close

चर्को विरोधपछि अन्ततः युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द, पुराना सबै एपिसोड हटे

टेकपाना टेकपाना

फागुन १, २०८१ १४:१२

चर्को विरोधपछि अन्ततः युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ बन्द, पुराना सबै एपिसोड हटे

काठमाडौं । युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ को एउटा क्लिप विवादमा परेपछि शोका सबै एपिसोड युट्युबबाट हटाइएको छ । हास्यकलाकार समय रैनाले आफ्नो युट्युब च्यानलबाट उक्त शोका सबै भिडिओ हटाएका हुन् । 

समयले बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै यो विवादका कारण आफूलाई धेरै कठिनाइ भएको बताएका छन् । साथै, उनले अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

“जे भइरहेको छ, त्यो मेरो लागि सम्हाल्न गाह्रो भइरहेको छ। मैले आफ्नो च्यानलबाट ‘इन्डियाज गट लेटेन्ट’ का सबै भिडिओ हटाएको छु । मेरो उद्देश्य मानिसहरूलाई हँसाउने र मनोरञ्जन दिने मात्र थियो । निष्पक्ष रूपमा छानबिनका लागि म सबै निकायहरूसँग पूर्ण रूपमा सहकार्य गर्न तयार छु। धन्यवाद !” उनले लेखेका छन् ।

यस्तै केही दिनअघि रणवीर अल्लाहबादिया ((बियरबाइसेप्स))ले पनि उक्त विवादास्पद क्लिपलाई लिएर माफी मागेका थिए । विवादमा रहेको भिडिओ शोको पछिल्लो एपिसोडबाट भाइरल भयो । जहाँ रणवीर 'गेस्ट जज'का रूपमा उपस्थित थिए । उक्त एपिसोडमा रणवीरले एक प्रतियोगीलाई आपत्तिजनक प्रश्न सोधेका थिए । 

बियरबाइसेप्सले एक प्रतियोगीलाई एउटा अनौठो प्रश्न सोधेका थिए- “तपाईं आफ्नो आमाबाबुले जीवनभर यौन सम्बन्ध राखेको हेर्नुहुन्छ वा एक पटक आफू पनि सहभागी भएर सधैंका लागि रोक्नुहुन्छ ?” यो टिप्पणी सामाजिक सञ्जालमा तुरुन्तै भाइरल भयो । यसपछि दर्शकहरूले बियरबाइसेप्स र शोका निर्माताहरूले कुनै चेतावनी बिना यस्तो अश्लील सामग्री प्रवर्द्धन गरेको भन्दै विरोध जनाउन सुरु गरे ।

सो क्लिप भाइरल भएपछि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि शोमा उपस्थित कलाकारहरू समय रैना, रणवीर अल्लाहबादिया, आशिष चञ्चलानी, जसप्रीत सिंह र अपूर्वा मुखिजाविरुद्ध धेरैवटा एफआईआर दर्ता भएका छन् । 

यस्तै सोही एपिसोडको विवादपछि समय रैनाको आगामी टुर र शोहरू समेत रद्द भएका छन् । त्यसैगरी, रणवीर र समय दुवैलाई मुम्बई प्रहरीले बयानका लागि बोलाएको छ ।

यसअघि, रणवीरले आफ्नो इन्स्टाग्राममा एक माफी भिडिओ पोस्ट गर्दै भनेका थिए, “मैले ‘इन्डियाज गट लेटेन्ट’ मा जुन कुरा बोलेँ, त्यो भन्नु हुँदैनथ्यो । म माफी चाहन्छु । मेरो टिप्पणी न त उपयुक्त थियो, न त रमाइलो । हास्य व्यङ्ग्य मेरो क्षेत्र होइन । धेरै जनाले म आफ्नो प्लेटफर्म यसरी प्रयोग गर्न चाहन्छु कि भनेर सोध्नुभयो, तर त्यस्तो होइन । म कुनै बहाना, कारण वा व्याख्या दिन चाहन्न । म यहाँ केवल माफी माग्नका लागि आएको हुँ । मैले क्षणिक रूपमा लिएको निर्णय गलत भयो । यो मेरो गल्ती थियो ।”

पछिल्लो अध्यावधिक: फागुन १, २०८१ १४:२८