close

बाढी पीडित परिवारलाई इनड्राइभले बनाइदियो घर

टेकपाना टेकपाना

माघ १५, २०८१ १४:४४

बाढी पीडित परिवारलाई इनड्राइभले बनाइदियो घर

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा बाढी-पहिरोबाट प्रभावित परिवारका लागि घर निर्माण गर्ने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा इनड्राइभले ३३ लाख ५५ हजार ५०० रुपैयाँ (२५ हजार अमेरिकी डलर) बराबरको सहयोगमा घर निर्माण गर्ने भएको हो ।

बाढी-पहिरोबाट विस्थापित भएका परिवारको आवश्यकतालाई ध्यानमा राखेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर घर निर्माण गरिरहेको छ । यसअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर १० मा पर्ने दाप्चा गाउँमा दुई, लास्कोट गाउँमा एक र पनौती नगरपालिका वडा नम्बर १२ को रोशी गाउँमा दुई ओटा घर निर्माण हुनेछन् ।

पहिलो चरणमा दुई ओटा घरको निर्माण कार्य सम्पन्न गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बाँस र माटो प्रयोग गरेर बनाइएका यी घरहरू वातावरणमैत्री भएको दाबी गरिएको छ ।

प्रत्येक घरमा दुई ओटा सुत्ने कोठा, शौचालय, भान्सा, भोजनकक्ष र बैठक कोठा रहेका छन् । जाडोमा न्यानो र गर्मीमा शीतल हुनेगरी बनाइएका घरमा जाडोमा ११ डिग्री सेल्सियसभन्दा कम र गर्मीमा ३० डिग्री सेल्सियसभन्दा माथि तापक्रम नहुने बताइएको छ ।

घर निर्माणसँगै इनड्राइभले नमोबुद्ध नगरपालिका वडा नम्बर १० का पीडित परिवारलाई कम्बल पनि वितरण गरेको छ । इनड्राइभकी एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायलाई सहयोग गर्ने र दिगो समाधान दिने कुरामा आफूहरू विश्वास गर्ने बताइन् । 

त्यस्तै, इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो अभियानमा इनड्राइभ सन् २०३० सम्ममा एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको बताए ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८१ १५:१४