काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नौ महिनादेखि रहेका नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फर्काउने मिसन स्थगित भएको छ । बुधबार अमेरिकाको फ्लोरिडास्थित केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन-९ रकेट प्रक्षेपण गर्ने तयारी भए पनि ग्राउन्ड हाइड्रोलिक समस्याका कारण मिसन रोकिएको नासाले जनाएको छ ।
नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत सो रकेटले चारजना नयाँ अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाउने योजना थियो । यी अन्तरिक्षयात्रीमा नासा कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, जापानी एरोस्पेस एजेन्सी (जाक्सा)का ताकुया ओनिशी, तथा रोसकोसमोसका किरिल पेस्कोभ छन् । मिसन सफल भएपछि हाल आईएसएसमा रहेका क्रु-९ सदस्यहरूले आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरेपछि सुनिता विलियम्स र बुच विलमोर पृथ्वी फर्कनेछन् ।
सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर अन्तरिक्ष गएका थिए । तर, क्याप्सुलमा हिलियम लिक जस्ता प्राविधिक समस्या देखिएपछि उनीहरू निर्धारित समयमा फर्कन सकेनन् । हाल सुनिता आईएसएसको कमान्डरको भूमिकामा कार्यरत छिन् ।
नासाले क्रु-९ मिसनमार्फत सुनिता विलियम्स, बुच विलमोर, नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभलाई पृथ्वीमा ल्याउने तयारी गरिरहेको छ । स्थगित मिसन बिहीबार पुनः प्रक्षेपण हुने सम्भावना रहेको जनाइएको छ ।