close

सडकपेटीमा ग्रेनाइट राख्दा सामाजिक सञ्जालमा बहस, बालेनको पुरानो भिडिओ भाइरल

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन ४, २०८१ २३:३८

सडकपेटीमा ग्रेनाइट राख्दा सामाजिक सञ्जालमा बहस, बालेनको पुरानो भिडिओ भाइरल

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर बहस चलिरहेको छ । पैदलयात्री हिँड्दा चिप्लो हुने र दुर्घटना निम्तिन सक्ने भन्दै सामाजिक सञ्जालमा कतिपयले विरोध जनाएका छन् । कतिपयले भने मौलिकता छाडेर विदेशी उत्पादन रोजेको भन्दै महानगरको आलोचना गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौंमा परम्परामा आधुनिकता खोज्नुपर्ने सहर रहेको र नेवा संस्कृतिको सट्टामा उपत्यकाको मुख्य आकर्षण रहेको क्षेत्रमा ग्रेनाइट राखिएको भन्दै विरोध जनाएका छन् । सामाजिक सञ्जालमा धेरैले ग्रेनाइट बिछ्याउँदा चिप्लने भन्दै चिन्ता व्यक्त गरेका छन् । यस विषयमा फेसबुक, एक्स, युट्युब, टिकटक लगायतका प्लेटफर्ममा विभिन्न बहस भइरहेको देख्न सकिन्छ ।

कसरी भइरहेको छ ग्रेनाइट बिछ्याउने काम ?

सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा कतिपयले आलोचना गरिरहँदा महानगरले भने आफ्नो काम रोकेको छैन । महानगरले नारायणहिटी सङ्ग्रहालय परिसरमा महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्मका दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाउने काम गरिरहेको छ । फुटपाथमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि बिक्री सोलिङ, त्यसपछि पीसीसी ढलान गरेर ग्रेनाइट बिछ्याउने काम गरिएको छ ।

यसका लागि काठमाडौं महानगरले पाँच करोड ७९ लाख रुपैयाँ लागत अनुमान गरेको थियो । सम्झौताअनुसार माघ मसान्तसम्म ग्रेनाइट बिछ्याउने काम गरिसक्नुपर्ने भएपनि सो नसक्किएकाले कम्पनीले हाल धमाधम निर्माणको काम गरिरहेको छ । ग्रेनाइट राख्ने काम सुरु भएसँगै यो जोखिमयुक्त भएको भन्दै विरोध पनि सुरु भएका हुन् ।

विरोध बढेपछि महानगरकी उपप्रमुख सुनिता डङ्गोल गत साता स्थलगत अनुगमनका लागि समेत गएकी थिइन् । उनले ग्रेनाइट पैदलयात्री मैत्री हुनुपर्ने भन्दै यसको बारेमा चासो राखेकी थिइन् । जसमा सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नरहेको भन्दै उपप्रमुखलाई विश्वास दिलाएका थिए ।

दरबारमार्गमा राखिएको ग्रेनाइट चिप्लिन्छ कि चिप्लिँदैन ?

दरबारमार्गमा दुई किसिमका ग्रेनाइटहरू राखिएको महानगर सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य बताउँछन् । उनका अनुसार पैदलयात्री हिँड्ने बाटोमा खस्रो खालको र रूखहरूको वरिपरि चिप्लो खालका ग्रेनाइट राखिएको छ । पैदलयात्री हिँड्ने ठाउँमा बाथरुमहरूमा नचिप्लिने खालका राखिने जस्तै खालका ग्रेनाइट राखिएको छ । यो खस्रो भएका चिप्लिँदैन । काठमाडौं महानगरले प्रयोग गरेको ग्रेनाइट लाप्पाटो ग्रेनाइट हो ।

शाक्यले भने, “नेपालमा प्राय: सबै ग्रेनाइट भारतबाट नै ल्याइन्छ । तर, दरबारमार्गका लागि भने नचिप्लिने किसिमका विशेष रूपमा मगाइएको हो ।”

कस्तो हो लाप्पाटो ग्रेनाइट ?

‘लाप्पाटो’ शब्द इटालियन नामबाट उत्पन्न भएको हो । यी ग्रेनाइटहरू गाढा खैरोमा खैरो रंगको थोप्ला रहेका हुन्छन् । यो बलियो र टिकाउ हुने भएकाले चर्चित छ । यस ग्रेनाइटमा नचिप्लिने गुण भएकाले पनि यसलाई बढी मन पराइन्छ । यसलाई सफा गर्न सहज हुने बताइन्छ । यो हल्का चम्किने र लामो समयसम्म चम्किलोपन नजाने भएकाले चर्चित छ ।

दरबारमार्गमा १६ मिमिसम्मका ग्रेनाइट प्रयोग गरिएको छ । यो चिप्लिन्छ की चिप्लिँदैन भनेर ढुक्क हुन एक पटक दरबारमार्गमा पुगेर प्रत्यक्ष अनुभव गर्न शाक्यले सुझाव दिन्छन् ।

सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा पूर्वाधारविज्ञ मधु सुदन अधिकारी पनि दरबारमार्गमा राखिएको ग्रेनाइट चिप्लने किसिमको नभएको दोहोर्‍याउँछन् ।

बालेनको पुरानो भिडिओ भाइरल

सामाजिक सञ्जालमा यस विषयमा चर्को बहस भइरहेकै बेला काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को एउटा पुरानो भिडिओ भाइरल बनेको छ । उक्त भिडिओमा उनले ऐतिहासिक शहर काठमाडौंलाई पुरातात्विक धरोहरका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । विशेष गरी, महानगरले दरबारमार्गमा ग्रेनाइट बिछ्याउने निर्णय गरेपछि मेयरको पुरानो अभिव्यक्ति पुनः चर्चामा आएको हो ।

बालेनले चुनावअघिको एउटा अन्तर्वार्तामा उनले काठमाडौंलाई पुरानो मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । अहिले दरबारमार्गमा ग्रेनाइट बिछ्याउने काम भइरहेका बेला उनको उक्त अभिव्यक्ति फेरि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

के भनेका थिए बालेनले ?

“तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । त्यतिकै केही गरिदियो । मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम् यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त । मार्बल किन लाइँदैन भन्दा यो चिसो ठाउँ हो । मार्बलमा टेक्दाखेरि खुट्टा ठिहिरिन्छ, तपाईं हिंड्दै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त ! ईंट्टामा तपाईं खाली खुट्टा नै हिंड्नुभयो भने पनि त्यतिसारो चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त ! यहाँ प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो । यहाँको पोखरीहरू, यहाँको मन्दिरहरू, यहाँको स्तुपाहरू, चैत्यहरू सबै साइन्टिफिकल्ली यहाँनेर भनाैँन सबै मेन्टेन, टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने यहाँ हाइ लेभलको टेक्नोलोजी र साइन्सलाई बुझेर कसैले यहाँ इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको काम गर्छ, डिजाइन गर्छ भने यो सबै बुझेर गर्नुपर्‍यो । अब टुरिजम् बढाउनलाई तपाईं न्यूरोडमा जानुहुन्छ । कुनै सिसा र एसीपी लगाएको छ, के लगाएको छ । त्यहाँनेर फसाडहरूमा इट्टा र काठ बाहिर एक्स्पोज हुनेगरी भक्तपुरको जस्तो त्यो भएको भए त त्यहाँ गएपछि तपाईंलाई फर्कन मन लाग्दैन थियो नि ! अहिले त कतिखेर काम सकौं र न्यूरोडबाट फर्किम जस्तो हुन्छ नि । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त ।”

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनको पुरानो भिडिओलाई अहिलेको ग्रेनाइट बिछ्याउने कामसँग जोडेर विभिन्न प्रतिक्रिया दिएका छन् । केहीले बालेनको पुरानै विचारलाई समर्थन गर्दै ग्रेनाइटको प्रयोग उपयुक्त नभएको बताएका छन् भने केहीले महानगरपालिकाको निर्णयको बचाउ गरेका छन् । कतिपयले भने यो बहसलाई विकास र आधुनिकताको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ २३:५२