि रेन्ज दिन्छ । दुवै भर्सनका क्रेटा ईभीमा इको, नर्मल र स्पोर्टस गरी तीन ओटा मोड रहेका छन् । ठुलो ब्याट्री प्याकमा १६८ बीएचपी तथा २५५ एनएम टर्क पाउन सकिन्छ । शून्यदेखि १०० किमि प्रति घण्टाको स्पिड समात्न यो ईभीलाई मात्र ७.९ सेकेन्ड लाग्ने दाबी कम्पनीले गरेको छ । गाडीको साथमा उपलब्ध हुने ११ किलोवाट एसी होम चार्जरले क्रेटा ईभीलाई केवल चार घण्टामै फुल चार्ज गर्न सक्ने दाबी गरिएको छ । डीसी फास्ट चार्जिङको कुरा गर्नु पर्दा क्रेटा ईभीलाई १०% देखि ८०% सम्म चार्ज गर्न ५० किलोवाटको चार्जरले ५८ मिनेट तथा १०० किलोवाटको चार्जरले ३९ मिनेट लाग्ने बताइएको छ । 

फिचर

आईसीई प्लेटफर्ममै निर्मित भए पनि क्रेटा ईभी अनेकन् फिचरले भरिपूर्ण छ । यसमा मनोरन्जनका लागि बोस साउन्ड सिस्टमका आठ ओटा स्पिकर, पानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ प्याड, ड्याशबोर्डमा हलुका घुमाउरो स्क्रिन र अल-डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर छन् । 

अटोमेटिक क्लाइमेट कन्ट्रोलको साथमा ग्लोभबक्स र आर्म रेस्टमुनीको स्टोरेज कम्पार्टमेन्ट दुवैमा कुलिङ सिस्टम पाउन सकिन्छ । अगाडिका दुवै सिट भेन्टिलेटेड हुनुका साथै विद्युतीय रूपमा नै एडजस्ट गर्न सकिन्छ । गाडीमा लेभल टु एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम पनि दिइएको छ । 

क्रेटा ईभीमा केही मौलिक किसिमका फिचर पनि छन् । जस्तै आयोनिक फाइभको झल्को दिने नयाँ स्टियरिङ ह्विल छ र जसमा चार ओटा थोप्ला भएको सङ्केत राखिएको छ, मोर्स कोडमा यसको अर्थ 'H' हुन्छ ।

एउटा आकर्षक फिचर भनेको यो ईभीमा ड्राइभर अन्ली एसी मोड हो, जसले ड्राइभरको साइडमा मात्रै एयर भेन्ट्स एक्टिभ राख्ने काम गर्छ । दुवै फ्रन्ट सिटको पछाडिपट्टि फोल्ड गर्न मिल्ने ट्रे दिइएका छन्, जसले पछाडि सिटमा बसेर काम गर्न सजिलो बनाउँछ । पछाडिका झ्यालहरूका लागि म्यानुअल पर्दाको व्यवस्था पनि गरिएको छ ।

गाडीमा साइडलाइट दिँदा ड्याशबोर्डमै साइड भ्यु हेर्न मिल्छ ।  १०.२५ इन्चको डिजिटल क्लस्टर, भीटुएल, क्रुज कन्ट्रोल जस्ता फिचर पनि यो गाडीमा राखिएका छन् । २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको क्रेटा ईभीमा आर १७ एलोय ह्विल पाउन सकिन्छ भने कम्पनीले गाडीको साथमा एउटा स्पेयर टायर समेत उपलब्ध गराउने बाचा गरेको छ ।  

गाडीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर, रियर डिफगर, अटो होल्ड र फ्रन्ट क्यामेरा, फ्रन्ट राडार तथा रियर राडार सहितको एडीएएस जस्ता फिचर पाउन सकिन्छ । 

फस्ट ड्राइभको अनुभव

केही दिन अघि १५ जनवरीका दिन हामीले पनि क्रेटा ईभी (४२ किलोवाट) को फस्ट ड्राइभ गरेर यसको अनुभव लिएका थियौँ । चेन्नईको नभालुरदेखि पुडुचेरीसम्मको ११५ किमि लामो उक्त यात्रा सुरु गर्दा ९९ प्रतिशत रहेको ब्याट्री ६३ प्रतिशतमा झरेको थियो । इको, नर्मल र स्पोर्ट्स गरी विभिन्न मोडमा परिवर्तन गर्दै करिब १४०-१५० किमि प्रति घण्टासम्मको गति, फुल एसी, नयाँ बाटोमा अपर्झट लगाइएको ब्रेक आदिले ड्राइभिङ ब्याट्री बढीभन्दा बढी ब्याट्री खपत हुने किसिमकै रह्यो ।

यसका बाबजुद गाडीले तय गरेको दुरी हिसाब गर्दा एक प्रतिशत ब्याट्री खपतमा औसत ३.२ किमि रेन्ज दिएको थियो ।  यसरी चलाउँदा १००% ब्याट्रीमा ३२० किमि रेन्ज प्राप्त हुने देखिए पनि फुल चार्जमा इको मोडमा सहज तरिकाले चलाउँदा ३६०-३७० किमि रेन्ज सजिलै पाउन सकिने देखिन्छ । गाडी स्पिडमा गुडाउँदा दुई ठाउँमा अलर्ट दिँदो रहेछ, ८० किमि प्रति घण्टा र १२० किमि प्रति घण्टाको गतिमा ।

सनरुफ हिन्दी र अङ्ग्रेजी दुवै भाषामा भ्वाइस कन्ट्रोलमार्फत खोल्न र बन्द गर्न सकिने रहेछ । यसमा एन्ड्रोइड अटो तथा एप्पल कार प्ले फिचर भए पनि त्यसका लागि यूएसबी केबुल लगाउनै पर्ने रहेछ, वायरलेसबाट काम नगर्ने देखियो । तर गाडीको ड्याशबोर्डमा नेभिगेसन तथा म्याप फिचर भने इनबिल्ट रूपमा नै उपलब्ध गराइएका छन् ।  एसी कन्ट्रोल, ड्राइभिङ मोड, भेन्टिलेटेड सिट आदि जस्ता फिचरका लागि डेडिकेटेड बटन नै दिइएकाले आधारभूत फिचरका लागि स्क्रिनमै एक्सेस गरी रहनु पर्ने बाध्यता यसमा छैन ।

लेन बिराउँदा गाडी आफैँ लेनमा मोडिने, साइड लाइट दिँदा ड्याशबोर्डमै साइड भ्यु देखिने, यसको पावरले गर्दा सडमा ढुक्कसँग गाडी ‌‌ओभरटेक गर्न सकिने, आरामदायी सिट आदिले करिब दुई घण्टाको यात्रा सहजै पूरा भयो । तर गाडीले तीव्र गति लिई रहँदा मोडहरूमा भने केही असहज भए जस्तो महसुस भइरहेको थियो, सायद आईसीई प्लेटफर्ममा गाडी बनेको असर थियो कि !

 

पछिल्लो अध्यावधिक: माघ ६, २०८१ २३:४