close

एनसेल प्रयोगकर्ताले किन पाउँदैनन् वैदेशिक अध्ययन अनुमतिपत्र-एनओसीको आवेदन दिन ?

टेकपाना टेकपाना

माघ २१, २०८१ २०:१२

एनसेल प्रयोगकर्ताले किन पाउँदैनन् वैदेशिक अध्ययन अनुमतिपत्र-एनओसीको आवेदन दिन ?

 

काठमाडौं । विदेशमा अध्ययन गर्न जानका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने अध्ययन अनुमति अर्थात् नो अब्जेक्सन (एनओसी) लेटर लिन एनसेल प्रयोगकर्तालाई समस्या देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा कार्यालयले एनओसीका लागि दिइने आवेदनका लागि नेपाल टेलिकमको नम्बरलाई मात्र अनिवार्य गर्दा यस्तो समस्या देखिएको हो । 

शिक्षा मन्त्रालयको वेबसाइटमा गएर वैदेशिक अध्ययन अनुमति (एनओसी) का लागि आवेदन दिनुपर्ने हुन्छ  । आवेदनका लागि सबैभन्दा पहिला मोबाइल नम्बर राख्नुपर्छ । त्यसपछि सिस्टमले उक्त मोबाइल नम्बरमा ओटीपी पठाउँछ । उक्त ओटीपी राखिसकेपछि मात्र आवेदन प्रक्रिया सुरु हुन्छ । 

विगत लामो समयदेखि अनलाइनमार्फत नै एनओसीका लागि आवेदन दिने र अनुमति पनि प्राप्त गर्न सकिन्छ । तर, टोकन लिनका लागि भने नेपाल टेलिकम (एनटीसी) को नम्बरमात्र इन्ट्री गर्न सकिने गरी सिस्टम डिजाइन गरिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पुसको तथ्याङ्क अनुसार नेपाल टेलिकमका एक करोड ४८ लाख ८ हजार ५२५ र एनसेलको एक करोड ४७ लाख ३७ हजार २०५ प्रयोगकर्ता छन् । तर, करिब आधा जनसङ्ख्याले प्रयोग गरेको कम्पनीकै नम्बर भने एनओसी आवेदनका लागि प्रयोग गर्न सकिँदैन । 

यस विषयमा बुझ्दा वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव रमेश घिमिरे गत साउनदेखि नै एनटीसीबाट मात्र एनओसीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको बताए । "अहिले हाम्रो सिस्टममा एनटीसी मात्र रजिस्टर छ । सरकारले जुन सेवा सस्तो र सरल छ, त्यही प्रयोग गर्छ । सोही आधारमा अहिले एनटीसी मात्र राखिएको हो," उनले भने "यस विषयमा थप जानकारीका लागि सफ्टवेयर बनाउने साथीसँग बुझ्नुपर्ने हुन्छ ।"

उनका अनुसार हाल एनसेल प्रयोगकर्ताका लागि भने एनओसीको आवेदन दिन सक्ने सुविधा छैन । घिमिरे भन्छन्, “उहाँहरूले पनि एनओसीका लागि आवेदन दिँदा एनटीसीकै सिम प्रयोग गर्नुपर्ने हुन्छ ।”

नेपालमा वार्षिक रूपमा एक लाखभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्रका लागि आवेदन दिने गरेका छन् । तीमध्ये सबैको आवेदन स्वीकृत हुँदैन । यद्यपि आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १ लाख १२ हजार ५८३ विद्यार्थीको एनओसी आवेदन स्वीकृत भएको थियो । 


 

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ २०:५१