close

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

टेकपाना टेकपाना

फागुन २, २०८१ २३:१५

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

काठमाडौं । २० वर्षअघि आजकै दिन अर्थात् १४ फेब्रुअरी २००५ मा पेपालका पूर्वकर्मचारीले युट्युब डटकम सार्वजनिक गरेका थिए । भ्यालेन्टाइन्स डेकै दिन सार्वजनिक गर्नुको पनि विशेष अर्थ छ । त्यो हो डेटिङ साइट । हो, युट्युब एक डेटिङ साइटका रूपमा सुरु भएको थियो । त्यतिबेला यसको नारा ‘ट्युन इन, हुक अप’ थियो । अर्थात्, ट्युन इन भन्नाले कतै संलग्न हुने भन्ने अर्थ लाग्छ भने हुक अप भन्नाले कसैसँग रोमान्टिक रूपमा जोडिने भन्ने अर्थ लाग्छ ।

संस्थापक स्टिभ चेन, चाड हर्ले र जावेद करिमले सुरुवातमा प्रयोगकर्ता आकर्षित गर्न निकै संघर्ष गर्नुपर्‍यो । डेटिङ साइट बन्ने लक्षण नदेखेपछि उनीहरूले त्यसलाई भिडिओ स्ट्रिमिङ साइट बनाउने योजना बनाए । त्यही अन्तर्गत जावेदले नै २३ अप्रिल २००५ मा युट्युबमा पहिलो भिडिओ अपलोड गरेका थिए । भिडिओको शीर्षक थियो, ‘मी एट द जू’ अर्थात् ‘चिडियाखानामा म’ । उक्त भिडिओमा जावेद आफैं देखिएका थिए भने त्यो भिडिओ सान डिएगो चिडियाखानामा खिचिएको थियो ।

त्यसपछि युट्युब भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा विश्वव्यापी रूपमा चर्चाको विषय बन्यो । अहिले युट्युब गुगलको स्वामित्वमा छ । सुरुवातमै युट्युबले बाहिर तहल्का नै पिटेको थियो । तर, भित्रभित्रै ऊ निकै सकसपूर्ण अवस्थाको सामना गरिरहेको थियो । युट्युबको विरलै सुनिने कथा तल संक्षिप्तमा राखिएको छ:

त्यो सकसपूर्ण समयः युट्युबको नसुनिएको कथा !

सन् २००६ को अक्टोबर महिनाको एक दिन बिहान ३ बजे क्यालिफोर्नियास्थित रेडहुड सहरको डेन्नी पार्किङमा भएको एउटा कारमा गुगलका जनरल काउन्सिल डेभिड ड्रमोन्ड र युट्युबका वित्तीय प्रमुख गिडियन युको भेट भयो । उक्त गाडीभित्र ड्रमोन्ड र यु आफ्नो ब्ल्याकबेरी फोनको टर्चलाइटले दस्तावेजको ठेली पढिरहेका थिए । त्यतिखेर एक जना प्रहरी अधिकारी आएर आफ्नो साइरन बजाए, अनि ती दुई व्यक्तिको अनुहारमा लाइट बाले ।

पार्किङ क्षेत्रमा बिहान ३ बजे ती दुई व्यक्ति के गर्दै छन् भनेर प्रहरी अधिकारीले जाँचबुझ गरे । युले जवाफमा ती प्रहरी अधिकारीलाई भने, “हामी मर्जर सम्झौतामा हस्ताक्षर गर्दैछौं ।” युले प्रहरी अधिकारीलाई कार नजिक बोलाए । उनले त्यसबेला सामान्य घरेलु कपडा लगाएका थिए— सुरुवाल, एउटा टि-शर्ट, बेसबल क्याप । प्रहरी अधिकारी नजिक आएपछि युले ती दस्तावेज देखाए, जसमा गुगलले एक अर्ब ६५ करोड अमेरिकी डलरमा युट्युबको पूर्ण स्वामित्व खरिद गर्न लागेको कुरा उल्लेख थियो ।

ती प्रहरी अधिकारीले उनीहरूलाई आफ्नो काम गर्न खुला छोडिदिए । ड्रमोन्ड र युले दस्तावेजमा हस्ताक्षर गरे र आआफ्नो घर फर्किए । दुवै कम्पनीले भिन्नाभिन्नै कारणका लागि उत्सव मनाए ।

गुगलले युट्युबको स्वामित्व प्राप्त गरेको थियो, जसले उसको साम्राज्य विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै थियो । अर्कोतर्फ, १८ महिनाको कलिलो कम्पनीबाट मोटो रकम हात परेको थियो । त्यसबेला नयाँ कम्पनी युट्युब आफूविरुद्ध लागिरहेका कपीराइट आरोपहरूको बचाउ गरिरहेको थियो ।

यस्तै, तीव्र गतिमा प्रयोगकर्ता बढिरहँदा कम्पनीको पूर्वाधारले थेग्न नसकेर साइट क्र्यास हुने समस्या आइरहेको थियो । बाहिरी रूपमा विश्वभर सनसनी मच्चाएको युट्युब भित्रभित्रै टुट्ने अवस्थामा थियो ।

सम्झौताको दिनसम्मको अवधि युट्युबका लागि एकदमै सकसपूर्ण रह्यो । दुई सहसंस्थापकमध्ये स्टिभ चेन युट्युबमा चिफ टेक्नोलोजी अफिसर थिए भने चाड हर्ले कम्पनीका सीईओ थिए ।

यी दुई जना सहसंस्थापक सेवाग्राहीको माग धान्न संघर्ष गरिरहेका थिए । यो त्यो समयको कुरा हो, जतिखेर अमेजनको वेब सर्भिस अस्तित्वमा आइसकेको थिएन र युट्युबले सर्भर स्पेसमा आगो लगाइरहेको थियो ।

युट्युबका पहिलो कर्मचारी तथा इन्जिनियर यु पान भन्छन्, “त्यो एउटा ठूलो मेहनतको काम थियो । मलाई लाग्छ, हामी हप्ताका सातै दिन काममा खट्थ्यौं । हाम्रो सेवा अनियन्त्रित रूपमा बढिरहेको थियो । भ्युजको सङ्ख्या एकदमै धेरै बढिरहेको थियो । हाम्रो जस्तो हार्ड ड्राइभ कसैको व्यवसायमा जलेको थिएन होला ।”

२००६ को सेप्टेम्बरमा युट्युबको प्रमुख वित्तीय अधिकृत (सीएफओ) का रूपमा प्रवेश गरेका गिडियन युले ती दिन स्मरण गर्छन् । “जब युट्युबले सर्भर स्पेसका लागि सबैसँग भिख मागिरहेको थियो । कुनै समय हामी हाम्रो सम्पूर्ण लगानीकर्ता हाम्रा साथीसमक्ष पुगेका थियौं । हामीले सबैलाई ईमेलमार्फत उनीहरूले प्रयोग नगरेका कुनै सर्भर भए हामीलाई उपलब्ध गराउन माग गरेका थियौं,” युले भने, “हामीले साथीहरूको घर र कम्पनीसम्म पुगेर भ्याएसम्म सबै सर्भर जुटाएका थियौं ।”

युट्युब नेपस्टर जस्तो अर्को कम्पनी बन्न चाहँदैनथ्यो । धेरै ठूला म्युजिक लेबल र फिल्म स्टुडियोका सामग्रीहरू युट्युबमा राखिएको थियो, जसले गर्दा यो कम्पनी त्यति चाँडै विघटन हुने अवस्था भने थिएन । युट्युबका संस्थापकहरूले पाइरेटेड सामग्री राख्ने परिकल्पना गरेका थिएनन् । 

पेपालमा काम सुरु गर्नुभन्दा केही समय अगाडि युट्युबका संस्थापकहरूसँग रहेर काम गरेका रियोलोफ बोथाले भन्छन्, “युट्युबमा लगानी गर्नका लागि सिकी वा क्यापिटल नामको कम्पनी स्थापना गरिएको थियो । सुरुवातदेखि हामीले कानुनी टोलीसँग काम गर्‍यौं र एउटा कन्टेन्ट मोडरेसन टिमको पनि स्थापना गर्न सुरु गर्‍यौं । तर त्यसले लगत्तै साइटलाई तल झार्यो । यदि तपाईंले फिल्टर राख्न थाल्नुभयो भने क्यान्सरले जस्तै गरी तपाईंको साइटलाई यसले गाँच्न थाल्छ ।” त्यसबेला कानुनी जोखिम युट्युबका लागि सबैभन्दा ठूलो चुनौती बनेको बोथा बताउँछन् ।

त्यो बेला चार्ड र स्टिभको मनमा कम्पनीलाई बचाइ राख्नु फाइदाको विषय होला त भन्ने प्रश्न उब्जियो । “लडाइँ लडिरहनका लागि हामीसँग आवश्यक संसाधन थिएन,” बोथाले भने । युट्युबका जनरल काउन्सिल तथा व्यावसायिक मामिलाका भिपी लेभन युट्युब अगाडि नबढ्ने सोच आफ्नो मनमा आएको दिन सम्झिन्छन् । “पूर्वाधारको माग उच्च थियो । कम्पनीको बैंक खाता बिस्तारै शून्यमा झर्दै थियो । म्युजिक कम्पनीहरूले करोडौं डलर माग गरिरहेका थिए । साझेदारी गर्नका लागि अन्य खेलाडीहरूले युट्युबको ढोका ढकढकाइ रहेका थिए । हामीले सक्दो प्रयास गरिरहेका थियौं,” उनी भन्छिन् । सीएफओ यू भन्छन्, “जब यी सबै तत्वहरू एक ठाउँ आएर बस्छन् तब पैसा उठाउन गाह्रो हुन्छ । जब पैसा सङ्कलन हुन्छ तब मात्र धेरै पैसा पूर्वाधारमा लगानी गर्न सकिन्छ र लगानीकर्ताहरूसँग पनि सम्भावित डिलहरू सम्भव हुन्छ ।”

एक साँझ युट्युब कम्पनी र युनिभर्सल म्युजिकबीच विवादपूर्ण बैठक भयो । उक्त बैठक धेरै नै आक्रामक थियो । बोथाका अनुसार युनिभर्सल म्युजिकले युट्युबमाथि कपिराइट उल्लङ्घन गरेको आरोप लगाएको थियो । अर्को दिन चेन र हरले युट्युब अफिस नजिक रहेको बारमा गए । यी दुई जना रातको समयमा कहिलेकाहीँ कम्पनीको बारेमा कुराकानी गर्न त्यहाँ जाने गरेका थिए । सान मेटियोको ब्लक वरिपरि उनीहरू एकछिन डुले । त्यसपछि बारमा उनीहरूले कम्पनी बिक्री गर्न चाहेको कुरा युलाई बताए ।

युका अनुसार चेन र हर दुवै जना लगातारका विवादित बैठकहरूबाट निराश भइसकेका थिए । कपिराइट उल्लङ्घनका बैठकहरू अझै आक्रामक बन्दै थिए । ती दुई युवाले राम्रो प्रोडक्ट दिनका लागि युट्युबको सुरुवात गरेका थिए, न कि त्यो दिन देख्न । संस्थापकहरूको समूहले पूर्वाधारको समस्या समाधान गर्न सक्ने तथा सन्तोषजनक डिल गर्न सक्ने ठूला कम्पनीहरूलाई युट्युबको स्वामित्व बिक्री गर्दा कस्तो होला भन्ने विषयमा छलफल गरे ।

युट्युबको बोर्ड र लगानीकर्तासँग परामर्श लिएपछि अब अधिग्रहणको बाटोतर्फ अघि बढ्ने कुरामा सबैको सहमति भयो ।

बिडिङ युद्ध 

यूका अनुसार स्पोर्ट्स बारमा भएको त्यो रातको बैठकपछि तेस्रो हप्तामा मात्र युट्युबको अधिग्रहण भयो । युट्युबको बिडिङ युद्धमा माइक्रोसफ्ट, भायकम तथा न्यूज कर्प जस्ता दर्जनौं खेलाडीहरू सहभागी हुने बताइए पनि अन्त्यमा याहू र गुगलले मात्र प्रतिस्पर्धामा भाग लिए । उक्त बिडिङ युद्ध वास्तवमा धेरै सानो, तर कडा थियो । यू स्मरण गर्छन्, “हामी सबै सूचनाहरू एकदमै नियन्त्रित रूपमा फ्लो होस् भन्ने चाहन्थ्यौं ताकि लिक हुने सम्भावना कम गर्न सकियोस् । त्यो बेला हामीले सही स्वामित्वकर्ता पायौं । अन्यथा युट्युब तत्कालीन समयभन्दा खराब स्थितिमा गएर अन्त्य हुन सक्थ्यो ।”

चेन र हर्ले दुवै जना वित्तीय पृष्ठभूमिबाट आएका थिएनन् । ती दुवै सम्झौताको शर्तहरूमा कसरी छलफल गर्ने भनेर सुझाव माग्न आफ्ना लगानीकर्ता स्क्योवाकामा पुगेका थिए । “मेरो घरको डाइनिङ रुममा हामी पिज्जा डिनर गर्थ्यौं । सबै जना टेबल वरिपरि बस्थ्यौं र रियोलोफ बोथा पिज्जा ल्याउने इन्चार्ज थिए । हामीसँग प्रतिस्पर्धा गर्न नसकिने नवीनतम प्रडक्ट छ भन्ने कुरा याहू र गुगललाई स्पष्ट थियो । त्यो बेला हाम्रो पल्ला गह्रुंगो नै थियो,” स्क्योवाका पूर्व साझेदार पेरी लामोण्ड भन्छन् ।

युट्युबलाई अधिग्रहण गर्नु अघि यू याहूका वित्तीय अधिकारी थिए । उनले याहूका आफ्ना पुराना साथीहरू माझ युट्युब खरिद गर्न सक्ने सम्भावनाको कुरा सेयर गरेका थिए । यदि याहूले रुचि देखाउँथ्यो भने, उसले तत्काल मिटिङ सेटअप गर्नु पर्ने थियो । सिलिकन भ्यालीमा संस्थापकहरू सर्वत्र चर्चित भएका कारण उनीहरूले कसैको ध्यान नजाने ठाउँमा बैठक बस्नु पर्‍यो । दस्तावेजहरू सबै राम्रोसँग तयार पारिएका थिए । उनीहरूले युट्युबको कार्यालयभन्दा १४ मिनेट टाढा रहेको डेन्नीको रेडउड सहरलाई चयन गरे ।

पहिलो दिन हर्ले र चेनले गुगलका ल्यारी पेज र एरिक स्क्यामिड्टसँग भेट गरे । यूका अनुसार जब गुगलले पहिलो पटक युट्युब अधिग्रहणको प्रस्ताव गर्‍यो, त्यो एकदमै न्यून मूल्य थियो । त्यसबेला युट्युब पनि आफ्नै छुट्टै डिलमा जुटेको थियो । महँगो कपीराइट मुद्दाबाट बच्न सकिने आशामा ऊ म्युजिक लेबलसँग डिल वार्तामा थियो । २००६ सेप्टेम्बरमा युट्युबका सुरुवाती समयका दुई कर्मचारीहरू लेभिन र क्रिस म्याक्सी, जो साइटका लागि बिजनेस डेभलपमेन्ट इन्चार्ज थिए, उनीहरूले वार्नर म्युजिकसँग सम्झौता गरे । लेभिनका अनुसार उक्त सम्झौता आफैमा नयाँ र एउटा ल्यान्डमार्क थियो । प्रयोगकर्ताले तयार पारेको भिडिओलाई युट्युबले होस्ट गर्ने, त्यसमा वार्नरको स्वामित्व रहेको म्युजिक हुने र विज्ञापनबाट आएको आम्दानी दुवैले बाँड्ने सहमति भएको थियो ।

त्यस समय लेभिन र म्याक्सी तीव्र गतिमा ठूला राइट होल्डरहरूसँग अन्य तीन डिलमा छुट्टाछुट्टै छलफल गरिरहेका थिए । जुन दिन युट्युबले आफ्नो कम्पनी अधिग्रहण भएको घोषणा गर्‍यो, त्यो दिन उसले अन्य तीन फरक डिलको पनि घोषणा गरेको थियो । एउटा सीबीएससँग, जसमा युट्युबले सीबीएसको कार्यक्रमलाई प्रसारणको अनुमति दिएको थियो । यस्तै अन्य दुई म्युजिक लेबल र युनिभर्सल म्युजिक ग्रुप र सोनी म्युजिकको पूर्ववर्तीसँग थियो । ती कम्पनीहरूले युट्युबलाई आफ्ना म्युजिक भिडिओ प्रसारणको अनुमति दिएका थिए ।

यूका अनुसार युट्युब याहू र गुगलसँग अधिग्रहणको उचित मूल्यबारे छलफल गरिरहेको थियो । लेभिन अधिग्रहणपछि युट्युबसँग काम गरिरहेको ल फर्मतिर प्रवेश गरिन् । युट्युब अब सान मेटियोस्थित आफ्नो कार्यालयमा अटाउन नसक्ने भइसकेको थियो । ऊ सान ब्रुनोतिर सर्ने योजनामा थियो । स्क्योवाका लामोण्डले आफ्नो सम्पर्कको प्रयोग गरेर युट्युबलाई आफ्नो पुरानो मुख्यालयमा भाडाको भवन दिलाए । युट्युब नयाँ भवनमा सर्ने योजना यथावत् नै थियो । कम्पनी बिक्री हुने कुरा चलिरहेको थियो ।

त्यसैबीच म्याक्सीसँग मिलेर लाइसेन्सिङ डिलमा छलफल गरिरहेकी लेभिनको अगाडि समयक्रमले अप्ठ्यारो मोड खडा गरिदियो । “हामी आइतबार बिहान २ बजेतिर कार्यालयमा नै थियौं । डिल टुंगिने क्रममा थियो । अर्कोतिर कम्पनी सर्नका लागि सबै कुरा प्याकिङ भइरहेको थियो,” लेभिन स्मरण गर्छिन्, “मलाई याद छ, म त्यतिखेर सोनी म्युजिकसँग फोन कलमा थिएँ । त्यही बेला अचानक फोन डिस्कनेक्ट भयो । अन्य सहकर्मीहरूले हाम्रो फोन सिस्टम र प्रिन्टरको प्लग तानेर डिस्कनेक्ट गरिदिए ।”

गुगलको अन्तिम मौका 

अक्टोबर सुरुवाततिर आइपुग्दा युट्युब डिल गर्ने सङ्गारमा थियो । तर त्यो डिल गुगलसँग थिएन । यु का अनुसार युट्युब र याहुसँगको उक्त डिलको पुनरावलोकन गर्न एक दिनभरको बैठक बसेको थियो । साथै सोही दिनको अन्त्यमा अधिग्रहणका लागि ट्रम्प सिटमा हस्ताक्षर गर्ने योजना पनि थियो । त्यसको अघिल्लो दिन युट्युबले गुगललाई अन्तिम मौका दिने निर्णय गरेको थियो ।

“हामीले याहुलाई दोस्रो प्राथमिकतामा राखेका थियौं र गुगललाई धेरै महत्वका साथ पहिलो स्थानमा राखेका थियौं,” ल्यामन्ड भन्छन्, “हर्ले र चेनले गुगललाई निर्धारित मूल्य भन्न यु लाई अनुमति दिएका थिए ।” यु भन्छन्, “मैले गुगललाई यदि तिमीले यो मूल्य कबुल गर्न सक्यौ भने हामी याहुसँग वार्ता रद्द गर्छौं भनेको थिएँ । युट्युबको टिमले एक अर्ब ६५ करोड डलर रकम प्रस्ताव गरेको थियो ।” बुथा का अनुसार उक्त रकम २००२ मा ईबेले पेपालका लागि तिरेको मूल्यभन्दा १० प्रतिशतले धेरै थियो । पेपालको सहकर्मी सञ्जालमा रहेका पिटर थाइल, एलन मस्क र रेड होपम्यान बुथा र युट्युबका संस्थापकहरुसँग प्रतिस्पर्धामा रहेको बुथा सुनाउँछन् ।

गुगलले प्रस्तावित मूल्यमा सहमति जनायो । र युट्युबले आफू डिल गर्न तयार रहेको बतायो । तर अर्को बिहान याहुसँग भेट हुन बाँकी नै थियो । यदि यो सम्झौता हुने नै हो भने तत्काल हुन आवश्यक छ ताकि युट्युबले याहुसँग डिल रद्द गर्न सकोस् भन्ने धारणाहरू आए । त्यसपछि ड्रम मोड र यु ले रातभर लागि परेर बिहानसम्ममा काम सम्पन्न गरे । यसरी उनीहरूले युट्युबको कार्यालयदेखि १४ मिनेट र गुगल कम्प्लेक्सदेखि १२ मिनेट दूरीमा रहेको पार्किङ एरियामा यु को गाडीभित्र बसेर दस्तावेजमा हस्ताक्षर गरे ।

“म फर्केर गएँ र ती दस्तावेज चार्ड र स्टिभलाई देखाएँ त्यसपछि हामीले याहुलाई बोलाएर बैठक रद्द गर्‍यौं । यसरी यो सबै कुरा सम्पन्न भएको थियो,” यु ले भने । तर युट्युबको खरिद प्रक्रियामा आफू संलग्न भएको विषयमा प्रतिक्रिया दिन याहुले अस्वीकार गर्दै आएको छ । त्यो सबै हतारमा भएको थियो । ट्रम्प सिट हस्ताक्षर गरेदेखि डिल घोषणा हुँदा सम्म पाँच दिन लागेको चेन बताउँछन् । तर लेबिन र यु एक हप्ता लागेको बताउँछन् । जे जति समय लागे पनि यो डिल हतारमै भएको थियो । त्यस समय यी सबै कुराहरू हतार हतारमा भएका थिए ।

“हामीले लीगल अफिसको तल उक्त डिलमा हस्ताक्षर गरेका थियौं । त्यसपछि म करिब १००/११० माइल प्रति घण्टाको गति मा सान ब्रुनो आइपुगें र अफिस भित्र गएर त्यो डिल सम्पन्न भएको घोषणा गरे,” यु भन्छन् । त्यो सम्झौताको घोषणा पत्र बिना तडकभडक सामान्य रूपमा गरियो । ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्किम नयाँ सान ब्रुनोको कार्यालयमा आएका थिए । त्यहाँ हर्ले र चेनसँग उनीहरूले युट्युब अधिग्रहण गरेको घोषणा गरे ।

सन् २००६ जुनमा युट्युबको एड सेल्स निर्देशकको रूपमा प्रवेश गरेका जेमी ब्रन (Jamie Byrne) अझै पनि युट्युब म क्रियटर पार्टनरशिपको वरिष्ठ निर्देशकको रूपमा कार्यरत छन् । उनी त्यसलाई पूर्ण रूपमा आश्चर्यजनक डिलको रूपमा व्याख्या गर्छन् । ब्रन भन्छन्, “त्यो समय युट्युबको सबैभन्दा ठूलो प्रतिस्पर्धी गुगल भिडिओ थियो । यो कुराले पनि हामी धेरैलाई मार्मिक बनाएको मलाई लाग्छ । अहिले गुगलको सहायता र पूर्वाधारबाट प्राप्त यो अतुलनीय लाभका लागि हामी खुसी र उत्साही छौं । तर एउटा कुरा सधैं खड्किरहन्छ । वास्तवमा हामीले जे गरेका थियौं त्यसमा हामी सफल थियौं ।”

युट्युबका कतिपय कर्मचारीहरू उक्त अधिग्रहणका बारेमा जानकार समेत थिएनन् । युट्युबका कन्टेन्ट मोडरेटर डेभिसलाई यो कुराको कुनै सुइकोसम्म थिएन । कर्मचारीहरूले त्यो सोमबारको दिन युट्युबको कार्यालयमा काम गरेर बित्ने सोचेका थिए । कुनै ठूलो अधिग्रहणको बारेमा कल्पना समेत थिएन । इभिङ डेभिसका अनुसार नयाँ सेटिङ प्लान र डेस्कहरू मिलाउने योजना भएको हुँदा त्यो दिन सबै कर्मचारीहरू पुरानो कपडामा नयाँ कार्यालय आएका थिए ।

तर युट्युबको पूरै टिमले कम्पनी बिक्रीको सेलिब्रेशनमा सहभागी हुनुपर्यो । डेभिस भन्छन्, “यदि त्यो दिनको फोटो कसैसँग छ भने हामी साँच्चै नै एकदमै न्यून स्तरको देखिएका थियौं । हामी कसैले त्यो अपेक्षा गरेका थिएनौं ।” ब्रनका अनुसार टोलीले त्यो दिन बनाएको सर्ट भिडिओमा हर्ले र चेनले ब्लेजर लगाएका थिए र उनीहरूले कम्पनी बिक्री गरेको घोषणा गर्दै क्रिएटर कम्युनिटीलाई धन्यवाद दिएका थिए । हर्ले उक्त भिडिओमा भन्छन्, “हामी तपाईंको लागि उत्कृष्ट सेवा विकास गर्न प्रतिबद्ध छौं । हामी नवीनतम सेवा तथा प्रविधि बनाउनेछौं, ताकि तपाईंले हाम्रो साइटमा रमाइलो महसुस गर्न सक्नुहोस् ।”

एउटा ठूलो सफलता 

नोभेम्बरमा अधिग्रहण सम्पन्न भएपछि पनि युट्युबका कर्मचारीहरूको जीवनमा कुनै परिवर्तन आएन । आजसम्म युट्युबको कार्यालय सान ब्रुनोमै अवस्थित छ । चेनले सन् २००९ मा गुगल प्रवेश गर्न युट्युब छाडे र दुई वर्षपछि पुनः कम्पनी नै छाडे । हर्ले २०१० सम्म युट्युबको सीईओ रहे । त्यसपछि गुगलका सालार कामानगरले उनको स्थान लिए । चेनले हर्लेसँग मिलेर एकसाथ केही नयाँ गर्ने विषयमा कुराकानी भइरहेको बताएका थिए । त्यसपछि दुवैले २०११ मा साझेदारी गरेर इन्टरनेट कम्पनी एवीओएस सिस्टम ल्याए ।

युट्युबका अधिकांश पुराना कर्मचारीहरूले आफ्नो जीवनमा झिना-मसिना परिवर्तन मात्र आएको बताउँछन्, त्यो पनि सुरुवातमा । गुगलले युट्युबको कार्यालयमा आफ्नो मिनियन्स स्टोर थप गर्‍यो, जहाँ कर्मचारीहरूले चिया र सफ्ट ड्रिङ्क्स निःशुल्क पाउँथे । युट्युबका नम्बर वान कर्मचारीमा पर्ने युपानले नयाँ कम्पनीले पार्टी भने राम्रो दिने गरेको आफूले ख्याल गरेको बताउँछन् । अधिग्रहण भएको घोषणाको दिनदेखि कर्मचारीहरूले सबवेको स्यान्डविच खाजा पाउँथे । गेडियन यु भन्छन्, “पुरानो कार्यालयमा हामीले नुडल्स कप पाउँथ्यौं तर नयाँ अफिसमा नयाँ खाजा पाउँछौं । यो एउटा ठूलो सफलता हो ।” तर एउटा सकारात्मक कुरा के छ भने, युट्युबले अधिग्रहण अघि जे गर्दै थियो, उसलाई स्वतन्त्र रूपमा त्यही काम गर्न दिने गुगलले बाचा गरेको थियो ।

उसले खुला रूपमा युट्युबलाई स्वतन्त्र रूपमा काम गर्न छोडिदिएको छ । युट्युब कन्टेन्टका लागि तत्कालीन उपाध्यक्ष केन डोनाहुई भन्छन्, “मर्जर भएका कम्पनीहरूको दुःखको समाचार धेरैजसो सुन्नमा आउँछ, तर हामीलाई त्यस्तो भएन ।” गुगलको स्वामित्वमा पुगे पनि युट्युबमा नियन्त्रण भने चेन र हर्लेकै थियो । गुगलबाट आएका कर्मचारीहरूलाई पनि उनीहरूले नै काम तथा जिम्मेवारी बाँडफाँट गर्थे । टिमको मुख्य चासो भनेको अब युट्युब र गुगल भिडिओलाई संयुक्त रूपमा अघि लगेर प्रस्तुत गर्नुपर्ने थियो । चेन भन्छन्, “त्यो क्षण हाम्रो सबैभन्दा ठूलो शत्रुसँग हात मिलाउनुजस्तै थियो र हामी साथी बन्न दबाबमा थियौं । सुरुमा यो निकै अप्ठ्यारो थियो, तर पछि गुगल भिडिओ र युट्युब मर्ज भयो ।” एउटा स्टार्टअपको केस हो, जुन फुल्न र फल्न सक्षम थियो । अधिग्रहण हुँदै नाटकीय रूपमा परिवर्तन भयो ।

युट्युब अब एउटा सानो क्लोज-किट परिवारजस्तो महसुस गर्दैन, जुन यो ग्रहकै सबैभन्दा ठूलो कम्पनीको छत्रछायामा छ । कुनै बेला युट्युबको बोर्डमा सेवा गरेका स्क्वाका बोथा डिल घोषणा भइसकेपछि युट्युबको कार्यालय छिरेका ती दिनहरू स्मरण गर्छन् । पहिले नामबाटै सबैबाट परिचित हुने बोथा अब आफूलाई नयाँ अनुहारहरूले घुरिरहेको पाउँछन् । भन्छन्, “म भित्र जान्छु, सबै विस्थापित भएका छन् । फ्रन्ट डेस्कका कर्मचारीहरू नयाँ छन् । म आफूलाई पूर्ण रूपमा कुनै बाहिरी व्यक्ति भएको महसुस गर्छु । म एकदमै अचम्मित पर्छु । त्यो बेला म महसुस गर्छु— यो त गुगलको पो कम्पनी हो त !”

पछिल्लो अध्यावधिक: फागुन २, २०८१ ०:४