close

आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनमा २४ खर्ब लगानी गर्दै हुण्डाई

टेकपाना टेकपाना

चैत २९, २०७९ ११:४२

आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनमा २४ खर्ब लगानी गर्दै हुण्डाई

काठमाडौं । चर्चित कोरियाली अटो ब्राण्ड हुण्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका लागि करिब २४ खर्ब लगानी गर्ने भएको छ ।

हुण्डाई मोटर्स ग्रुपले मंगलबार आफ्नो योजना सार्वजनिक गर्दै सन् २०३० सम्म विद्युतीय गाडीको उत्पादन, प्रविधि विकास र पाटपुर्जा निर्माण लगायतका अन्य विद्युतीय परियोजनामा १८.२ अर्ब अमेरिकी डलर अर्थात् २३ खर्ब ८५ अर्ब लगानी गर्ने बताएको हो ।

यो लगानी हुण्डाई मोटर्स तथा साझेदार कम्पनी किया र अटोपार्ट मेकर कम्पनी हुण्डाई मोबीलले संयुक्त रुपमा गर्ने हुण्डाई ग्रुपले जनाएको छ । यो लगानीसँगै विश्व विद्युतीय अटो बजारमा सन् २०३० सम्म विक्रीका आधारमा तेस्रो ठुलो अटो निर्माता कम्पनी बन्ने योजना समेत कम्पनीको रहेको छ ।

वायु प्रदुषणलाई कम गर्ने कम्पनीको योजना अन्तर्गत कम्पनीले पछिल्लो केही समयमा विद्युतीय गाडीमा ठूलो लगानी गर्दै आएको छ । अर्को तर्फ विद्युतीय कारको बजार पनि बढ्दो क्रममा रहेकाले कम्पनीले ठूलो लगानीको निर्णय लिएको हो ।

यो लगानी मध्ये सबैभन्दा ठूलो रकम हाल सञ्चालनमा रहेको विद्युतीय गाडी उत्पादनको केन्द्रको क्षमता विस्तारमा लगानी हुने बताएको छ । भने, दोस्रोमा पार्ट तथा विभिन्न प्रविधिको विकासमा खर्च हुने जनाइएको छ ।

किया र हुण्डाईले संयुक्त रुपमा सन् २०३० सम्म ३.६४ मिलियन पूर्ण विद्युतीय गाडी बिक्री गर्ने योजना बनाएका छन् ।  

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ ११:४५