close

धर्म प्रचार आरोपको खण्डन गर्दै हरिवंश आचार्यले भने- ‘‘सत्य जान्न युट्युबमा भिडिओ हेर्नुस्’

टेकपाना टेकपाना

माघ २६, २०८१ १३:४७

धर्म प्रचार आरोपको खण्डन गर्दै हरिवंश आचार्यले भने- ‘‘सत्य जान्न युट्युबमा भिडिओ हेर्नुस्’

काठमाडौं । कलाकार हरिवंश आचार्यले महसञ्चारले यूएसएडको सहयोगमा धर्म प्रचार गरेको भन्ने आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा सोसम्बन्धी समाचार भाइरल भएपछि उनले भिडिओ सार्वजनिक गर्दै ती दाबीहरू भ्रामक रहेको बताएका हुन् ।

शुक्रबार फेसबुकमा पोस्ट गरिएको भिडिओ क्लिपमा आचार्यले महसञ्चारले स्वास्थ्य, शिक्षा, द्वन्द्व व्यवस्थापन, वन संरक्षण, भ्रष्टाचार न्यूनीकरण, खानेपानी, सरसफाइ, निर्वाचन, संविधान निर्माणलगायत विभिन्न सामाजिक विषयमा जनचेतनामूलक टेलिचलचित्रहरू निर्माण गर्दै आएको जनाएका छन् ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले महसञ्चार मार्फत लामो समयदेखि हास्यव्यङ्ग्यको माध्यमबाट विभिन्न जनचेतनामूलक टेलिचलचित्रहरू बनाउँदै आएका थिए । “हामीले स्वास्थ्य क्षेत्रमा सुरक्षित मातृत्व, एचआईभी, मधुमेह, खोप, क्षयरोग, कुष्ठरोग, कालाजार जस्ता विषयमा जनचेतना फैलाउने काम गरेका छौं,” आचार्यले भने, “शिक्षा, द्वन्द्व व्यवस्थापन, वनजङ्गल संरक्षण, भ्रष्टाचार न्यूनीकरण, खानेपानी तथा सरसफाइ, चर्पी व्यवस्थापन, संविधान निर्माण, निर्वाचन लगायतका सामाजिक विषयमा पनि हामीले चेतनामूलक टेलिचलचित्रहरू बनाएका छौं ।”

र ती कार्यक्रमहरूमा नेपाल सरकारका विभिन्न मन्त्रालय, नगरपालिका, विद्युत प्राधिकरण जस्ता निकाय र विभिन्न दातृ निकायको सहयोग रहने गरेको आचार्यले स्पष्ट पारे ।

आचार्यका अनुसार महसञ्चारले यूएसएड र नेपाल सरकारको सहकार्यमा ‘असल लोग्ने’, ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’, ‘गाउँकी तारा’ लगायतका टेलिचलचित्र निर्माण गरेको थियो । यी सामग्री महसञ्चारको युट्युब च्यानलमा अहिले पनि हेर्न सकिन्छ । 

ती कार्यक्रमहरू धर्म प्रचारसँग सम्बन्धित रहेको भन्ने आरोपको आचार्यले कडा शब्दमा भर्त्सना गरेका छन् । उनले अगाडि भने, “यस्ता विषयमा बनेका कार्यक्रमलाई धर्मसँग जोडेर दुष्प्रचार गर्नु निन्दनीय छ ।”

आचार्यले ‘असल लोग्ने’ टेलिचलचित्रको उदाहरण दिँदै यस्ता कार्यक्रम युट्युबमा हेरेर सत्यतथ्य बुझ्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूलाई उनले यस्ता गलत कार्य नगर्न चेतावनी दिएका छन् ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारको नेतृत्व लिएसँगै यूएसएड जस्ता दातृ निकाय खारेज गर्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका थिए । यी निकायले नेपालमा नास्तिकवाद फैलाएको आरोप लगाएका भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । महसञ्चारले यूएसएडको सहकार्यमा सात ओटा कार्यक्रम बनाएको दाबी गरिएको छ । र, यसका लागि उनीहरूले पाँच लाख डलर रकम लिएको पोस्टहरू आइरहेका छन् । यद्यपि महसञ्चारले यूएसएडको सहकार्यमा टेलिचलचित्र बनाएको भए पनि त्यसका लागि खर्च कति लिएको भन्ने विषय खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८१ १३:४७