काठमाडौं । एप्पल वाचको ब्याट्री सुन्निने समस्यालाई लिएर दायर गरिएको मुद्दामा मिलाउन एप्पल दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब ७७ करोड रुपैयाँ) तिर्न तयार भएको छ । एप्पल वाचको पहिलो तीन सिरिजमा देखिएको ब्याट्रीको समस्यालाई लिएर दायर मुद्दा मिलाउन कम्पनी ठूलो रकम तिर्न तयार भएको हो ।
अमेरिकी अदालतमा दायर गरिएको मुद्दामा एप्पलले सुरुवाती एप्पल वाच मोडलमा ब्याट्री सुन्निने समस्या भएको स्वीकार गरेको छैन । तर, मुद्दालाई थप लम्ब्याउनुभन्दा सम्झौता गर्नु उचित ठानेको बताएको छ ।
यदि तपाईं एप्पल वाच सिरिज जेरो, वन, टु वा थ्रीको प्रयोगकर्ता हुनुहुन्छ र तपाईंले ब्याट्री सुन्निने समस्या अनुभव गर्नुभएको छ भने तपाईं यो सम्झौताबाट केही रकम पाउन योग्य हुन सक्नुहुन्छ । तर, यसका लागि तपाईंले सन् २०१५ अप्रिल २४ देखि २०२४ फेब्रुअरी ६ को बीचमा एप्पललाई यस समस्याबारे जानकारी गराएको हुनुपर्नेछ ।
कम्पनीका अनुसार योग्य प्रयोगकर्ताहरूले प्रति स्मार्टवाच २० देखि ५० डलरसम्म क्षतिपूर्ति पाउन सक्नेछन् । भुक्तानी पाउनका लागि अप्रिल १० सम्म आफ्नो विवरण अपडेट गराउनुपर्नेछ ।
यस सम्झौतामा सहभागी भएपछि प्रयोगकर्ताले भविष्यमा ब्याट्री समस्यालाई लिएर कुनै पनि मुद्दा दायर गर्न पाउने छैनन् । यदि कोही यो सम्झौतामा सहभागी हुन चाहँदैनन् भने उनीहरूले २०२५ फेब्रुअरी २४ सम्ममा आफ्नो नाम हटाउन वा सम्झौताको विरोध गर्न सक्नेछन् ।