close

एलन मस्कले भनेः मलाई टिकटक किन्ने चाहना छैन

टेकपाना टेकपाना

माघ २८, २०८१ १८:१४

एलन मस्कले भनेः मलाई टिकटक किन्ने चाहना छैन

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले शर्ट भिडिओ प्लेटफर्म टिकटक किन्न आफ्नो कुनै रुचि नरहेको बताएका छन् । जर्मन मिडिया कम्पनी एक्सेल स्प्रिङ्गर एसईसँगको भिडिओ कन्फ्रेन्समा मस्कले टिकटक खरिद गर्ने आफ्नो कुनै चाहना नभएको विषय खुलाएका हुन् । 

चिनियाँ कम्पनीसँग टिकटकको पूर्ण स्वामित्व भएकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै अमेरिकी सरकारले उक्त प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले बाइटडान्सको स्वामित्वमा रहेको एप किन्न चाहे मस्कलाई सहयोग गर्ने बताएका थिए । त्यसको एक सातापछि मस्कले भने, “मैले टिकटकका लागि बोलपत्र हालेको छैन ।”

मस्कले आफूले व्यक्तिगत रूपमा शर्ट भिडिओ एप प्रयोग नगर्ने र एपको ढाँचासँग परिचित नभएको बताए । उनले अगाडि भने, “यदि मसँग टिकटक भयो भने म के गर्छु भन्ने योजना मसँग छैन ।”

“म टिकटक प्राप्त गर्न उत्सुक छैन । म सामान्यतया कम्पनी खरिद गर्दिनँ,” उनले ट्वीटर खरिदको प्रसङ्ग जोड्दै भने, “मेरा लागि कम्पनी खरिद गर्ने काम एकदम दुर्लभ छ ।”

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर (हाल एक्स) अर्बौँ डलरको असामान्य रहेको बताए । “म सामान्यतः कम्पनी शून्यबाटै निर्माण गर्छु,” मस्कले भने । १९ जनवरीमा बन्द गर्ने तय भएको टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्ने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका थिए ।

चीनले अमेरिकी प्रयोगकर्ताको डेटा शेयर गर्न बाध्य पार्न सक्ने चिन्ताका कारण बाइटडान्सलाई टिकटकको अमेरिकी सम्पत्ति बेच्न वा अमेरिकी प्रतिबन्धको सामना गर्न जनवरीसम्मको समयसीमा दिइएको थियो । टिकटकले भने अमेरिकी प्रयोगकर्ताको डेटा कहिल्यै चीन सरकारलाई नदिने दाबी गर्दै आएको छ ।

अमेरिकामा उक्त कानुन लागु भएदेखि एप्पल र गुगलले टिकटकलाई आफ्नो एप स्टोरमा उपलब्ध गराएका छैनन् । टिकटकले शुक्रबार अमेरिकी एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो वेबसाइटमा प्याकेज किटमार्फत एप डाउनलोड गरी इन्स्टल गर्न अनुमति दिइरहेको बताएको छ ।

ट्रम्पले टिकट खरिदबिक्रीका लागि धेरै व्यक्तिसँग कुरा गरिरहेको र यही महिना एपको भविष्यबारे निर्णय लिने सम्भावना रहेको बताएका छन् । अमेरिकामा टिकटकका लगभग १७ करोड प्रयोगकर्ता छन् ।

यसै साता राष्ट्रपतिले एक वर्षभित्र सार्वभौम सम्पत्ति कोष सिर्जना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यही कोष मार्फत सम्भावित रूपमा टिकटक किन्न सकिने ट्रम्पको भनाइ छ ।‍ बाइटडान्सले यसअघि टिकटक बेच्ने कुनै योजना नरहेको बताएको थियो ।

ट्रम्पले टिकटकलाई जोगाउनु उनकै पहिलो कार्यकालको अडान विपरीत हो । पहिलो कार्यकालमा उनले कम्पनीले अमेरिकीको नागरिकको व्यक्तिगत जानकारी चिनियाँ सरकारलाई दिएको भन्दै एपलाई प्रतिबन्ध लगाउन खोजेका थिए ।

हालै ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा युवा मतदातालाई आफूतिर आकर्षित गर्न मद्दत गरेको भन्दै टिकटकप्रति सहानुभूति प्रकट गरेका थिए ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८१ १८:१४