close

आज राति आकाशमा सातै ग्रहले परेड खेल्दै, नाङ्गो आँखाले हेर्न सकिएला ?

टेकपाना टेकपाना

फागुन १६, २०८१ १२:३३

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । आज राति आकाशमा सात ओटै ग्रह एकैसाथ देखिने भएका छन् । खगोलशास्त्रीहरूका अनुसार मौसम सफा भए यो दृश्य सूर्यास्तपछि पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ । 

बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको हो । यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।  

उज्याला ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ । तर, अरुण र बरुण ग्रह भने केही धमिलो देखिने भएकाले तिनीहरूलाई हेर्न टेलिस्कोप प्रयोग गर्नुपर्नेछ । 

गत जनवरी १८ देखि नै आकाशमा ग्रहहरूको परेड सुरु भएको थियो । आज भने सबै ग्रह एकैपटक हेर्न सकिने छ । 

सौर्यमण्डलमा ग्रहहरूले एउटै गतिमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । तर सूर्यसँगको दुरीका कारण यसलाई एक पटक परिक्रमा गरिसक्न लाग्ने समय भने ग्रहअनुसार नै फरक पर्न जान्छ ।

बुध ग्रहले सूर्यको परिक्रमा पृथ्वीको ८८ दिनमा नै पूरा गर्छ भने बरुणलाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको १६५ वर्ष लाग्छ । कक्षमा आ-आफ्नै गतिमा घुमिरहने सबै ग्रहलाई पृथ्वीबाट एकैपटक देखिनु दुर्लभ मानिन्छ । 

यसपछि सबै ग्रहहरूलाई एकैसाथ आकाशमा परेड खेलेको हेर्न १५ वर्ष पर्खिनुपर्नेछ । अब सन् २०४० तिर मात्र यस्तो दुर्लभ खगोलीय संयोग हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८१ १२:४५