काठमाडौं । चीनमा आईफोनको घट्दो बिक्रीलाई उकास्ने प्रयासस्वरूप एप्पलले अन्ततः एउटा महत्त्वपूर्ण कदम चालेको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो पकड बलियो बनाउन अलिबाबासँग साझेदारी थालेको हो । यसअन्तर्गत अलिबाबाले आईफोनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरहरू उपलब्ध गराउनेछ ।
लामो समयदेखि प्रतीक्षा गरिएको यो साझेदारीले एप्पललाई चीनको प्रतिस्पर्धी बजारमा आफ्नो स्थान पुनः स्थापित गर्न मद्दत गर्ने विश्लेषण गरिएको छ । चीनमा एप्पलको बिक्री निरन्तर घट्दो क्रममा छ । यसको मुख्य कारणमध्ये आईफोनमा एडभान्स्ड एआई फिचरहरू नहुनु एक हो ।
ह्वावे, साओमी जस्ता चिनियाँ कम्पनीले आफ्ना स्मार्टफोनमा अत्याधुनिक एआई फिचर उपलब्ध गराएर बजारमा बलियो पकड बनाइरहेका छन् । यस्तो अवस्थामा एप्पललाई पनि एआई फिचर उपलब्ध गराउनु आवश्यक थियो । यसका लागि अलिबाबासँगको साझेदारी फलदायी हुने दुवै पक्षको विश्वास छ ।
चीनकै प्रतिष्ठित प्रविधि कम्पनीका रूपमा स्थापित अलिबाबाको एआई प्रविधि निकै उन्नत मानिन्छ । यो साझेदारीले एप्पललाई चीनमा आफ्नो प्रतिस्पर्धी क्षमता बढाउनुका साथै नयाँ ग्राहकलाई आकर्षित गर्न मद्दत गर्ने चर्चा छ ।
अलिबाबाका अध्यक्ष जोसेफ साईले भने, “उनीहरू (एप्पल)ले चीनका धेरै कम्पनीहरूसँग कुरा गरे । अन्ततः हामीसँग सहकार्य गर्ने निर्णय गरे । उनीहरू हाम्रो एआईलाई आफ्ना फोन चलाउन प्रयोग गर्न चाहन्छन् । एप्पलजस्तो उत्कृष्ट कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं ।”
यसअघि एप्पलले बाइडु, बाइटडान्स र टेन्सेन्टसँग छलफल गरे पनि अलिबाबासँग डिल गर्ने निष्कर्ष निकाल्यो । यो साझेदारीले एप्पल र अलिबाबा दुवैलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । एप्पलले बजारमा पुनरागमन खोजेको छ भने अलिबाबाले आफ्नो एआई प्रविधिलाई थप विस्तार गर्ने अवसर पाएको छ ।