काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले ओपनएआई खरिद गर्ने आफ्नो प्रयास रोक्न सक्ने बताएका छन् । च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो वर्तमान गैरनाफामुखी संरचनालाई कायम राखेमा मस्कले खरिद प्रयास रोक्न सक्ने बताएका हुन् ।
ओपनएआईका सीईओ साम अल्टम्यानसँग मस्कको प्रतिस्पर्धा सार्वजनिक रूपमै चर्किरहेको छ । मस्कले गत सोमबार लगानीकर्ताहरूको समूहको नेतृत्व गर्दै ओपनएआईलाई ९७.४ अर्ब डलरमा किन्ने प्रस्ताव गरेका थिए । तर ओपनएआई आफ्नो मूल उद्देश्यमा अडिग रहेमा यो मुद्दाबाट पछि हट्न तयार रहेको मस्कले उल्लेख गरेका छन् ।
मस्कका वकिलले अदालतमा पेश गरेको कागजातमा भनिएको छ, “यदि ओपनएआई इङ्कको बोर्ड परोपकारी संस्थाको मिसनलाई कायम राख्न र बिक्रीको लागि राखिएको सम्पत्ति रोकेर रूपान्तरण गर्न तयार छ भने एलन मस्कले आफ्नो प्रस्ताव फिर्ता लिनेछन् ।”
अल्टम्यानले सार्वजनिक रूपमा मस्कको प्रस्तावको आलोचना गरेका छन् । ओपनएआईले अदालतमा पेश गरेको कागजातमा मस्कको प्रस्तावको औचित्यमाथि प्रश्न उठाएको छ । यद्यपि यसलाई अस्वीकार गरिसकेको भने छैन ।
कम्पनीले मस्कलाई 'पाखण्डी'को आरोप लगाएको छ । मस्कले सन् २०२४ मा ओपनएआईले आफ्नो मूल विधान उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए र कम्पनीलाई गैर-नाफामुखी संस्थाको नियन्त्रणमा रहनुपर्ने माग गरेका थिए । तर अहिले मस्क आफैंले कम्पनी किन्न चाहेको ओपनएआईले जनाएको छ।
ओपनएआईले कानुनी कागजातमा भनेको छ, “अदालतमा मस्कले ओपनएआई इन्कको सम्पत्ति ‘निजी लाभ’ को लागि ‘स्थानान्तरण’ गर्न नसकिने तर्क गर्छन् । तर, जबसम्म मस्क र उनका सहयोगी खरीदकर्ता हुन्छन्, तबसम्म अदालत बाहिर ती बाध्यता लागू हुँदैनन् । मस्कले ओपनएआई इङ्कको सम्पूर्ण सम्पत्ति आफ्नै आर्थिक लाभ र प्रतिस्पर्धी एआई व्यवसाय र रोजेका निजी लगानीकर्ताहरूको हितका लागि आफूलाई हस्तान्तरण गरोस् भन्ने चाहन्छन् ।”
मस्कको प्रतिनिधित्व गर्ने वकिलले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । तर ओपनएआईका वकिलले कम्पनी बिक्रीको लागि नभएको बताएका छन् ।
ओपनएआई बोर्डका सल्लाहकार एन्ड्रयू नुस्बामले सीएनएनलाई भने, “स्वतन्त्र बोर्डको एकमात्र कर्तव्य भनेको एजीआई (AGI) ले मानवतालाई कसरी लाभ पुर्याउँछ भन्ने कुरा सुनिश्चित गर्नु हो । प्रतिस्पर्धीले ओपनएआईको मिसनको हितमा के छ भनेर निर्णय गर्ने अधिकार राख्दैन ।”
ओपनएआई गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित छ, जसले ओपनएआई एलपी (OpenAI LP) नामक नाफामुखी कम्पनीलाई नियन्त्रण गर्छ । यो नाफामुखी कम्पनीले ओपनएआईलाई केही वर्षमै लगभग १०० अर्ब डलरको मूल्याङ्कनमा पुर्याएको छ । र अल्टम्यानलाई यस योजनाको योजनाकार र ओपनएआईको सफलताको मुख्य व्यक्तिको रूपमा लिइन्छ ।
ओपनएआईले आफ्नो नाफामुखी संस्थालाई थप वित्तीय स्वायत्तता दिन विभाजन गर्ने योजना घोषणा गरेको छ । मस्क ओपनएआईका सह-संस्थापक थिए । सन् २०१८ मा उनी कम्पनीको बोर्डबाट बाहिरिएका थिए । मस्कका अनुसार यस कम्पनीको संरचना परिवर्तन भयो भने त्यसको मूल विधान तोडिनेछ । किनभने यो कम्पनी पछि एआई उपकरणको निर्माण र त्यसका साथै नाफा कमाउनमा ध्यान केन्द्रित गर्नेछ ।
मस्क लामो समयदेखि अल्टम्यानसँग विवाद गर्दै आएका छन् । उनले एआई कम्पनी र यसको नेतृत्वले ओपनएआईलाई परोपकारी संस्थाको रूपमा गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाउँदै थुप्रै पटक मुद्दा दायर गरेका छन् ।
बिहीबार दुबईमा भएको विश्व सरकार शिखर सम्मेलनमा मस्कले भने, “ओपनएआईले कम्तीमा दोहोरो (गैर-नाफामुखी/नाफामुखी) भूमिका निर्वाह गरेको छ । अहिले उनीहरूले गैरनाफामुखी संस्थालाई पूर्ण रूपमा हटाउन खोजिरहेका छन् । र यो धेरै टाढा गएको जस्तो लाग्छ ।”
मस्कले यस प्रसङ्गलाई अमेजनको वर्षा वन संरक्षण गर्न गैरनाफामुखी संस्थालाई आर्थिक सहयोग गरे जस्तै भएको बताए । तर यदि यसको सट्टामा उनीहरूले त्यसलाई काठ कम्पनीमा परिणत गरेर रुख काटेर काठ बेच्न थाले भने त्यो सहयोगको ठीक विपरीत हुने उनको तर्क छ ।
अल्टम्यानले मङ्गलबार मस्कलाई दुखी र असुरक्षित भएको टिप्पणी गरेका थिए । उनले भनेका थिए, “मलाई लाग्छ उनी (मस्क) सायद हाम्रो गति सुस्त बनाउन चाहन्छन् ।”