काठमाडौं । पछिल्लो समय टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा देवीदेवता दौडिरहेको एआई निर्मित भिडिओहरू भाइरल भइरहेका छन् । भिडिओमा पोखराको पुम्दीकोटमा रहेको भगवान शिवको मूर्ति उठेर हिँडेकोदेखि काठमाडौंको वसन्तपुर दरबार स्क्वायरस्थित कालभैरव सडकमा टहलिरहेको देख्न सकिन्छ ।
भिडिओमा विभिन्न धर्मका देवीदेवतालाई आधुनिक पहिरनमा सजिएको, गीत गाएको तथा नृत्य गरेको समेत देखाइएको छ । कतिपय भिडिओमा देवीदेवताले मोटरसाइकल चलाएको, पार्टीमा रमाएको जस्ता दृश्य पनि छन् । यी भिडिओ हेर्दा आकर्षक र मनोरञ्जनात्मक लागे पनि धार्मिक भावनामा चोट पुर्याउन सक्ने भन्दै पुरातत्व विभागले चिन्ता व्यक्त गरेको छ ।
एक सूचना जारी गर्दै विभागले मनोरञ्जनको नाममा शेयर हुने भिडिओले धार्मिक आस्थामा ठेस पुर्याएको ठहर गरेको छ । नेपालको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदामा एआईको प्रयोगले अनपेक्षित असर पारेको विभागको भनाइ छ ।
पछिल्लो समय एआई प्रविधि प्रयोग गरेर यस्ता भिडिओ र पोस्टहरू निर्माण भइरहेका छन्, जसले गर्दा समाजमा गलत बोध र भ्रम फैलिन थालेको सरोकारवाला बताउँछन् । एआई सिर्जित फोटो-भिडिओहरू र त्यसमा आउने कमेन्ट र प्रशंसाका सन्देशहरूले पनि यो प्रवृत्तिलाई बढावा दिएका छन् ।
“...सामाजिक सञ्जालमा देवीदेवताको तस्बिरहरूमा एआई प्रविधि प्रयोग गरी धार्मिक आस्थामाथि ठेस पुर्याउने खालका फोटो तथा भिडिओहरू बनाई पोष्ट गर्ने र यस्ता कार्यलाई प्रोत्साहित गर्न विभिन्न कमेन्ट गर्ने कार्य व्यापक रूपमा भइरहेकोले त्यस्ता कार्य नगर्नु/नगराउनु हुन अनुरोध गरिन्छ,” विभागको सूचनामा उल्लेख छ ।
एआईले मानिसको कल्पनासम्म नगरेका कामहरू गर्दैछ । यस प्रविधिको प्रयोग गरेर फोटोलाई भिडिओमा परिवर्तन गर्न सकिन्छ, जनावरलाई बोलाउन सकिन्छ, तस्बिरलाई कार्टुनमा परिणत गर्न सकिन्छ । तर यसको प्रयोग कसरी गर्ने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन् । प्रविधिको प्रयोग रचनात्मक कामको लागि हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।