काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सपथ लिएको दिन अर्थात् २० जनवरीमा अमेरिकी एप स्टोरबाट गायब भएको टिकटक अझै फिर्ता आएको छैन । २४ घण्टाभित्रै पुनः सञ्चालनमा आए पनि एप अहिले पनि डाउनलोड गर्ने प्लेटफर्ममा उपलब्ध छैन ।
क्लाउडफ्लेयर राडारको तथ्याङ्कअनुसार, अमेरिकामा टिकटक एप स्टोरमा ढिलो फर्किए पनि यसको ट्राफिक लगभग सामान्य अवस्थामा फर्किएको छ । क्लाउडफ्लेयरका डेटा प्रमुख डेभिड बेल्सनले सीएनबीसीलाई बताएअनुसार टिकटकसँग सम्बन्धित डोमेनमा प्रतिबन्ध लाग्नुअघिको भन्दा लगभग १० प्रतिशत कम ट्राफिक देखिएको छ ।
अमेरिकामा प्रतिबन्धको कारण एप बन्द हुँदा टिकटकको ट्राफिक ८५ प्रतिशतसम्म घटेको थियो । टिकटक २० जनवरीदेखि पुनः सञ्चालनमा आए पनि यो एप गुगल प्ले र एप्पल एप स्टोरमा अझै उपलब्ध छैन ।
टिकटकको मूल कम्पनी बाइटडान्सका अन्य एपहरू जस्तै मार्भल स्न्याप, क्यापकट र लेमन८ पनि प्रभावित भएका थिए । यी तीनवटै एप अमेरिकामा पुनः सञ्चालनमा आए पनि एप स्टोरमा उपलब्ध छैनन् । कहिले फर्कने भन्ने कुनै संकेत पनि छैन । एप डाउनलोड गर्न नसक्ने धेरै प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गर्ने वा आफ्नो एप्पल आईडी क्षेत्र क्यानडामा परिवर्तन गर्ने जस्ता विधिहरू अपनाएर एप इन्स्टल गर्ने प्रयास गरिरहेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकको प्रतिबन्धलाई ७० दिन ढिलाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर पनि एप अझै पूर्ण रूपमा सुरक्षित छैन । कानुनी अनिश्चितताको कारणले एप्पल र गुगलले टिकटक र बाइटडान्सका अन्य एपहरूलाई आफ्नो स्टोरमा फर्काउन हिचकिचाइरहेका छन् ।