काठमाडौं । हिजो (शनिबार) साँझ ७:३७ बजे सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘सनातन चौतारी’ नामक ह्यान्डलबाट एउटा पोस्ट अपलोड भयो । त्यस पोस्टमा लेखक सुमिना केसीले नयाँ पत्रिकामा ‘हिन्दु देवी दुर्गा वेश्या हुन्’ शीर्षकको लेख लेखेको भन्ने आशय उल्लेख गरिएको थियो । त्यही पोस्टलाई लिएर पोडकास्टर बिनु पोखरेलले फेसबुकमा उक्त फोटो राख्दै आफ्ना विचार राखेकी थिइन् ।
यद्यपि उनको पोस्ट अहिले फेसबुकबाट गायब छ । त्यस्तै अन्य प्रयोगकर्ताले एक्समा उक्त पोस्ट राख्दै लेखक सुमिनालाई कारबाही गर्न भन्दै नेपाल प्रहरीलाई मेन्सन गरिरहेका छन् । ध्रुवराज लुइँटेल नामका व्यक्तिले यही विषयलाई लिएर प्रेस काउन्सिल नेपालमा ‘नयाँ पत्रिका’ विरुद्ध निवेदन दिएका छन् ।
यता लेखक सुमिनाले फेसबुकमा पोस्ट राख्दै आफूले नयाँ पत्रिकामा उक्त शीर्षकको लेख नलेखेको दाबी गरेकी छिन् । नयाँ पत्रिकाले पनि आफ्नो लोगो दुरुपयोग भएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ ।
टेकपानाको तथ्यजाँचबाट लेखक सुमिनाले नयाँ पत्रिकामा ‘हिन्दु देवि दुर्गा वेश्या हुन्’ शीर्षकको लेख नलेखेको र पुरानो ट्वीट भाइरल भइरहेको देखिएको छ ।
दाबी
शनिबार २२ फेब्रुअरी २०२५ बेलुका ७:३७ मिनेटमा सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘सनातन चौतारी’ नामक ह्यान्डलबाट एउटा पोस्ट अपलोड भयो । मुख्य लिङ्क र आर्काइभ लिङ्क यहाँ छ ।
उक्त पोस्टमा लेखक सुमिनाले ‘हिन्दु देवि देवतालाई घृणा गर्ने, दुर्गालाई वेश्या भन्ने, हिन्दुहरु पाखण्डी हुन् भन्ने, विद्यालयमा सरस्वतिको मुर्ति किन भन्ने, हिन्दुहरु रढिवादि हुन भन्ने यस्ता सयौं गाली गर्छिन र लेख छपाउछिन् । र यिनले यस्ता लेख लेखे बापत पैशा पाउछिन...’ लेखिएको छ ।
सो पोस्टमा ‘पिक्सेलकट’ नामक एपबाट तयार पारिएको पोस्ट देख्न सकिन्छ । त्यसमा सबैभन्दा माथि नयाँ पत्रिकाको लोगो रहेको छ । त्यसपछि लेखक सुमिनाको फोटो राखिएको छ । त्यसको छेउमा ‘हिन्दु देवि दुर्गा वेश्या हुन’ लेखिएको छ । र, त्यसभन्दा तल सुमिनाको ह्यान्डल (@sumi_na1) बाट भएका पोस्टको स्क्रिनशट राखिएको छ ।
त्यही पोस्टलाई लिएर अन्य प्रयोगकर्ताले पनि आपत्ति जनाइरहेका छन् । केहीले भने अपशब्द लेख्दै गाली गरिरहेका छन् । कोट रिपोस्ट आर्काइभमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
तथ्य जाँच
टेकपानाले उक्त दाबीको सत्यता जाँच गरेको छ । सबैभन्दा पहिले चर्चा गरौं, उक्त पोस्टको । सो फोटो नयाँ पत्रिकाले नै राखेको आशयमा केही प्रयोगकर्ताले बुझेका छन् । उक्त फोटो पहिलो पटक ‘सनातन चौतारी’ नामक फेसबुक अकाउन्ट र एक्स ह्यान्डलबाट पोस्ट भएको देख्न सकिन्छ । त्यसको अन्तिममा भएको पिक्सेलकट एपको लोगोबाट उक्त पोस्ट मोबाइल एपबाट बनाएको प्रष्ट हुन्छ ।
‘सनातन चौतारी’ नामक अकाउन्टमा अपलोड हुने अधिकांश पोस्टमा त्यही एपको लोगो र कोहिनुर देवनागरी फन्ट प्रयोग भएको देखिन्छ । यो फन्ट आईओएस डिभाइस प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ । यसबाट पोस्ट ‘सनातन चौतारी’ नामक अकाउन्ट सञ्चालन गर्ने व्यक्तिले नै तयार पारेको पुष्टि हुन्छ ।
“सायद पाँच-छ वर्षअघि भारतमा ‘महिषासुर दुर्गा’सम्बन्धी एउटा विवाद चलेको थियो,” टेकपानासँग कुरा गर्दै सुमिना भन्छिन्, “त्यो भिडिओ क्लिपलाई लिएर कसैले ट्वीटरमा पोस्ट गरेको थियो । मैले ‘महिषासुर एक जननायक’ पुस्तक पढेपछि ‘यसरी पनि तर्क गरिएको रहेछ’ भनेर मेन्सन गरेको थिएँ ।” त्यही पुरानो पोस्टलाई त्यहीबेला कसैले स्क्रिनशट राखेको र अहिले त्यसैलाई पटक-पटक पोस्ट गर्ने गरेको सुमिनाको भनाइ छ ।
उनले पछि केही व्यक्तिगत कारणले ह्यान्डलको युजरनेम परिवर्तन गरेको बताइन् । अहिले उनको नयाँ ह्यान्डल ‘@Su_mina11’ छ । पहिले त्यतिबेला जुन भिडिओमा सुमिनाले कमेन्ट गरेकी थिइन्, उक्त भिडिओ डिलिट भएकाले पोस्ट खोज्दा अहिले नभेटाएको उनले टेकपानासँग बताइन् । पोस्टमा उल्लेख शब्दलाई किवर्डका रूपमा गुगल सर्च गर्दा पनि भेटिँदैन ।
“मैले कुनै एउटा निश्चित धर्म र आस्थामाथि प्रहार नगरेर विश्वको जुनै पनि धर्म र संस्कृतिको नाममा होस्, त्यहाँ हुने गरेको रूढ परम्परा, अन्धविश्वास, शोषण र हिंसाका पाटा विरुद्ध विगतदेखि नै लेख्दै आइरहेको र लेखिरहने पनि जानकारी गराउँछु,” उनले फेसबुकमार्फत भनेकी छिन्, “चाहे जुनसुकै धर्म संस्कार र संस्कृतिको छत्रछायामा होस्, कुनै पनि शोषण हिंसा हुर्कनुहुँदैन भन्ने मेरो आफ्नो मान्यता हो । मैले पहिले पनि पटक पटक लेखिसकेकी छु । ईश्वर, अल्लाह, यशु नमान्नेहरू कुनै एक धर्मको प्रचारक या डलरे मात्रै हुँदैनन्, समाजका सचेत प्रगतिशील, विचारक, नास्तिक र भौतिकवादी पनि हुन्छन् । यिनको पनि अस्तित्व छ समाजमा । धर्म निरपेक्ष राष्ट्रका नागरिकहरूको यो नैसर्गिक अधिकार हो ।”
नयाँ पत्रिकाले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै लोगो दुरुपयोग भएको विषयमा खण्डन गरेको छ । आधिकारिक फेसबुक पोस्ट लिङ्कका लागि यहाँ र आर्काइभका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
“धर्मलाई जोडेर प्रकाशन नै नभएका सामग्री प्रकाशित गरेको भन्दै सामाजिक सञ्जालमा नयाँ पत्रिकाको लोगो दुरुपयोग गर्दै भ्रम सिर्जना गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” नयाँ पत्रिकाले लेखेको छ, “त्यस्तो समाचार वा विचार नयाँ पत्रिकामा प्रकाशित नभएको सम्पूर्ण पाठक वर्गमा स्पष्ट पार्दछौं । नयाँ पत्रिकालाई बदनाम गर्ने नियतसहित यस्तो भ्रम सिर्जना गर्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीको साइबर ब्युरोसँग समन्वय भइरहेको छ ।”
यही विषयलाई लिएर ध्रुवराज लुइँटेल नामका व्यक्तिले नयाँ पत्रिका विरुद्ध धार्मिक आस्थामा चोट पुर्याउने गरी @Sumi_na1 र @sumi_na.3d नामक लेखकले नयाँ पत्रिकामा समाचार राखेको भन्दै प्रेस काउन्सिलमा निवेदन दिएका छन् । त्यहाँ प्रमाणका रूपमा उनले एक्स र फेसबुकमा भाइरल भइरहेको पोस्टको स्क्रिनशट पेस गरिएको छ ।
‘आभा’ (@sumi_na1) उर्फ लेखक सुमिनाले नयाँ पत्रिका दैनिकमा ‘हिन्दु देवि दुर्गा वेश्या हुन्’ शीर्षकमा लेख प्रकाशन गरेको ।
दाबीकर्ता
एक्स र फेसबुकमा ‘सनातन चौतारी’ नाम भएका प्रयोगकर्ता, पोडकास्टर बिनु पोखरेल लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
लेखक सुमिनाले ‘हिन्दु देवि दुर्गा वेश्या हुन्’ शीर्षकमा नयाँ पत्रिका वा अन्य कुनै पनि अनलाइन वा पत्रपत्रिकामा लेख प्रकाशन गरेकी छैनन् । नयाँ पत्रिकामा पनि यस्ता आशयका लेख प्रकाशन भएको देखिंदैन ।
निष्कर्ष
सामाजिक सञ्जालमा गरिएको दाबी गलत भएको टेकपानाको तथ्यजाँचले देखाएको छ । सुमिनाले हिन्दु देवी-देवताको नाम उल्लेख गरेर एक प्रसंगमा आफ्नो विचार राखेकी थिइन् । त्यही पोस्टको स्क्रिनशटलाई लिएर अहिले भ्रम फैलाइरहेको देखिएको छ । नयाँ पत्रिकाले पनि त्यस्ता सामग्री प्रकाशित नगरेको स्पष्ट पारेको छ ।
डिस्क्लेमर : यो तथ्य जाँच सामाजिक सञ्जालमा गरिएको दावीको सत्यता जाँच गर्ने उद्देश्यले तयार पारिएको हो । यसले कसैको विचार वा आस्थालाई समर्थन वा विरोध गर्दैन ।
प्रतिक्रिया
तपाईंले हाम्रा सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्यजाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नुहुनेछ । तथ्यजाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनुहोला ।