काठमाडौं । अमेरिकामा टिकटकसँग सम्बन्धित अनौठा घटनाहरू भइरहेका छन् । केही दिनअघि टिकटकलाई १४ घण्टाका लागि प्रतिबन्ध लगाइएको थियो । एप्पल र गुगल प्ले स्टोरबाट पनि यो एप हटाइएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धको समयलाई ७५ दिन पछि धकेलेपछि आइतबारदेखि टिकटक पुनः सञ्चालनमा आएको छ । मोबाइलमा पहिल्यै डाउनलोड भइसकेका टिकटक भने काम गरिरहेका छन् । तर, एप्पल स्टोर र गुगल प्ले स्टोरमा टिकटक अझै उपलब्ध छैन ।
यस अवसरको फाइदा उठाउँदै, केही व्यक्तिहरूले टिकटक डाउनलोड भएका आईफोनहरू चर्चित ई-कमर्स प्लेटफर्म ई-बेमा हजारौँ डलरमा बिक्रीका लागि राखेका छन् । यी व्यक्तिहरूले टिकटक डाउनलोड नभएका वा प्रतिबन्धको समयमा एप डिलिट गरेका मानिसहरूलाई लक्षित गरेर महँगो मूल्यमा आईफोन बेच्न खोजेका हुन् ।
टिकटक एप डाउनलोड भएका आईफोनहरू मोडेलअनुसार ५०० डलरदेखि २५ हजार डलरसम्मको मूल्यमा बिक्रीका लागि राखिएको छ । ई-बेका प्रयोगकर्ता रस्किनले टिकटक डाउनलोड भएको आईफोन प्रो म्याक्स १० हजार डलरमा बेच्ने इच्छा व्यक्त गरेकी छिन् । उनको यो अफरमा २४ घण्टामा १,८०० भन्दा धेरैले चासो देखाएका छन् ।
यद्यपि, टिकटक डाउनलोड भएका आईफोन साँच्चै बिक्री भए वा नभएको पुष्टि भने भएको छैन । तर, दुई हजारभन्दा बढी आईफोन लिलामीमा सक्रिय देखिएका छन् । उत्तरी क्यारोलिनाका एक ई-बे बिक्रेताले टिकटक र क्यापकट एप डाउनलोड भएको १२८ गिगाबाइट क्षमताको आईफोन १५ प्रो ४५ लाख डलर (६२ करोड रुपैयाँ बढी) मा बिक्रीका लागि राखेका छन् ।
एप्पल र गुगल प्ले स्टोरमा टिकटक कहिले फर्किन्छ भन्ने कुरा अझै स्पष्ट भएको छैन । राष्ट्रपति ट्रम्पले भने टिकटकको ५० प्रतिशत लगानी अमेरिकी कम्पनीको हुनुपर्ने प्रस्ताव गरेका छन् । उनले टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क तथा ओरेकलका सह-संस्थापक ल्यारी एलिसन टिकटक किन्न इच्छुक रहेको बताएका छन् । यदि अमेरिकी नागरिक वा कम्पनीले टिकटक खरिद गरेमा यो एप पुनः एप्पल र गुगल स्टोरमा उपलब्ध गराइनेछ ।