मंगल ग्रहमा ‘रातो रङ भएका कारण यसले सामान्य मानिसदेखि वैज्ञानिकहरूको ध्यान खिचिरहेको हुन्छ । ‘रातो ग्रह’ समेत भनेर चिनिने यस ग्रहबारे धेरै कुरा चाखलाग्दा छन् । हालसालै भएको एक अनुसन्धानले मंगल ग्रहमा विगतमा पानी रहेको कारण अहिले रातो रङ भएको हुनसक्ने देखाएको छ ।
नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित एक लेखमा ब्राउन विश्वविद्यालय र बर्न विश्वविद्यालयका अनुसन्धानकर्ताले मंगल ग्रहमा रातो धुलो हुनुको मुख्य कारण पानीयुक्त आइरन मिनिरल फेरिहाइड्राइड रहेको बताएका छन् । उनीहरूले मंगल ग्रहका कक्षमा पुगेका अन्तरिक्षयानहरू, रोभरहरू र प्रयोगशालामा भएका परीक्षणहरूको आधारमा यस्तो सिद्धान्त निकालेका हुन् । यस सिद्धान्त हाल प्रचलनमा रहेको सिद्धान्तको विपरीत छ । हालसम्म वैज्ञानिहरूले मंगल ग्रहमा रातो धुलो हुनुको मुख्य कारण सुख्खा हुनु र हेमाइट जस्ता खनिज पदार्थ रहनु बताउँदै आएका थिए ।
“मंगल ग्रह किन रातो छ भन्ने प्रश्न सयौँ होइन, हजारौँ वर्षदेखि उठिरहेको छ,” ब्राउन विश्वविद्यालयका अनुसन्धानकर्ता एडोमास भालान्तिनास भन्छन्, “हाम्रो विश्लेषणअनुसार फेरिहाइड्राइट धूलोमा मात्र नभई चट्टानहरूमा पनि व्यापक रूपमा छन् । फेरिहाइड्राइटका कारण मंगल ग्रह रातो भयो भन्ने हामीमात्र पनि होइनौँ । पहिला अन्य वैज्ञानिकहरूले पनि भनेका छन् । तर, हामीले यसलाई डेटाहरूको अवलोकन गरेर र प्रयोगशालामा नयाँ विधिहरू प्रयोग गरेर प्रमाणित गर्न सफल भएका छौँ ।”
फेरिहाइड्राइट एक आइरन अक्साइड खनिज हो । प्राय: यो पानीयुक्त वातावरणमा बन्ने गर्दछ । पृथ्वीमा प्रायः ज्वालामुखी चट्टान र खरानी भएका वातावरणमा यसलाई पाउने गरिन्छ । अहिलेसम्म मंगल ग्रहको सतहमा यसको भूमिकाबारे राम्रोसँग जानकारी मिलेको थिएन । तर नयाँ अध्ययनले यसको महत्त्वपूर्ण भूमिका रहेको देखाएको हो ।
यस खोजले मंगल ग्रहमा विगतमा पानी रहेको र त्यहाँ बसोबास गर्ने सम्भावना रहेको तर्फ सङ्केत गर्छ ।
हेमाटाइट साधारणतय सुख्खा र तातो ठाउँमा बन्नेगर्छ । तर फेरिहाइड्राइट चिसो पानीको उपस्थितिमा बन्ने गर्छ । यसको अर्थ मंगल ग्रहमा कुनै समय जीवहरूका लागि अत्यावश्यक पानी थियो ।
अरबौँ वर्षअघि पानीयुक्त वातावरण रहेको मंगल ग्रह पछि गएर सुख्खा र मरुभूमिमा रूपान्तरण भएको तर्फ उक्त अध्ययनले सङ्केत गरेको छ ।
“हामी प्राचीन मंगल ग्रहको मौसम कस्तो थियो र त्याहाँका रासायनिक प्रतिक्रिया कस्ता थिए भनेर जान्न चाहान्छौँ । प्राचीन समयमा मात्र नभएर हाल कस्ता रासायनिक प्रतिक्रिया छन् भनेर पनि जान्न चाहन्छौँ ।” अनुसन्धान टोलीका लेखक तथा ब्राउन विश्वविद्यालयका वैज्ञानिक ज्याक मस्टार्ड भन्छन्, “त्यहाँ कहिल्यै जीवन थियो कि थिएन भन्ने प्रश्न सधैँ उठ्ने गरेका छन् । त्यो बुझ्नका लागि खनिजहरू बनिरहेको बेलाको वातावरण कस्तो थियो भन्ने जान्नु आवश्यक छ ।”
“हाम्रो अध्ययनबाट फेरिहाइड्राइटको निर्माण भएको प्रमाण भेटिएको जानकारी प्राप्त भएको छ । यो निर्माण हुन अक्सिजन र पानीले फलामसँग प्रतिक्रिया गर्नुपर्ने हुन्छ। त्यस समय अहिलेको सुख्खा, चिसो वातावरणभन्दा एकदमै फरक थिए। मंगल ग्रहका हावाले यो धूलोलाई सतहभरि फैलाएपछि यस ग्रहमा रातो रङ देखापर्यो,” उनले भने ।
अनुसन्धानकर्ताहरूले नासाको मार्स रिकनिसेन्स अर्बिटर र युरोपेली अन्तरिक्ष एजेन्सीको मार्स एक्सप्रेस र ट्रेस ग्यास अर्बिटरबाट प्राप्त जानकारीलाई ग्रहको नजिकैको सतह नाप्ने क्युरियोसिटी, पाथफाइन्डर र अपोर्चुनिटी रोभरले संकलन गरेका डेटासँग तुलना गरेका थिए ।
यस अध्ययनले अवसरको नयाँ ढोकाहरू खोलेको बताइएको छ । तर हाल मंगल ग्रहमा नमुना सङ्कलन गरिरहेको प्रिजर्भेन्स रोभर फर्किएपछि त्यसले ल्याएको नमुनासँग तुलना गरेर अनुसन्धानले पत्ता लगाएका कुरा सहि छ की छैन भनेर थप जाँच गरिने बताइएको छ ।