काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ को मोबाइल एप आईओएस सस्करणमा पनि उपलब्ध भएको छ ।
यसअघि गुगल प्ले स्टोरमा मात्र उपलब्ध एप हालै आईओएस एपस्टोरमा उपलब्ध भएको हाम्रोपात्रोका सस्थापक एवम् कार्यकारी निर्देशक शंकर उप्रेतीले जानकारी दिए । हाम्रोपात्रोभित्रै रहेको ‘हाम्रो पे’ गत साताबाट छुट्टै एपको रूपमा सञ्चालनमा आएको हो ।
हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबैजसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।
बाँडेर अर्थात् संयुक्त रूपमा बिल भुक्तानी गर्न सकिने, पैसा सापटीका लागि अनुरोध पठाउन मिल्ने, आम्दानी तथा खर्चको रेखाचित्र, लाइभ च्याट सपोर्ट, नेपालीसहित अन्य स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक विशेषता समेत रहेका छन् ।
हाम्रो पेमा हाल पाँच लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।