close

पर्सि पृथ्वी आउँदै सुनिता र बुच

टेकपाना टेकपाना

चैत ४, २०८१ १३:६

पर्सि पृथ्वी आउँदै सुनिता र बुच

काठमाडौं । पछिल्लो नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्स पर्सि पृथ्वी फर्कने भएका छन् ।

उनीहरूलाई पृथ्वी फिर्ता ल्याउन प्रक्षेपण गरिएको क्रु १० मिसन सफलतापूर्वक आईएसएसमा पुगेपछि अब पृथ्वी फर्कने बाटो खुलेको छ । सुनिता र बुचसहित नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभ क्रु ९ मिसनमार्फत पृथ्वी फर्कनेछन् ।

प्रतिकूल मौसम नभए उनीहरू फ्लोरिडाको समयअनुसार मंगलबार बिहान १:०३ बजे (नेपाली समयअनुसार मंगलबार बिहान ११:३० बजे) पृथ्वीका लागि प्रस्थान गर्नेछन् । उनीहरू मंगलबारकै साँझ ५:५७ मा (नेपाली समयअनुसार बुधबार बिहान ४:४२ बजे) फ्लोरिडा आइपुग्ने नासाको विश्वास छ । अन्तरिक्षबाट फर्कनुअघि आइतबार आईएसएस पुगेको चालक दलसँग हस्तान्तरण प्रक्रिया पूरा हुनेछ । 

सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर आठ दिनका लागि अन्तरिक्ष गएका थिए । तर, क्याप्सुलमा हिलियम लिकजस्ता प्राविधिक समस्या देखिएपछि उनीहरू निर्धारित समयमा फर्कन सकेनन् । अब भने उनीहरू केही दिनमा नै पृथ्वीमा आइपुग्ने भएका हुन् ।

सामान्यतः अन्तरिक्ष यात्रुहरू छ महिनाको अवधिसम्म आईएसएसमा रहन्छन् । हालसम्म अन्तरिक्ष स्टेसनमा ४३७ दिनसम्म सम्म लगातार बसेको कीर्तिमान छ । रुसी अन्तरिक्षयात्री भलेरी पोल्याकोभले उक्त कीर्तिमान राखेका हुन् ।

यस्तै सन् २०२३ मा अमेरिकी अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले आईएसएसमा ३७१ दिन बिताएका थिए । तर छोटो समयका लागि अन्तरिक्ष स्टेसन गएका सुनिता र बुच लामो समय बस्नु परेपछि उनीहरूप्रति चासो देखाएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १२:३६