close

भारत आउँदै स्टारलिङ्क इन्टरनेट, नेपालमा के छ तयारी ?

टेकपाना टेकपाना

फागुन २८, २०८१ १५:४६

भारत आउँदै स्टारलिङ्क इन्टरनेट, नेपालमा के छ तयारी ?

काठमाडौं । एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवा भारतमा आउने भएको छ । यसका लागि हालै भारतका दुई ठुला टेलिकम अपरेटरहरू रिलायन्स जिओ र भारती एयरटेलले स्पेसएक्ससँग सम्झौता गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एलन मस्कसँग वासिङ्टनमा गरेको भेटघाटको एक महिनापछि भारतमा स्टारलिङ्क भित्र्याउने डिल भएको हो । सञ्चारमाध्यम हिन्दुका अनुसार भारती एयरटेल र रिलायन्स जिओले स्पेसएक्ससँग सहकार्य गरी भारतका दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने योजना बनाएका छन् । 

त्यस्तै अर्को छिमेकी देश भुटानमा पनि स्टारलिङ्क सञ्चालनमा आउने भएको छ । भुटान इन्फोकम एन्ड मिडिया अथोरिटी (बीआईसीएमए)ले केही समय पहिले स्टारलिङ्कलाई इन्टरनेट सेवा प्रदायक (आईएसपी)को रूपमा अनुमति प्रदान गरेको छ ।

भारत र भुटानमा स्टारलिङ्क भित्रिने तयारीसँगै नेपालमा पनि यसबारे चर्चा सुरु भएको छ । गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एलन मस्कसँग ११ मिनेट लामो भिडिओ संवाद गरेका थिए । संवादमा नेपालमा स्टारलिङ्क भित्र्याउने विषयबारे पनि छलफल भएको थियो । 

तर यसबारे आधिकारिक प्रक्रिया अघि नबढेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले सरकारी तवरबाट स्टारलिङ्क लगायत कुनै पनि स्याटलाइट इन्टरनेट सेवा भित्र्याउने तयारी अगाडि नबढेको जानकारी दिए । “यस विषयमा राजनीतिक तहबाट छलफल भएको होला । तर प्रक्रिया अगाडि बढेको मलाई जानकारी छैन,” उनले भने । 

त्यस्तै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि स्टारलिङ्क इन्टरनेटका सन्दर्भमा प्रगति नभएको प्रतिक्रिया दिएको छ । प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौडेलले कुनै पनि प्रकारको इन्टरनेट सेवा सञ्चालन गर्न विद्यमान दूरसञ्चार ऐन अनुसार अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको बताए । “स्टारलिङ्क लाइसेन्स माग्दै आयो भने स्वीकृति दिनु पहिले स्याटलाइट इन्टरनेट सेवाको सम्भाव्यता अध्ययन गरिनेछ,” उनले भने ।

स्टारलिङ्कले भू-उपग्रहमार्फत करिब सय देशमा उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ । तर नेपालमा कानुनी अड्चन र नियामकीय चुनौतीका कारण स्टारलिङ्क इन्टरनेटको प्रक्रिया अगाडि बढ्न नसकेको जानकारहरू बताउँछन् ।

यसअघि स्टारलिङ्क सन् २०२३ भित्र नेपालमा सेवा सुरु गर्ने योजना बनाएको थियो । त्यस क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग छलफल गरी सेवा विस्तारको तयारी भइरहेको जानकारी दिइएको थियो । तर कानुनी व्यवधानकै कारण स्टारलिङ्क पछि हटेको थियो ।

स्टारलिङ्क नेपाल प्रवेश गर्न नेपालको कानुन कसरी बाधक बन्यो भन्ने पढ्न यहाँ क्लिक गर्नुहाेस् । 

नेपाल सरकारले पछिल्लो नीति तथा कार्यक्रममा भू-उपग्रहमा आधारित इन्टरनेट सेवा सञ्चालन गर्ने योजना ल्याएपछि भने स्टारलिङ्क उत्साही देखिएको छ । कम्पनीले आफ्ना प्रतिनिधि पठाई सरकारी स्तरमा छलफल चलाइरहेको छ । गत असोजमा स्टारलिङ्कका प्रतिनिधिले प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी नेपालका दुर्गम र विकट क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना प्रस्ताव गरेका थिए ।

योबिचमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क पनि स्टारलिङ्क भित्र्याउन लागिपरेको छ । केही समयपहिले कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले नेपालमा स्टारलिङ्क भित्र्याउन आतुर रहेको बताएका थिए ।

के हो स्टारलिङ्क ? 

स्टारलिङ्क, एलन मस्कको कम्पनी स्पेसएक्सले प्रदान गर्ने स्याटेलाइट इन्टरनेट सेवा हो । सामान्यतः इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले जमिनमुनि केबल बिछ्‌याएर वा मोबाइल टावरहरू प्रयोग गरी इन्टरनेट सेवा दिन्छन् । तर, स्टारलिङ्कले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा दिन पृथ्वीको परिक्रमा गर्ने स्याटलाइटको नेटवर्क प्रयोग गर्छ ।

स्टारलिङ्कको मुख्य उद्देश्य ब्रोडब्यान्ड इन्टरनेट सेवा नहुने ग्रामीण क्षेत्रहरू र टावर निर्माण गर्न कठिन स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउनु हो ।

स्टारलिङ्कको इन्टरनेट सेवा सामान्य ब्राेडब्यान्ड जस्तो काम गर्दैन । यसमा लाखौं किलोमिटर लामा केबलमा निर्भर हुनु पर्दैन । स्टारलिङ्कले अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्छ । यसले गर्दा दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सेवा सहजै पुग्न सक्छ ।

यद्यपि अहिले पनि अन्य केही कम्पनीले स्याटलाइट इन्टरनेट सेवाहरू उपलब्ध गराएका छन् । तर ती सेवा दिने कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको स्याटलाइट प्रयोग गर्छन् । यसले गर्दा इन्टरनेटको गति सुस्त हुन्छ । र, डेटा ट्रान्समिसनमा ढिलाइका कारण उच्च गतिको इन्टरनेट पाउन कठिनाइ हुन्छ ।

स्टारलिङ्कका उपग्रह पृथ्वीको धेरै नजिक छन् । यसले गर्दा स्टारलिङ्कले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । यसको अर्को विशेषता के हो भने यसले उडिरहेको जहाजमा पनि उच्च गतिको इन्टरनेट दिन सक्छ ।

ब्रोडब्यान्ड कम्पनीले डेटा पठाउन फाइबर अप्टिक केबल प्रयोग गर्छन् । यसले गर्दा सहर र गाउँमा यस्तो केबल प्रयोग गरेर इन्टरनेट सेवा दिन सजिलो हुन्छ । तर, दुर्गम क्षेत्रहरू र पहाडी इलाकामा केबल पुर्‍याउन गाह्रो र महँगो हुन्छ । यस्तै ठाउँमा स्टारलिङ्कको सेवा उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८१ २३:१८