काठमाडौं । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र ब्यारी 'बुच' विल्मोर अन्तरिक्षमा फसेको नौ महिनापछि आगामी १९ वा २० मार्चमा स्पेसएक्स क्याप्सुलमार्फत पृथ्वी फर्कने तयारीमा छन् । उनीहरू गत वर्ष ५ जुनमा केप क्यानेभेरल स्पेस फोर्सबाट आठ-दिने मिसनका लागि अन्तरिक्ष प्रस्थान गरेका थिए । तर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) नजिकिँदै गर्दा उनीहरूको क्याप्सुलका थ्रस्टरहरूमा खराबी आएपछि त्यहीँ फसे ।
नौ महिनासम्म गुरुत्वाकर्षणविहीन वातावरणमा बसेपछि पृथ्वीमा फर्किंदा उनीहरूको स्वास्थ्य कस्तो होला भन्ने जिज्ञासा धेरैलाई छ । विशेषज्ञहरूका अनुसार लामो समयसम्म अन्तरिक्षमा बस्दा मांसपेशी र हड्डीहरू कमजोर हुनसक्ने, दृष्टिमा समस्या हुनसक्ने, स्नायु प्रणालीमा समस्या, विकिरणका कारण क्यान्सर लगायतका जोखिम बढ्न सक्ने भएकाले सुनिता र विल्मोरलाई तत्कालै विशेष पुनर्स्थापना कार्यक्रममा सरिक गराइने छ । ।
नासाले अन्तरिक्षयात्रीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो कार्यक्रम तयार गर्ने गर्छ । यसअन्तर्गत उनीहरूलाई पहिले हिँड्न र मांसपेशी बलियो बनाउन तालिम दिइने पल्मोनोलजिस्ट एवम् एयर फोर्सका पूर्वसैनिक डा. विनय गुप्ताले बताएका छन् । डेली मेलसँग कुरा गर्दै उनले अन्तरिक्षमा विकिरणको सामना गरेकाले सुनिता र विल्मोरलाई क्यान्सरको जोखिम हुन सक्ने बताए ।
त्यस्तै बायोमेडिकल इन्जिनियर डा. जोन जाक्विशले पृथ्वीको गुरुत्वाकर्षणको अभावमा मानव शरीरका धेरै क्रियाकलाप सही रूपमा कार्य नगर्ने बताएका छन् । "मानव शरीरलाई पृथ्वीको गुरुत्वाकर्षणको आवश्यकता पर्छ । त्यसको अभावमा धेरै कुराहरू सही ढंगले काम गरिरहेका हुँदैनन्," उनले भनेका छन् ।
नासाका अनुसार अन्तरिक्षयात्रीहरूले कम गुरुत्वाकर्षणमा पाँच दिनमा २० प्रतिशतसम्म मांसपेशी गुमाउन सक्छन् । चारदेखि छ महिनाको आईएसएस मिसनको क्रममा प्रति महिना एक प्रतिशतदेखि १.५ प्रतिशतसम्म हड्डीको घनत्व गुम्नसक्ने नासाले उल्लेख गरेको छ ।
अनुसन्धानले देखाएको छ कि ३० देखि ५० वर्षका अन्तरिक्षयात्रीले अन्तरिक्षमा छ महिना बिताउँदा आफ्नो आधा शक्ति गुमाउँछन् । यसले उनीहरूलाई पृथ्वीमा फर्कँदा शारीरिक रूपमा कमजोर मात्र नबनाई हड्डी भाँचिने र समयअगावै ओस्टियोपोरोसिसको जोखिम बढाउने चेतावनी दिइएको छ ।
अन्तरिक्षमा सुनिता र विल्मोरले धेरै काम तथा व्यायाम पनि गरे । तर, लामो समयसम्म अन्तरिक्षमा बस्दा उनीहरूले हिँड्न र अन्य साधारण कुराहरू पनि बिर्सिएका छन् । यसकारण नासाको विशेष पुनर्स्थापना कार्यक्रमले उनीहरूलाई पुनः पृथ्वीको वातावरणमा अनुकूल हुन मद्दत गर्ने बताइएको छ ।विल्मोर र सुनिता दुवै सेवानिवृत नौसेनाका कप्तान हुन् । गत महिना फेब्रुअरीमा पृथ्वी फर्किने तय भएको स्पेसएक्स रकेटमा पनि समस्या आएपछि उनीहरू पृथ्वी फर्किन अझ ढिलो भएको हो ।
गत अगस्टमा बोइङले अन्तरिक्ष यात्री ‘अड्किएका’ अवस्थामा नरहेको बताएको थियो । त्यही बेला सुनिताले अन्तरिक्ष स्टेसनलाई आफ्नो ‘खुसीको स्थान’ भनेकी थिइन् । त्यसपछिको लगभग छ महिना उनीहरूले अमेरिकी निर्वाचन र क्रिसमस पनि आईएसएसमा बिताए । उनीहरू दुवैले अमेरिकी चुनावमा मतदान गर्न पाएका थिए ।
अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा सुनिता र विल्मोरभन्दा धेरै लामो समय बिताएका छन् । जसमा रूसी भ्यालेरी पोल्याकोभको नाममा सबैभन्दा बढी समय अन्तरिक्षमा बिताएको रेकर्ड छ । उनले सन् १९९० को दशकको मध्यमा ४३७ दिन पृथ्वीबाट बाहिर बिताएका थिए । सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियो ३७१ दिनको यात्राबाट फर्किएर अमेरिकीद्वारा अन्तरिक्षमा बिताएको सबैभन्दा लामो समयको रेकर्ड तोडेका थिए ।